सरकारी स्वामित्वको ७० मेगावाट क्षमताको मध्य मस्र्याङ्दी जलविद्युत केन्द्र दोब्बर समय र तेब्बर लागतमा निर्माण सम्पन्न भयो । यो आयोजना निर्माणका लागि शुरुको लागत ९ अर्ब भएपनि निर्माण सम्पन्न भइसक्दा २७ अर्ब खर्च भएको थियो । यस्तै सरकारी स्वामित्वकै ३० मेगावाट क्षमताको चमेलियाको हालत पनि उस्तै भयो । प्रतिमेगावाट ५३ करोडमा आयोजना निर्माण सकियो भने आयोजना सम्पन्न गर्न १२ बर्ष लाग्यो ।
पछिल्लो पटक निर्माणाधिन ४ सय ५६ मेगावाटको बहुप्रतिक्षित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको हालत पनि मध्य मस्र्याङ्दी र चमेलियाको जस्तै भएको छ । आयोजनामा यतिबेला समय र लागत दोब्बर लाग्ने निश्चित भएको छ । सरकारी ढिलासुस्ती र आयोजनामा हुने अवरोधका कारण आयोजना निर्माणले गति लिन नसकेको हो ।
यो आयोजना नेपालकै गौरब बढाउने आयोजना पनि हो । किनकी यो नेपालको लगानीमा नेपालकै प्राविधिकले बनाएका हुन् । यो आयोजनाको सुरुको लागत ३५ अर्ब थियो । तर, अर्को वर्ष कात्तिकमा आयोजना निर्माण सम्पन्न हुँदा लागत ३४ अर्ब थपिएर ७० अर्ब पुग्ने आयोजनाका जिम्मेवार अधिकारीहरु नै बताउँछन् ।
नेपाली जनताले आफैंले यति ठूलो आयोजनाका लागि लगानी जुटाउन सक्छन् र आफैं बनाउन सक्छन् भन्ने स्थापित गर्ने भएकाले माथिल्लो तामाकोसीको राष्ट्रिय महत्वको थियो । जबकी आयोजनाको लागत २०६६ सालमा ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ अनुमान गरिएको थियो । तर विभिन्न समयमा हुने बन्द हड्ताल, मुआब्जा समस्या र कर्मचारीको ढिलासुस्तीका कारण आयोजना निर्माणमा ढिलाई भएको हो ।
तामाकोसी आयोजना अघिल्लो आर्थिक वर्ष २०७३–०७४ भित्रै निर्माण सम्पन्न गर्ने र २०७६–०७७ बाट नाफा कमाउने लक्ष्य सरकारको थियो । तर सरकारी योजना लगभग असफल जस्तै भइसकेको छ । आयोजना निर्माणका लागि शुरुवातमा भूकम्प र भारतीय नाकाबन्दी नै बाधक बन्यो । यिनै कारणले आयोजना निर्माण सम्पन्न गर्ने समयलाई २०७५ असारका लागि सारिएको थियो । तर यो मिति पनि टरिसकेको छ । र अहिले समयमा आयोजना नसकिएको भन्दै पुनः नयाँ मिति तोकिएको छ । अब माथिल्लो तामाकोसी आगामी कार्तिकभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया