पुस्ता–हस्तान्तरणको प्रसवमा एमाले– बुद्धिप्रसाद शर्मा

पुस्ता–हस्तान्तरणको प्रसवमा एमाले– बुद्धिप्रसाद शर्मा


bicharएमालेको नवौँ महाधिवेशन नजिकिँदै गर्दा गुटगत राजनीति, भेला, कटाक्ष एवम् चरम अवसरवाद हाबी भएको छ । मुलुकको मुख्य कम्युनिस्ट शक्ति एवम् सत्तासाझेदार दल हुनुको नाताले मुलुक तथा समाजको परिवेशमा आधारित स्पष्ट नीति तयार पार्नुपर्ने बेला मिल्नै नसक्ने भिन्नै पार्टीबीचको द्वन्द्वसरह ‘नेपाल’ र ‘ओली’ पक्षमा विभाजित भई सिङ्गो पार्टी र जनताप्रति धोखाधडी गर्न उद्यत् देखिँदै छ एमाले । वास्तवमा यतिखेर एमाले इतिहासकै कठिन मोडमा उभिएको छ । एकातिर पार्टीभित्र व्यक्तिकेन्द्रित राजनीति हाबी भएको छ भने अर्कोतर्फ बदलिँदो सन्दर्भसँगै समाजको चरित्रलाई हेर्ने दृष्टिकोणमा समेत सो पार्टीभित्र एकमत देखिएको छैन । सैद्धान्तिक, वैचारिक अस्पष्टता एवम् विचलनले एमालेलाई कुन चरित्रको र कस्तो पार्टी हो भनेर बुझ्नमा समेत अन्योल सिर्जना गरिदिएको छ भन्दा अत्योक्ति हुँदैन ।
सैद्धान्तिक स्खलन
विश्व राजनीतिमा सन् १९९० को सोभियत सत्ता पतनसँगै आएको परिवर्तन र त्यसलगत्तै नेपालमा प्रजातन्त्रको पुनस्र्थापना भएपश्चात् नेकपा एमालेले आफूलाई सैद्धान्तिक एवम् व्यावहारिक रूपले अप्ठ्यारोमा परेको ठानी लोकतान्त्रिक झुकावमा समर्पित देखिन पुग्यो । तत्कालीन महासचिव मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीलाइनको रूपमा सार्वजनिक गरे । जुन लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित थियो । यही धारको सुरुवातसँगै एमाले साम्यवादी चरित्रको कम र लोकतान्त्रिक चरित्रको बढी देखिन थालेको हो । समयको बहावसँगै पार्टीभित्रको विचारहीनता, एकमनापन, अनुत्तरदायी कार्यशैली र ढुलमुलेपनले एमालेलाई स्वार्थी एवम् भ्रष्ट व्यक्तिहरूको जमातको रूपमा निर्माण गरेको छ । यस पार्टीलाई समाजको चरित्र सामन्तवादी, अर्धसामन्तवादी, पुँजीवादी वा अरू के हो भन्नेमा अझैसम्म पनि स्पष्ट नहुनुले माथिको तथ्यलाई पुष्टि गर्दछ ।
टालटुले व्यवहार
०४६ यता करिब २५ वर्षको प्रजातान्त्रिक खुला राजनीतिको कुनै समयमा पनि एमालेले आफूलाई परिपक्व, जिम्मेवार एवम् उत्तरदायी पार्टीको रूपमा प्रस्तुत गर्न सकेन । अत्यन्त अव्यावहारिक कार्यशैली र नीतिगत अस्पष्टताले एमालेलाई सधैँ ठोस निर्णय लिन नसक्ने र स्पष्ट अडान नभएको पार्टीको रूपमा परिचित गरायो । चरम अवसरवादिताको उपयोग गर्दै पार्टीभित्रका मुठीभर नेताहरूको स्वार्थ पूरा गर्न मात्र एमाले केन्द्रित भयो । यसप्रकारको टालटुले व्यवहारले एमाले पार्टी मात्र नभई सिङ्गो कम्युनिस्ट आन्दोलनलाई क्षति पु-याएको छ भन्नेमा अलिकति पनि हेक्का एमाले नेतृत्वमा कहिल्यै आएको अनुभूति गरिएन ।
व्यक्तिकेन्द्रित चरित्र
एमालेको चरम सैद्धान्तिक एवम् वैचारिक विचलनका पछाडिको मूल कारण नै यस पार्टीभित्र फस्टाउँदै गएको उग्र व्यक्तिकेन्द्रित राजनीति हो । व्यक्तिगत स्वार्थ पूरा गर्न ‘जे गर्न पनि’ तयार हुने प्रवृत्तिले सीमित नेतालाई फाइदा पु-याए तापनि एमाले पार्टीको इतिहास र भावी पुस्ताप्रतिको दायित्वमाथि निर्मम प्रहार गरेको छ । ०४६ यताका प्रत्येक महाधिवेशन गुटगत राजनीतिलाई संस्थागत गर्ने खेलभन्दा बढ्ता भएनन् । समग्र विश्वराजनीतिमा कम्युनिस्ट आन्दोलन रक्षात्मक बनिसकेको अवस्थामा अलि गम्भीर एवम् संयमित ढङ्गबाट राष्ट्र र जनताको हित र उत्थानका लागि लाग्नुपर्नेमा एमाले नेतृत्व चरम अवसरवादको सिकार बनेको छ ।
आसन्न महाधिवेशनको दायित्व
महाधिवेशन नजिकिँदै गर्दा एमालेभित्र गुटगत भेला, आरोप–प्र्रत्यारोप र कतै–कतै अब परिवर्तन हुनैपर्छ भन्ने खालका कुरा पनि हुन थालेका छन् । हिजोका गल्ती–कमजोरी, विचलन र ठोस नीतिहीनताबाट माथि उठी नवौँ महाधिवेशनले सिङ्गो एमालेलाई एकताबद्ध गर्दै एवम् नीतिगत स्पष्टता दिलाउँदै समाजप्रति उत्तरदायी बनाउन सक्नुपर्दछ । अब पुरानो सोच र कार्यशैलीले राजनीति चल्न सक्दैन । जनता धेरै नै सचेत भएका छन् । समाज धेरै अगाडि बढिसकेको छ । हुन त हालसम्मको एमालेभित्रको गाईजात्रे भाँडभैलो हेर्दा तत्काल सुधार होला भनेर आमजनताले पत्याउँदैनन्, तर सत्य के हो भने एमाले पार्टीपङ्क्ति अब जिम्मेवार बन्नैपर्छ । आसन्न महाधिवेशन एकताको महाधिवेशन र नीतिगत एवम् व्यावहारिक स्पष्टताको महाधिवेशन बन्नैपर्दछ भन्ने इमानदार एमाले कार्यकर्ता–पङ्क्तिको चाहना देखिन्छ ।
लोकतान्त्रिक मूल्य–मान्यतालाई पूर्णरूपमा स्वीकार गरिसकेपछि नेकपा एमालेले अब आन्तरिक राजनीतिलाई लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप सुदृढ गर्नैपर्छ । आन्तरिक राजनीति बलियो नहुँदासम्म पार्टी एकताबद्ध हुन सक्दैन र राष्ट्रमा उसले कुनै पनि किसिमको योगदान दिनै सक्दैन । एमालेका अघिल्तिर यतिखेर धेरै प्रश्न छन् । यी सैद्धान्तिक, वैचारिक, व्यावहारिक एवम् स्पष्टताका सवालमा आधारित छन् । यी सबै प्रश्न हल नगरी फेरि पनि एमाले जबर्जस्ती अघि बढ्न खोज्यो भने सम्भवत: कालान्तरमा यसको पतनलाई कसैले रोक्न सक्ने छैन । झलनाथ खनाल, माधवकुमार नेपाल र केपी शर्मा ओलीमा अलिकति पनि पार्टीको भविष्यप्रति चिन्ता छ भने तीनै नेतामा ‘त्याग’को राजनीति झल्किनु अपरिहार्य छ । यसको सुरुवात केपी ओलीले भन्दै आएझैँ ‘नयाँ व्यक्तिमा जिम्मेवारी हस्तान्तरणको माध्यमबाट पुस्तान्तरण’मार्फत हुने हो कि होइन, प्रतीक्षाको विषय बनेको छ ।