ओली अध्यक्ष बनेपछि बदलिँदै छ के ?

ओली अध्यक्ष बनेपछि बदलिँदै छ के ?


oliनेकपा एमालेको अध्यक्ष पदका प्रत्याशी माधवकुमार नेपालले आफ्नो पूर्वस्थितिमा निकै सुधार गर्नुभएपछि उहाँका समर्थकमा ठूलो उत्साह पैदा भएको छ । दुई महिनाअघिसम्म अत्यन्त कमजोर स्थितिमा रहनुभएका माधव नेपालले यसबीचमा गर्नुभएको देशदौडाहा र अथक मिहिनेतले स्थितिमा सुधार ल्याएको हो । दुई महिनाअघि माधव नेपालका पक्षमा बीस प्रतिशत मात्र समर्थक रहेको अनुमान गरिन्थ्यो । झलनाथ खनालपक्षीय सबैजसो नेताको समर्थन नेपाललाई भएपछि उहाँको शक्ति बढेर तीस प्रतिशतसम्म पुगेको विश्लेषकहरूको ठम्याइ थियो । तर, अहिले तीसबाट पनि बढेर पैंतीसदेखि चालीस प्रतिशत मत माधव नेपालले प्राप्त गर्न सक्ने स्थिति बनेको छ । पन्ध्र वर्ष पार्टीको कार्यकारी प्रमुख पदमा लगातार रहनुभएका माधव नेपालले ०६४ को निर्वाचनमा प्रमुख पदबाट राजीनामा दिनुभएपछि एमालेको स्थितिमा सुधार हुँदै गएको उक्त पार्टीका नेता–कार्यकर्ताको बुझाइ छ । नेपालको कमजोर क्षमताकै कारण एमालेको हैसियत एवम् प्रभावकारितामा कमी आएको ठहर तल्लो तहका कार्यकर्तासम्मको थियो । नेपालप्रतिको आकर्षणमा भारी ह्रास आउँदै गरेका बेला नवौँ महाधिवेशनको तिथि घोषणा भएपछि प्रारम्भिक दिनहरूमा माधव नेपालको स्थिति धेरै टिठलाग्दो मानिन्थ्यो, एमाले केपी ओलीमय बनेको भान हुन्थ्यो । केपी ओली बिरामी परी अस्पतालमा उपचाररत रहनुभएको समय पारेर सक्रिय हुन थाल्नुभएका माधव नेपाल एक्लो दौडमा निकै अगाडि देखिनुभएको थियो । तर, स्वास्थ्योपचार गरेर केपी ओली स्वदेश फर्कनुभएपछि माधवको दौडमा अचानक बे्रक लाग्यो, तथापि नेपाल पैंतीसदेखि चालीस प्रतिशतसम्म मत हासिल गर्न सक्ने हैसियतमा पुग्नुभएको छ । माधव नेपाल रक्षात्मक अवस्थामा रहनुभएको भए पनि चालीस प्रतिशतसम्म मत हासिल गर्न सक्नुभएमा त्यसलाई उहाँको ठूलो उपलब्धि मान्नुपर्ने ठानिएको छ ।
मंगलबार (असार १०) सम्ममा देशका सबै जिल्ला र भ्रातृ तथा पेसागत सङ्घ–सङ्गठनहरूबाट प्रतिनिधि चयन कार्य सम्पन्न करिब भइसकेको छ । विजयी प्रतिनिधिको स्थिति र मनस्थिति विश्लेषण गर्दा यसपटक अध्यक्ष पदमा केपी ओली विजयी बन्नुहुने सम्भावना अधिक देखिएको छ । बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा झलनाथ खनालसँगको प्रतिस्पर्धामा पनि केपी ओली बलियो देखिनुभएको थियो । तर, त्यसबेला माधव नेपालले भित्रभित्रै खनाललाई सहयोग पु-याउनुभएपछि ओली झिनो मतान्तरले पराजित हुनुभएको थियो । यसपटक खनाल तटस्थ बस्नुभएको र नेपालप्रतिको आकर्षणमा ह्रास आएकोले ओलीको विजय सुनिश्चित हुन पुगेको हो । त्यसबेला खनालको पक्षमा उभिनुभएका नेताहरू वामदेव गौतम, ईश्वर पोखरेल, प्रदीप नेपाल, मुकुन्द न्यौपानेलगायतले ओलीलाई समर्थन गर्नुभएकोले पनि उहाँको स्थिति सुदृढ हुन पुगेको हो । ओलीले यस अवधिमा लिनुभएको स्पष्ट वैचारिक अडान र प्रभावकारी भूमिकाले उहाँको उचाइ निकै बढाएको मानिन्छ । त्यसैले नवौँ महाधिवेशनले ओलीलाई अध्यक्ष चयन गर्ने सम्भावना बलियो भएको छ ।
ओली विजयी बन्दा के हुन्छ ?
केपी शर्मा ओली एमालेको अध्यक्ष पदमा विजयी बन्नुभएमा एमालेको आन्तरिक राजनीति र समग्र राष्ट्रिय राजनीतिमा समेत बेग्लै प्रभाव पर्ने व्याख्या विश्लेषण हुन थालेको छ । माधव नेपाल र झलनाथ खनालले विगत बीस वर्षदेखि नेतृत्व सम्हाल्दै आउँदा नेकपा एमालेको परिचय एउटा ढुलमुले र अवसरवादी चरित्र बोकेको पार्टीका रूपमा स्थापित हुन पुगेको छ । ओली एमालेको हाल स्थापित चरित्रभन्दा नितान्त भिन्न स्वभावका नेता मानिनुहुन्छ । ओली स्पष्ट विचार, दर्शन र नीति लिनुहुने नेताका रूपमा चिनिनुहुन्छ । ०६३ को राजनीतिक परिवर्तनपश्चात् केपी ओलीले अतिवादविरुद्ध लिँदै आउनुभएको अडान इतिहास स्मरणीय बनेको छ । त्यसैले उहाँको नेतृत्वमा एमालेले ढुलमुले र अवसरवादी परिचय मेटेर सुस्पष्ट विचार र नीतिसहितको नयाँ परिचय बनाउने विश्वास गरिएको छ । यसअघि लिङ्ग पहिचान नखुलेको अर्थात् ‘तेस्रोलिङ्गी’को पहिचान बनाएको एमालेले ओलीको नेतृत्वमा नयाँ परिचय बनाउने विश्वास गैरएमाले कित्ताले समेत गरेको छ । केपी ओली प्रजातन्त्र, विकास र समृद्धिबारे स्पष्ट विचार राख्नुहुने नेता भएकोले एमालेको पुरानो परिचय बदलिने विश्वास गरिएको हो । ओलीको कमाण्डमा एमाले गएपछि पार्टीभित्र मोलाहिजाको राजनीतिमा पूर्णविराम लाग्ने, लोकतन्त्र र राष्ट्रहितको पक्षमा सक्रिय रहनेहरूको पार्टी एमाले बन्नसक्ने ठानिएको छ । ओलीको उदयसँगै एमालेमा पुरानो पुस्ताको प्रभाव समाप्त हुने र नेतृत्वमा नयाँ पुस्ता हावी हुने सङ्केतहरू देखिएका छन् । केपी स्वयम् एक कार्यकालभन्दा बढी समय नेतृत्व ओगट्ने पक्षमा हुनुहुन्न र भविष्यमा पार्टी प्रमुख पदमा कुनै पनि व्यक्ति बढीमा दुई कार्यकालसम्म मात्र रहने वैधानिक व्यवस्था गर्न उहाँ प्रतिबद्ध हुनुहुन्छ । त्यसैले एमाले भविष्यमा नयाँ पुस्ताका जुझारु युवाको पार्टी बन्ने निश्चित मानिएको छ ।
केपी ओली आफ्नो स्वास्थ्यस्थितिबारे जानकार हुनुहुन्छ । त्यसैले बाँकी जीवनमा राष्ट्रका लागि ठोस केही गर्ने मनस्थितिमा उहाँ हुनुहुन्छ । मुलुकमा ज्यादा राजनीतीकरणका कारण उत्पन्न विकृतिपूर्ण समस्याप्रति ओली चिन्तित हुनुहुन्छ । उहाँको नेतृत्वमा एमालेले योग्य र इमानदारहरूको कदर हुने परम्परा बसाउने विश्वास पनि गरिएको छ । त्यसैगरी समयको सदुपयोग गर्ने र समयमै आवश्यक तथा उचित निर्णय लिने मामिलामा पनि केपी ओली अग्रणी मानिनुहुन्छ । ओलीको यो क्षमताको पनि उच्चतम सदुपयोग हुने अपेक्षा गरिएको छ ।
महाधिवेशनबाट केपी ओली अध्यक्ष पदमा विजयी बन्नुभएमा राष्ट्रिय राजनीतिमा पनि केही परिवर्तन आउनसक्ने अनुमान गरिएको छ । कतिपयले एमाले महाधिवेशनपछि सरकार परिवर्तनको खेल सुरु हुने अनुमान गरेका छन् । प्रजातान्त्रिक शक्तिहरूको विकासका पक्षमा रहनुभएका ओली काङ्गे्रससँगको गठबन्धन तोडी अर्को प्रकारको गठबन्धनका लागि सक्रिय बन्नुहुने ठानिएको छैन । सुशील कोइरालाले स्वेच्छाले पद त्याग नगर्नुभएको या अरू कुनै कारणले पद त्याग गर्ने स्थिति नबनेमा ओलीको भूमिका के हुने हो त्यसको अनुमान गर्न सकिने अवस्था छैन । तर, पार्टी अध्यक्ष बनिसकेपछि प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गर्न ओलीको सक्रियता बढ्ने विश्वास भने गरिएको छ । सरकारको नेतृत्व सहज परिवर्तन हुने स्थिति नभएमा ओलीले प्रधानमन्त्री बन्न काङ्गे्रसबाहेकका दलहरूसँग गठबन्धन बनाउनुपर्ने हुन्छ । तर, ओलीबाट बाध्यात्मक स्थितिमा मात्र त्यसप्रकारको कदम चालिने उहाँका निकटस्थहरूको भनाइ छ ।