मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता

मेगा बैंक र आइएमई डिजिटलबीच सम्झौता


आइएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट विविध वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले मेगा बैंक नेपाल लिमिटेड र आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मेगा बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आइएमई डिजिटलको तर्फबाट प्रमुख संचालक अधिकृत डेनियल डी श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार मेगा बैंक ‘आइएमई डिजिटल’को बैंकिङ साझेदार संस्था हुनेछ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिंक गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्ने बताइएको छ ।

साथै, मेगा बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्युआरमार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने बताइएको छ ।

१६ हजार भन्दा बढी एजेण्ट आउटलेट संजाल भएको आइएमई डिजिटल, आईएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । आईएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँदै आएको छ र यसको मद्दतबाट सेवाग्राही आफैले वा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बिलहरू भुक्तानी गर्ने कार्यमा सहयोग गर्दछ ।

आईएमई डिजिटलसँगको सम्झौताले सर्वसाधारण जनतालाई आधुनिक वित्तीय सेवाहरूको पहुँच उपलब्ध हुनुका साथै नेपालको वित्तीय समावेशीकरणमा समेत योगदान पुग्ने आइएमई डिजिटल र मेगा बैंकको विश्वास रहेको बताइएको छ ।