मनाङको विकट फु गाउँमा जीएसएम मोवाइल सेवा सञ्चालन

मनाङको विकट फु गाउँमा जीएसएम मोवाइल सेवा सञ्चालन


हिमाली जिल्ला मनाङको विकट फु गाउँमा जीएसएम मोवाइल सेवा सञ्चालनमा आएको छ । फू गाउँमा जीएसएम मोवाइल सेवा सञ्चालनका लदागि यसअघि मनाङबाट संविधान सभाका लागि निर्बाचित साँसद टेकबहादुर गुरुङले पहल गरेका थिए । सोही अनुरुप उक्त गाउँमा सेवाको शुभारम्भ भएको हो । मोवाइल सेवाको सोमबार सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले उद्घाटन गरेका हुन् । तत्कालिन सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतको पालामा फू गाउँमा जिएसएम मोबाइल फोनको टावर राख्ने तयारी भएपनि निर्बाचन आचारसंहिताका कारण रोकिएको थियो ।


नारपाभुमि गाउँपालिकाका अध्यक्ष मिङमा छिरिङ लामाले विकट गाउँमा मोवाइल टावर सञ्चालनमा आएपछि स्थानियमा खुसी छाएको बताए । ‘यसअघि गाउँका लागि दुई लाइनको भिस्याट टेलिफोन थियो, बिहान बेलुका र हिउँ पर्दा काम गर्दैन्थ्यो ।’, उनी भन्छन्, ‘मोवाइल सेवाले गाउँलेमा सुचना र प्रविधिको विकास भएको छ ।’

समुद्री सतहदेखि चार हजार दुई सय मिटर उचाइमा भिस्याङ लिङ्कबाट जडान गरिएको मोवाइलको टावरले नजिकै देखिने नामजुङ पिक र हिमलुङ हिमाल बेसक्याम्पसम्म काम गर्ने नेपाल टेलिकम मनाङले जनाएको छ । टेलिकम मनाङका प्रमुख ङिमाङिटु लामाका अनुसार उक्त टावरले नार गाउँ प्रवेश गर्ने लोउङ पास तथा तिब्बत प्रवेश गर्ने केङछिपी पाससम्म र माथिल्लो मुस्ताङ प्रवेश गर्ने सलिपुङ पाससम्म काम गर्नेछ । नारपाभुमि गाउँपालिका ४ र ५ फु गाउँको टासी ल्हकाङ गुम्बा परिसरमा टावर राखिएको मनाङका टेलिकम प्रमुख लामाले बताए । उनका अनुसार रिपिटर टावरको रेडियो लिङ्क तथा अप्टिकल फाइबरबाट सम्भव नभएपछि फु गाउँमा स्याटलाइट लिङ्क प्रयोग गरिएको छ । ‘फु’ गाउँमा मोवाइल टावर ल्याउनका लागि यसअघि पूर्ब साँसद तथा नेपाली कांग्रेस मनाङका सभापति समेत रहेका गुरुङले ‘फू’ गाउँमा टेलिकमको टावर पु¥याएर गाउँलेको जीवनमा सहजता ल्याउन पहल गरेका थिए ।
फु गाउँ पुग्न मनाङको सदरमुकाम चामेबाट दुई दिन लाग्छ । उक्त गाउँमा करिब ५५ घरधुरी रहेका छन् ।