महतोलाई शहीद घोषणा गर्न माग : चर्को रूप लिँदै सर्लाही घटना

महतोलाई शहीद घोषणा गर्न माग : चर्को रूप लिँदै सर्लाही घटना


सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताद्वारा हत्या गरिएका सर्लाही रामनगर–४ का ६० वर्षीय रामविलास महतोको दाह संस्कार हुने माहोल अझै बन्न सकेको छैन । नेपाली काङ्ग्रेसका सक्रिय सदस्यसमेत रहेका महतोमाथि शिवपुजन रायलगायतको उक्साहटमा गत मंगलबार कम्युनिष्ट कार्यकर्ताहरूले आक्रमण गर्नुका साथै गोली प्रहार गरी हत्या गरेका स्थानीयवासीको भनाई छ ।

आक्रमणबाट महतोको मृत्यु हुनुका साथै कैयन घाइते भएका छन् । महतोको शव यतिबेला मलंगवा जिल्ला अस्पतालमा छ । पीडित पक्षले शव बुझ्न मानेको छैन । नेपाली काङ्ग्रेसले चारबुँदे माग अघि सारेको छ भने माग पूरा नभएसम्म अस्पतालबाट शव नबुझ्ने जनाएको छ ।

चारबुँदे मागमा मृतक महतोलाई शहीद घोषणा गरिनुपर्ने, पीडित परिवारलाई १० लाख राहत उपलब्ध गराइनुपर्ने, घाइतेहरूको निःशुल्क उपचार हुनुपर्ने र घटनाका दोषीहरूलाई गिरफ्तार गरी आवश्यक कारवाही अघिबढाइनुपर्ने रहेका छन् । उक्त घटनामा गोली चलाउन अघिसरेका अभियुक्तमा शुभनारायण राय, श्रीनारायण राय, धर्मेन्द्र साहलगायत रहेका बताइएको छ ।

सर्लाहीबाट प्रतिनिधिसभा सदस्यमा प्रतिनिधित्वसमेत गरेका नेपाली काङ्ग्रेसका नेता डा. अमरेशकुमार सिंहले पीडितपक्षबाट उठाइएका मागको उपेक्षा गरिए चरणबद्ध रूपले कठोर आन्दोलनमा उत्रने विषयमा छलफल भइरहेको र यसबारे पार्टीले छिट्टै आधिकारिक निर्णय लिने जानकारी दिए ।

ज्ञातव्य छ, प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले आफ्ना कार्यकर्तामाथि गरिएको सुनियोजित तथा साङ्घातिक आक्रमणका दोषीहरूलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरे पनि सरकारले आलटाल गरिरहेको स्थानीयको आरोप छ । आफ्ना उद्दण्ड कार्यकर्तालाई कारवाही गर्नुको साटो नेकपाले उल्टै अराजक बन्न उक्साइरहेको काङ्ग्रेसपक्षको भनाई छ ।

घटनाको निष्पक्ष छानबिन गरी बेलैमा उचित कारवाही नगरे यस प्रकरणले उग्र रूप लिने र देशब्यापी रूपमा आन्दोलन चर्किन सक्ने बुझिएको छ ।

यसै सन्दर्भमा सर्लाहीको रामनगर–४ बोहर्वामा हत्या गरिएका रामविलास महतोका हत्यारालाई उम्काउने प्रयास भएको नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले आरोप लगाएका छन् ।

नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच भएकोे झडपमा परी घाइते भएका कार्यकर्ताको अवस्था बुझ्न सर्लाही अस्पताल मलङ्गवा पुगेका निधिले गोली हान्ने व्यक्तिको नाम घाइतेले बताइरहँदा समेत प्रशासनले पक्राउ गर्न नसक्नु उदासिनता रहेको बताएका हुन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि अपराधीलाई कानूनको दायराभित्र ल्याइन्न भने त्यसको परिणाम गम्भीर हुने चेतावनी दिए । काङ्ग्रेसका कार्यकर्ताले बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाही घेराउ गरी विरोध प्रदर्शन गरेका थिए । मलङ्गवाको बजार क्षेत्रमा गरिएको प्रदर्शनमा उपसभापति निधि, पार्टी प्रवक्ता शर्मा, केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, पूर्वमन्त्री महेन्द्र यादव, जीतेन्द्र देव, सङ्घीय सांसद डा. अमरेशकुमार सिंहलगायत प्रदेश नं २ का आठवटै जिल्लाका सभापतिसमेत सहभागी थिए ।