किन अत्तालिए कपिलवस्तु जिशिअ ?– मुक्तिनाथ भुसाल

किन अत्तालिए कपिलवस्तु जिशिअ ?– मुक्तिनाथ भुसाल


muktiकपिलवस्तुको शिक्षाक्षेत्रको दूरावस्था र यसको अन्तर्यबारे केही साताअघि आंशिक समाचार प्रकाशित भएपछि जिल्ला शिक्षा अधिकारी आफ्नो कमजोरी सुधारेर अघि बढ्नुको साटो दम्भपूर्ण गतिविधिमा संलग्न हुन थालेको अनुभूति गरिएको छ । कमजोरी उजागर भएपछि कुनै पनि विवेकी एवम् समाज र राष्ट्रप्रति दायित्वबोध भएको कर्मचारीले या त कमजोरी स्वीकार गरी सुधारको बाटोमा हिँड्ने प्रयत्न गर्दछ होइन भने आफूबाट कुनै कमजोरी नभएको प्रमाण जनसमक्ष पेस गरी अझ दृढता र इमानदारीका साथ कर्तव्यपथमा लागिपर्ने कसम खान्छ । आफूलाई चित्त नबुझ्ने या गलत कुरा कुनै मिडियाबाट सम्प्रेषित हुँदा सत्यमा अडिग व्यक्तिले सोही मिडिया प्रयोग गरी खण्डन तथा तथ्य कुरा प्रस्तुत गर्ने हिम्मत गर्नुलाई सञ्चारजगत्ले पनि सहर्ष स्वागत गर्दै त्यस्ता सामग्रीलाई स्थान दिएर पाठकवर्गलाई सत्य–तथ्यसँग साक्षात्कार गराउने प्रयास गर्छ । तर, जिशिअ सुरेन्द्रराज पराजुलीले सत्यको बाटो अवलम्बन गर्नुको साटो विकृतिलाई बढावा दिनुमै आफ्नो हित देखे, जुन विडम्बनापूर्ण छ ।
कपिलवस्तुको शिक्षा गतिविधिलाई गम्भीरतापूर्वक नियाल्ने हो भने सर्वसाधारण अत्यन्तै पीडादायी अवस्थामा रहेका कसैबाट छिप्न सक्दैन । यही सत्यलाई समाचारका रूपमा प्रस्तुत गरिएको थियो । यसरी आफ्ना कमी–कमजोरी र अयोग्यता सार्वजनिक भएबाट तिल्मिलाउन पुगेका जिशअले सम्बन्धित प्रकाशन संस्था या यसका प्रतिनिधिसमक्ष कुनै प्रतिक्रिया, सफाइ या खण्डन प्रस्तुत नगरी आफ्ना ‘गुड लिस्ट’मा रहेका व्यक्ति गुहार्न पुगेको र शिक्षाजस्तो महत्वपूर्ण विषयमाथि खेलवाड गर्नेलाई नै संरक्षण गर्न खोजिएको विषय यतिबेला जिल्लाका सरोकारवालासमक्ष चर्चाको सन्दर्भ बन्न पुगेको छ ।
समयसापेक्ष बन्न नसकेको कमजोर शिक्षाका कारण आज हजारौँ युवा या त बेरोजगार भएर बरालिएका छन् या निम्नकोटिको कामका लागि विदेशिन बाध्य भएका छन् । यसरी मलेसिया तथा खाडी मुलुकतिर भासिनेहरूले विदेशीभूमिमा भोग्नुपर्ने दु:ख–पीडा त्यत्तिकै कारुणिक हुन्छ । आफ्नो यही पीडाकै कारण पनि उनीहरू आफ्ना सन्तानलाई राम्रो पढाइलेखाइ गराउन उत्प्रेरित बन्न पुग्छन् । बच्चालाई राम्रो शिक्षा प्रदान गराउने उद्देश्यले विदेशिनेका पत्नी, पति वा परिवारका सदस्य महँगो सहर–बजारमा खर्च गरेर बस्न विवश बनेका उदाहरण हाम्रो समाजमा बग्रेल्ती भेटिन्छन् । अन्य जिल्लाजस्तै नेपाल सरकारले कपिलवस्तुको शिक्षामा गच्छेअनुसार राम्रै लगानी गरेको भए पनि जिशिअको अक्षमता र ढिठ तथा दम्भी स्वभावका कारण सामुदायिक विद्यालयलाई उपेक्षा गर्दै चर्को शुल्क तिरेर भए पनि निजी विद्यालयतर्फ आकर्षित हुन सर्वसाधारण बाध्य भएका छन् ।
जिशिअ पराजुलीको नेतृत्वमा जिल्ला शिक्षा कार्यालय कपिलवस्तु (तौलिहवा)मा सात सहायक जिशिअ, पाँच विद्यालय निरीक्षक र अन्य गरी २५ जना कर्मचारी कार्यरत छन् । जिल्लाको दक्षिण भेकमा ‘झोले विद्यालय’को बाहुल्य रहेको कपिलवस्तुका अधिकांश विद्यालयमा दिनहुँ खस्किँदो शिक्षाका कारण अभिभावक वाक्कदिक्क भई निजी विद्यलयको ढोका घचघच्याउने प्रवृत्तिले तीव्रता लिएको छ । तर, जिशिअ पराजुलीको ध्यान यस्ता संवेदनशील विषयसम्म पुग्न सकेको छैन । सामुदायिक, संस्थागत र खुला गरी जिल्लाभरका एक सय एक विद्यालयका पाँच हजार दुई सय १५ विद्यार्थीले एसएलसी रेगुलरतर्फ परीक्षा दिएकोमा विशिष्ट श्रेणीमा ७७ सहित जिल्लाभरिबाट जम्मा एक हजार दुई सय ८६ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । अर्थात्, सामुदायिक विद्यालयको एसएलसी उत्तीर्ण प्रतिशत १५ दशमलब ४४ मात्र छ । जिल्लाभर जम्मा करिब २५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदा राष्ट्रिय मावि, धनकौली मावि र रङ्गिला मावि नामका सामुदायिक विद्यालयको नतिजा प्रतिशत त ‘शून्य’ नै रहेको सहायक जिशिअ लिलबहादुर राउत क्षेत्रीले जानकारी गराएका छन् । जनचेतना माविले करिब ५४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर जिल्लामा पहिलो स्थानमा रहन सफल बने पनि जम्मा तीनजना प्रावि शिक्षक दरबन्दीले धानेको उक्त विद्यालयको नतिजा ‘दैवी–बरदान’ मात्र हो भन्न सकिन्छ ।
कक्षा तीनसम्म अङ्ग्रेजी माध्यममा शिक्षा प्रदान गर्न राज्यले शिक्षक तालिमका लागि ठूलै धनराशि खर्च गर्दै आएको भए पनि कपिलवस्तुको हकमा त्यो धनराशि केमा खर्च भइरहेको छ, यसबारे जिशिअ पराजुली नै जानिफकार होलान् । यथार्थमा कक्षा तीनसम्म पढ्ने धेरैजसो विद्यार्थीले निजी विद्यालयका एलकेजीस्तरका विद्यार्थीको सम्म पनि सामना गर्न सक्दैनन् । गत वर्षदेखि राज्यले ६ कक्षादेखि कम्प्युटर विषय अनिवार्य गराएको छ । हरिओमखोला सामुदायिक वन कपिलवस्तुका कोषाध्यक्ष एवम् गैंडे सामुदायिक वन अर्घाखाँचीका सहसचिवसमेत रहेका जनज्योति निमावि वीरपुरका प्रधानाध्यापक रविलाल घिमिरेका अनुसार उनको विद्यालयमा हालसम्म एउटै पनि कम्प्युटर छैन । यस्तै, गंगाज्योति माविमा प्रशासनिक कार्यका लागि दुईवटा कम्प्युटर भए पनि विद्यार्थीको प्रयोजनका लागि हालसम्म एउटा पनि उपलब्ध हुन नसकेको बुझिएको छ । गंगाज्योति र जनज्योति निमावि त एउटा उदाहरण मात्र हो, जिल्लाका हरेक विद्यालयमा यस्तै समस्या रहेको बुझिन्छ । यसतर्फ अब राज्यको उपल्लो निकायबाटै निगरानी पुग्नु अपरिहार्य छ । कपिलवस्तुमा तोकिएको मापदण्डअनुरूपको योग्यता नपुगेका व्यक्ति पनि मावि तथा उमाविस्तरको प्रअ बनेका उदाहरण रहे पनि यसबारे विरोधका आवाज उठ्न सकेको पाइन्न । जिशिअ पराजुलीकै शब्दमा भन्नुपर्दा मावि ठूलोनन्दनगर, पूर्णकेशर मावि, कृष्ण धार्मिक मावि, वाणगंगा उमावि, कपिलवस्तु मावि चेतरादेही, मावि महुवाबाबा, दुर्गा भगवती मावि र बालज्योति मावि गरी जिल्लाभर आठ विद्यालयमा ‘मात्र’ योग्यता नपुगेका शिक्षकलाई प्रअ बनाएर राखिएको छ । यो तथ्य गत जेठ २१ गतेको च.न. १८८१ पत्रमार्फत जिशिअ स्वयम्ले खुलासा गरेका हुन् ।
बनावटी कुरा गर्न पोख्त व्यक्तिका रूपमा स्थानीयवासीले चर्चा गर्ने गरेका जिशिअ पराजुलीले कपिलवस्तु जिल्लाभरिमा आठवटा विद्यालयमा मात्र नियमानुसार योग्यता नपुगेका शिक्षकहरूले प्रअको जिम्मेवारी लिएको रिपोर्ट दिए पनि यो सही होइन । यस्ता उदाहरण अरू पनि रहेको दाबी स्थानीयवासीको छ । उदाहरणका लागि गंगाज्योति मावि, समयथान उमावि, श्री उमावि, ओदारी उमावि, सूर्याेदय उमाविलगायतका विद्यालयमा प्रावि स्थायी र निमावि द्वितीय श्रेणीका शिक्षकहरू प्रअको ओहोदामा रही कार्यरत छन्, जिशिअ पराजुलीले यो तथ्य किन छुपाउन खोजे, खोजीको विषय बनेको छ । यस्ता योग्यता नपुगेका ‘प्रअ’का मातहतमा रही डिग्री गरेका शिक्षकले कसरी र कस्तो जिम्मेवारी निर्वाह गर्छन् होला भन्ने रोचक जिज्ञासा पनि उठ्दछ । यस्ता यावत् विकृतिमाथि सम्बन्धित माथिल्लो निकायले गम्भीरतापूर्वक नजर लगाए राज्यको लगानी खेर जान पाउँदैनथ्यो कि ?