निर्यात सम्भावना भएका कृषि उपजमा कतार र नेपालबीच सहकार्य आवश्यक : भवानी राणा

निर्यात सम्भावना भएका कृषि उपजमा कतार र नेपालबीच सहकार्य आवश्यक : भवानी राणा


राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको नेतृत्व गर्दै कतार पुगेकी नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले निर्यात सम्भावना भएका कृषि उपजमा कतार र नेपालबीच सहकार्य गरेर अघि बढ्नुुपर्ने बताएकी छन् ।भ्रमणका क्रममा उनले न्यून मात्रामा निर्यात हुँदै आइरहेको नेपाली कृषि उपजलाई अझ बढवा दिन कतार र नेपाल सरकार मिलेर अघि बढ्नुपर्ने विषयमा छलफल भएको बताइन् ।

राजकीय भ्रमणमा रहेकी भण्डारीले कृषि र खाद्य सुरक्षा क्षेत्रमा सहकार्य सम्बन्धि एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी राणाले समझदारीमा उल्लेख भएको माछा, पशुपालन र कृषिमा सहकार्य सरकारले पहल गर्नुपर्ने बताइन् । नेपालबाट निर्यात सम्भावना रहेका अलैंची र अदुवाजस्ता व्यावसायिक बालीहरू भारत र भारतकै बाटो भएर तेस्रो मुलुक गइरहेकोमा कतारले तिनलाई आफ्नो बजारमा सिधै पहुँच दिनुपर्ने महासङ्घले धारणा राखेको थियो ।

अध्यक्ष राणाले नेपालले श्रमिक पठाउने देशको रुपमा बनेको आफ्नो परिचय बदल्नुपर्नेमा जोड दिइन् । ‘कतारको अहिले नेपालमा म्यानपावरको व्यावसाय मात्रै छ त्यसलाई हामी बदल्न चाहन्छौं’ उनले भनिन्, ‘अब व्यापार व्यवसायको क्षेत्रमा फड्को मार्न जरुरी छ ।’

अहिले सरकार पनि स्थिर रहेको र लक्ष्य पनि आर्थिक समृद्धि भएकोले अन्य क्षेत्रमा लगानी बढाउन आग्रह गरिरहेको अध्यक्ष राणाको भनाई छ ।