कोरियाली सहयोग समृद्धिको अभियानमा कोसेढुंगा हुने आशा : पोखरेल

कोरियाली सहयोग समृद्धिको अभियानमा कोसेढुंगा हुने आशा : पोखरेल


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्षिण कोरियाबाट नेपाललाई विकास, अध्ययन र तालिम तथा सूचना प्रविधिका क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त भएको बताएका छन् ।

नेपालका लागि दक्षिण कोरियाका राजदूत योङ सिक पार्कसँग आज सिंहदरबारस्थित मन्त्रालयका भएको भेटवार्तामा मन्त्री पोखरेलले ती सहयोगले विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको विकासमा सहयोग मिलेको बताए ।

दुई देशबीचको सम्बन्ध विशिष्ट प्रकृतिको रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले नेपाली युवालाई कोरियामा अध्ययन तथा रोजगारीका अवसर प्राप्त हुनु र अफिसियल डेभलपमेन्ट एसिस्टेन्टअन्तर्गत नेपालको बहुआयामिक विकासमा सहयोग पुगेको राससले जनाएको छ ।

हालै झापा र महोत्तरीमा कार्यान्वयन गर्ने गरी विद्यालयको सिकाइ वातावरण सुधार्न र बहुप्राविधिक शिक्षालय स्थापनामा कोरियाली सहयोगमा दुई परियोजनाका लागि कोरिया सरकारसमक्ष प्रस्ताव पेस गरिएको पनि उनले अवगत गराए ।

संविधान र संघीयतासँगै मुलुक समृद्धितर्फ उन्मुख भएको जानकारी दिँदै मन्त्री पोखरेलले समृद्धिको अभियानमा कोरियाजस्तो मुलुकको सहयोग कोसेढुंगा हुने आशा व्यक्त गरेका छन् । मन्त्री पोखरेलले यही कात्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म सियोलमा हुने विश्व सूचना प्रविधि नेतृत्व सम्मेलन’मा भाग लिन आफूले निमन्त्रणा स्वीकार गरेको पनि जानकारी दिए ।

राजदूत पार्कले आफूले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाका विकासका लागि नेपाल सरकारले लिएको नीति सकारात्मक रहेको भन्दै यस क्षेत्रमा थप सहयोग गर्ने विश्वास व्यक्त गरे ।