अतिक्रमण नियाल्न तरुणदल सुस्तामा

अतिक्रमण नियाल्न तरुणदल सुस्तामा


नवलपरासीको सुस्तामा छाला रोगको समस्या बढेपछि स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेर स्वास्थ्य शिविरमार्फत उपचार कार्यलाई अगाडि बढाएको छ । जिल्लाको अति विकट स्थान सुस्तामा देवदह मेडिकल कलेजका मेडिकल सुपरिटेडेन्ट डा. विक्रम ज्ञवालीको नेतृत्वमा चार सदस्यीय चिकित्सकहरूको टोलीले १२५० छालाका रोगीको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि गरेको सुस्ता गाउँपालिका– ५ का वडा सदस्य आदम हुसेन खानले जानकारी दिएका छन् ।

नेपाल तरुण दलको ६५औँ स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको तरुण दल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का अध्यक्ष सुकबहादुर गुरुङले बताए । दूषित पानी, सरसफाइको कमी र जनचेतनाको अभावका कारण छाला रोगको समस्या बढेको छाला रोग विशेषज्ञ डा. ज्ञवालीले घटना र विचारलाई जानकारी दिए ।

छिमेकी अतिक्रमणको सिकार बनेको सुस्ता भूमिलाई जोगाउन सुरक्षा निकायको बाक्लो उपस्थिति, झोलुङ्गे पुलको निर्माण, स्थायी सीमाङ्कन र सुस्ताका किसानलाई जग्गाधनीको प्रमाणपुर्जाका साथै सुस्ताका नेपालीलाई अधिकारसम्पन्न बनाउनुपर्ने माग पनि सुस्तावासीले स्थास्थ्य शिविरमा प्रस्तुत गरेको थिए ।

करिब तीन दर्जन तरुण दलका नेता–कार्यकर्ता सुस्ता पुगेर अतिक्रमण भएको जमिन र नारायणी नदीले कटान गरेको भूभाग पनि अवलोकन गरेको बुझिएको छ । कार्यक्रममा पूर्वसांसद देवकरन कलवार, विक्रम खनाल, तरुण दल नवलपरासीका सहसचिव भरत पौडेललगायतले स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गरेका थिए । सुस्तामा २६५ घरपरिवार करिब ३२०० जनसङ्ख्या रहेको सुस्ताको महिला नेतृ नूरजहाँ वेगमले जानकारी दिइन् ।

– आरपी उपाध्याय