–छविलाल बगाले
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक बर्षलाई ‘शेयर बर्ष’ को रुपमा मनाउने भएको छ । जनताबाट शेयर उठाएर जलविद्युत आयोजना बनाउने सरकारी नीतिले १० बर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारी लक्ष्यलाई पूरा गर्ने प्राधिकरणको तर्क छ । ‘नेपालको पानीमा जनताको लगानी’ अभियानबाटै सर्बसाधारणबाट १८ अर्ब शेयर रकम संकलन गरिने भएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसबर्ष जनताबाट शेयर पूँजीमार्फत १८ अर्ब रुपैयाँ उठाउने तयारी गरेको बताए । उनका अनुसार नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत आयोजनाले सञ्चालन गरेका चार आयोजनाको लागि आवश्यक पर्ने रकममध्ये सर्वसाधारणबाट उठाउन लागिएको हो ।
प्राधिकरणले चारवटै आयोजनाका लागि आवश्यक रकममध्ये ५० प्रतिशत शेयर र ५० प्रतिशत ऋणबाट जुटाउने तयारी भएको छ । निर्माणाधिन चार जलविद्युत आयोजनाका लागि आवश्यक रकम यसैवर्ष स्वदेशी पूँजीबाट जुटाइने हुँदा यस वर्षलाई शेयर वर्षको रुपमा मनाउने कार्यकारी निर्देशक घिसिङको तर्क छ ।
प्राधिकरण अन्तर्गतका निर्माणाधिन ४ जलविद्युत आयोजना
–१११ मेगावाट क्षमताको रसुवागढी
–५७ दशमलव ३ मेगावाट क्षमताको साञ्जेन
–४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी
–१ सय २ मेगावाटको मध्य भोटेकोशी
जडित कुल क्षमता ७ सय २६ मेगावाटका चार आयोजनाका लागि एक खर्ब रुपैयाँ आवश्यक पर्नेछ । यसका लागि सर्वसाधारणबाट १८ अर्ब संकलन गरिने छ । उर्जा मन्त्रालयले अघि सारेको ‘नेपालको पानी जनताको लगानी’ अभियानलाई प्राधिकरणले पनि अबलम्बन गरेको हो ।
के छ त ४ वटा आयोजनाको भौतिक प्रगति ?
रसुवागढी– ७० प्रतिशत
साञ्जेन माथिल्लो – ७० प्रतिशत
साञ्जेन तल्लो – ६५ प्रतिशत
माथिल्लो तामाकोशी– ९७ प्रतिशत
मध्य भोटेकोशी– ४२ प्रतिशत
नेपाल विद्युत प्राधिकरणले आफू मातहातका आयोजनालाई चिलिमे मोडलमै लगेको छ । चिलिमे मोडलमा आयोजना प्रवद्र्धन गर्दा कुनै एक कम्पनी डुब्दा विद्युत क्षेत्रमा कुनैपनि समस्या नआउने कार्यकारी निर्देशक घिसिङ बताउँछन् । उनले भने ‘हिजो नेपाल विद्युत प्राधिकरणले प्रवर्द्धन गरेका कुनै एक आयोजनामा समस्या आउँदा नेपाल विद्युत प्राधिकरण नै धरासही हुने अवस्था आउँथ्यो अबका दिनमा त्यो अवस्था सिर्जना हुदैन’ ।
प्राधिकरणका असफल आयोजनाको निर्माण कार्य पनि द्रुत गतिमा अगाडि बढेको हुँदा अबको केही समयमै नेपाल विद्युत प्राधिकरणसँग क्रोनिक आयोजना नहुने घिसिङको भनाइ थियो । प्राधिकरणले प्रवद्र्धन गरेका कम्पनीमध्ये रसुवागढी र सान्जेनले यसअघि नै संस्थापन र केही सर्वसारधाण तर्फको शेयर निष्काशन गरी बाँडफाँट समेत गरिसकेका छन् ।
प्रतिक्रिया