– डा. केशव देवकोटा
आजका दिनमा नेपालको राजनीतिमा एकताको कुरा सुन्न पाउनु नै महŒवको विषय हो । जताततै फुट, कलह र विवाद बढिरहेको बेला कसैले एकता गर्ने कुराले धेरैको ध्यानाकर्षण गर्छ नै । त्यसमा पनि झन्डै १० वर्षसम्म सशस्त्र युद्ध गरेर शान्तिपूर्ण राजनीतिमा आउनासाथ फुटेर चार चिरा भएका माओवादी समूहबीच एकता हुने कुराले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा नै महŒव राख्दछ । कुनै पनि विषयको कारण नभई कार्य हुँदैन । पाँच कम्युनिस्ट पार्टीहरूबीच अहिलेको अवस्थामा कार्यगत एकताका लागि जुन सहमति भएको छ र सक्रियता देखिएको छ त्यसका पछाडि पनि कारणहरू रहेका छन् । एनेकपा माओवादीको केन्द्रीय कार्यालयमा हालै बसेको पाँच घटकहरूको बैठकले कार्यगत एकताका कार्यविधिहरू तयार पार्नका लागि कार्यदल नै गठन गरेको छ । कार्यदलले यसै साता अर्थात् असार १२ गतेभित्र कार्यविधि तयार पारिसक्नुपर्ने र १६ गतेको बैठकमा प्रस्तुत गरी त्यसै दिन कार्यगत एकताको औपचारिक घोषणा गरिसक्नुपर्ने समयतालिका पनि निर्धारण गरेको छ । त्यसपछि वाम शक्तिहरूबीच एकताको तहमा बहस औपचारिक रूपमै सुरु हुने भनिएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा विचलन बढिरहेको र कतिपय वाम पार्टीहरू विघटनको दिशातर्फ जाने खतरा बढिरहेको बेला भएको यो पछिल्लो एकताको प्रयास साँच्चै संश्लेषणलायक विषय मान्नुपर्दछ ।
विचलन र विघटनको अवस्थाबाट पार्टीहरूलाई बचाउन पनि आज एकता र ध्रुवीकरणको टड्कारो आवश्यकता देखिएको छ । हालैको पाँच घटकको बैठकमा संविधानसभाबाहिर रहेका दलहरूलाई समेत गोलमेच सभामार्फत नयाँ संविधान निर्माणको छलफलमा ल्याउनेबारे पनि छलफल भएकाले फेरि संविधानसभा विघटनमा जाने त होइन भन्ने प्रश्न पनि उठेको छ । पाँच वाम घटकको बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजबिन आयोगलगायतका विषयमा दबाब दिने र संविधान निर्माणको तत्कालीन प्रश्न, शान्तिप्रक्रियाका बाँकी कार्यभारबारे पनि छलफल भएकाले कतै यो एकताको प्रयासको मूल अभिप्राय नयाँ संविधानमा आफ्नो प्रभाव बढाउन मात्र हो कि भन्ने पनि देखिएको छ । बैठकमा जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनले उठाएका जनपक्षीय एजेन्डालाई भावी संविधानमा लिपिबद्ध गर्न के–कस्तो रणनीति अख्तियार गर्ने भन्नेबारेमा छलफल भएकाले यो प्रयासका पछाडि तत्कालीन उद्देश्यहरू रहेको पनि स्पष्ट हुन्छ । कार्यदललाई अबको संयुक्त बैठकमा कार्यगत एकताको आधार, नीति, नेतृत्व, राजनीतिक तथा साङ्गठनिक योजना पेस गर्ने अख्तियारी दिइएकाले पनि यसबारे घटकहरूभित्र मात्र नभएर त्यस बाहिर पनि घनीभूत रूपमा छलफलको आवश्यकता रहेको देखिन्छ । सो कार्यदललाई कार्यगत एकतासँगै पार्टी एकताका लागि आधार तयार पार्ने जिम्मेवारीसमेत प्रदान गरिएको भनिएकाले यसले ठूलो महŒव पनि राखेको छ । राष्ट्रिय आवश्यकता र माओवाद मान्ने पार्टीको कार्यगत एकताले नै मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न सहयोग पुग्छ भन्ने ध्येयका साथ यो प्रयास सुरु गरिएको नेताहरूको कथन छ । त्यसैले यस गठबन्धनले संविधान निर्माणमा प्रभाव पार्न खोजेको स्पष्ट छ । त्यसैले पाँच वाम घटकले कार्यगत एकताका लागि निम्न आधारहरू तयार गर्नसकेमा त्यो कार्यगत एकता पार्टी एकतामा पुग्नुका साथै रक्षात्मक अवस्थामा पुगेको नेपालको कम्युनिस्ट आन्दोलनमा गति आउँछ भन्ने लाग्दछ :
१. नेपालमा विदेशी हस्तक्षेप बढ्यो भन्ने गरिन्छ, तर त्यसको लेखाजोखा हुनसकेको छैन । त्यसैले कार्यगत एकताको तयारीमा रहेका पाँच वाम घटकले सर्वप्रथम नेपालमा भइरहेको विदेशी हस्तक्षेपबारे छलफल गरी उनीहरूको नेपाल–नीति के हो र उनीहरूले त्यसलाई कोमार्फत कसरी कार्यान्वयन गरिरहेका छन् भन्ने कुराको किटान गर्नुपर्दछ । साथै विदेशी हस्तक्षेपविरुद्ध डटेर लड्ने र विदेशी शक्तिका लागि काम गर्ने नेपालका राजनीतिक पार्टी तथा तिनका नेताहरूको पहिचान गरी उनीहरूका विरुद्ध निर्मम सङ्घर्ष गर्ने दृढता व्यक्त गरिनुपर्दछ । मेरो विचारमा नेपालमा विश्व साम्राज्यवादलगायतका बाह्य शक्तिको मूल नीति भनेको नेपाल र नेपालीलाई जातीय र क्षेत्रीय आधारमा विभाजित गर्नु हो । त्यो कार्य उनीहरूले केही कम्युनिस्ट घटकमार्फत नै सम्पन्न गराउन खोजिरहेका छन् । जसका लागि केही जातीय र क्षेत्रीय समूहलाई सहयोगीको भूमिकामा राखिएको छ । युरोपियन युनियन र डीएफआईडीलगायतका अन्तर्राष्ट्रिय संस्थामार्फत विभिन्न बहानामा नेपालको राष्ट्रिय राजनीतिलाई प्रभाव पार्न अर्बौं लगानी गरिएको छ । त्यसको मुख्य अस्त्र सङ्घीयतालाई बनाइएको छ भने रणमैदान संविधानसभालाई बनाइएको छ । सङ्घीयताको विवादकै कारण पहिलो संविधानसभा विघटन भयो, अब दोस्रो संविधानसभा पनि विघटन हुँदै छ । संविधानसभाले गणतन्त्र नेपालको संविधान बनाउन नसक्नुको कारण के हो र कारक को हो भन्ने कुराको निक्र्योल हुनुपर्दछ । नेपालमा कस्तो व्यवस्था कसरी लागूू गर्ने भन्ने कुराको निर्धारण गर्ने अधिकार नेपालीको हो । तर, नेपालका केही कम्युनिस्ट पार्टीले ल्याएको सङ्घीयताको नारा सफल पार्न पश्चिमा राष्ट्रहरूले अर्बौं खर्च गरेर जोरजुलुम गर्नुका कारण के हो ? त्यसबारे अब पाँच घटकको बैठकमा छलफल हुनुपर्दछ ।
२. ०६३ को राजनीतिक परिवर्तनपछि नेपालका प्राय: कम्युनिस्ट पार्टीहरूले आफ्नो पार्टी संरचनालाई जातीय आधारमा विभाजन गर्ने र स्थापना गर्ने प्रयास गरेको देखिएको छ । देश सङ्घीयतामा जाने कि नजाने भन्ने औपचारिक र वैधानिक रूपमा टुङ्गो नलाग्दै केही पार्टीहरूले आफ्नो सङ्गठनात्मक संरचनालाई जातीय नाम दिएर जसरी विभाजन गरेका छन्, त्यसले ती पार्टीहरूलाई धराशायी बनाउँदै लगेको स्पष्ट छ । वर्गीय राजनीति गर्नुपर्ने कम्युनिस्ट पार्टीहरूले जातीयतालाई उचाल्नु गम्भीर गल्ती भएको छ । नेपाल र नेपालीको पहिचान आवश्यक नपर्ने, तर जातीय पहिचान नभई नहुने उनीहरूको अडानका कारण नेपालको कम्युनिस्ट आन्दोलन तहसनहस बन्दै गएको हो । यसले पार्टीहरूभित्रै पनि नकारात्मक प्रभाव पारेको कुरालाई पाँच घटकले ठम्याउन सक्नुपर्दछ र कार्यगत एकताको आधार वर्गसङ्घर्षको सही सञ्चालनलाई बनाइनुपर्दछ ।
३. हाल कार्यगत एकताका लागि प्रयासरत पाँचवटै घटकका विभिन्न समयमा भएका बैठक र सम्मेलन तथा महाधिवेशनहरूले सम्पूर्ण देशभक्त, वामपन्थी र प्रगतिशील शक्तिबीचको एकतामा जोड दिएको देखिएको छ । तर, उनीहरूले देशभक्त, वामपन्थी र प्रगतिशील शक्तिको पहिचान नै गर्न सकेका छैनन् । त्यसैले उनीहरूले जातीयता र क्षेत्रीयतालाई प्रमुखता दिने गैरवामपन्थी शक्तिहरूसँग पटक–पटक विभिन्न बहानामा एकता गर्दै आएको देखिएको छ । नेका र राप्रपाबाट फुटेर बनेका मधेसी समूहहरू तथा विभिन्न जातीय समूहहरू न देशभक्त हुन् न वामपन्थी, न प्रगतिशील शक्ति नै हुन् । उनीहरूसँग किन एकता गरियो र त्यसको उपलब्धि के रह्यो ? त्यो अहिलेको खासगरी पाँच घटकको खोजीको विषय हुनुपर्दछ । उनीहरूले सम्पूर्ण देशभक्त, वामपन्थी र प्रगतिशील शक्तिका बारेमा स्पष्ट हुन र त्यसैका आधारमा कार्यगत एकता गर्न जरुरी छ ।
४. विश्व कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी नैतिकता र अनुशासनबारे धेरै बहस र अभ्यासहरू भएका छन् । खासगरी माओवाद मान्ने घटकहरूका लागि त झन् यो जरुरी र अनिवार्य सर्तकै कुरा हुन जान्छ । पाँच घटकले जसरी कार्यगत एकता गर्ने प्रयास गरेका छन् त्यसको मुख्य आधार क्रान्तिकारी नैतिकता र अनुशासनको पुनस्र्थापना गर्ने हुनुपर्दछ । जनताबाट अनाहकमा सियो र धागोको टुक्रासम्म पनि नलिने कुराको पालना भयो भएन ? जनयुद्ध र आन्दोलनमा कब्जा गरेका कुराहरू पार्टीलाई बुझाइयो कि बुझाइएन ? नम्र भएर बोलियो कि सर्वसाधारणलाई कुटपिट गर्ने र धम्क्याउने काम भयो ? महिलासँग छाडा व्यवहार भयो भएन ? त्यसबारे पाँच घटकको अबको बैठकमा छलफल हुनुपर्दछ र अब त्यस्ता कार्य नगर्ने प्रतिबद्धतालाई कार्यगत एकताको आधार बनाइनुपर्दछ ।
५. शक्तिराष्ट्रले भनेका कुरा राष्ट्र सङ्घले मान्ने र राष्ट्र सङ्घले भनेका कुरा नेपालका कम्युनिस्टले मान्ने काम भएका छन् । राष्ट्र सङ्घका सबै नारा, योजना र नीति नेपालका कम्युनिस्टहरूले मान्ने हो र त्यसको कार्यान्वयन गर्न प्रयास गर्ने हो भने किन चाहियो मालेमाको सिद्धान्त ? नेपालका कम्युनिस्ट पार्टीहरूले पार्टी सङ्गठनलाई प्रजातान्त्रीकरण गर्ने नाममा बुर्जुवाकरण गरिरहेको देखिएको छ । के कम्युनिस्ट पार्टीहरू संसदीय प्रजातान्त्रिक पार्टी हुन् ? त्यसैले पार्टीका सदस्यहरू सङ्गठनको अधीनमा हुने, अल्पमत बहुमतको अधीनमा हुने, पार्टीको तल्लो तह माथिल्लो तहको अधीनमा हुने र पार्टी सङ्गठनका आदेशहरूको पालना गर्नेजस्ता कुनै पनि कार्यहरू हुन सकिरहेका छैनन् । यदि पाँच वाम घटकले कार्यगत एकता गर्ने हो भने कम्युनिस्ट पार्टीका विश्वव्यापी मूल्य, मान्यता र आदर्शहरूलाई पुनस्र्थापना गर्ने कार्यलाई कार्यगत एकताको आधार बनाइनुपर्दछ ।
यसरी अहिलेको अवस्थामा पहिचानको आवरणमा जातीय र क्षेत्रीय राजनीतिलाई स्थापना गराउनु मात्र वाम पार्टीहरूको कार्यगत एकताको आधार हुन सक्दैन । संविधानसभामा केही घटकहरूले अगाडि सारेका कुराहरू पारित गराउनकै लागि यो पाँच घटकको एकता गर्ने प्रयास गरिएको हो भने त्यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई थप धराशायी बनाउने निश्चित छ । प्रथमत: नेपालका कम्युनिस्ट घटकहरूले जनताको मूल्याङ्कन के छ बुझ्नु जरुरी छ । आफ्ना गतिविधि कम्युनिस्ट राजनीतिको विश्वव्यापी मूल्य, मान्यता र आदर्शअनुरूप छन्–छैनन् जाँच्नुपर्दछ र विश्व साम्राज्यवाद र विस्तारवादको हतियार बन्नबाट आफूहरूलाई मुक्त गराउनुपर्दछ । जसले उपरोक्त कुराहरूमा ध्यान दिँदैनन् ती पार्टीहरू विघटनमा जालान्, तर सबै पार्टी विघटनमा जान्छन् भनेर सोच्नु मूर्खता हुनेछ । यो आजको सोचनीय विषय र प्रसङ्ग पनि हो ।
प्रतिक्रिया