गुल्मीमा यस्तो रह्यो चियापानकोे रौनक

गुल्मीमा यस्तो रह्यो चियापानकोे रौनक


रमेश विश्वकर्मा, गुल्मी

नेपाली कांग्रेस गुल्मीले बीपी स्मृति भवन सदरमुकाम तम्घासमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । विजयादशमी, दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा नेकाले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको हो ।

शुभकामना कार्यक्रमलाई समापन गदै पार्टी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले राजनैतिक अधिकारप्राप्तिको समय समाप्त भएकाले समृद्ध गराउने समयको शुरुवात भएको बताए । महामानव बीपी कोइरालाले ४२ वर्षअगाडि थालनी गरेको मेलमिलापको नीति वर्तमान समयमा पनि उत्तिकै महत्वको रहेको उनको भनाई थियो ।

साथै प्रजातन्त्रमा आफ्ना हकअधिकार प्राप्तिका लागि कसैसँग नडराई अगाडि बढ्न शुभकामना मन्तव्यमार्फत आमनागरिकलाई सभापति श्रेष्ठले आग्रह गरे । नेपाली समाजमा गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्या भएकाले सबै एकाकार भएर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए । सबै राजनैतिक दल एकै ठाउँमा उभिएका कारण हा लसम्मका अधिकारहरु हासिल भएको उनको तर्क थियो ।

चियापान कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णप्रसाद भण्डारीले तत्कालीन समयमा जननायक बीपी कोइराला र कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई आफूले एउटै मञ्चमा भेटेको स्मरण गर्दै उनले मेलमिलापविना समृद्धि हासिल नहुने बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गुल्मी प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले कार्यक्षेत्र फरक–फरक भए पनि अन्त्यमा पुग्नुपर्ने गन्तव्य विकास र समृद्धि नै भएको धारणा राखे । यस्ता कार्यक्रमले सर्वपक्षिय मेपमिलाप र सहकारिताको सन्देश उठान गर्ने विषय पनि उनले उल्लेख गरे ।

गाउँपालिकाका प्रमुखको तर्फबाट सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकाल, उप–प्रमुखको तर्फबाट धुर्कोट गाउँपालिकाका उपाध्यक्ष शिवबहादुर खत्री, उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेय, आधिकारिक ट्रेड युनियनका अध्यक्ष जयश्वर पन्थी, नागरीक समाजका पदम प्रसाद पाण्डेय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

जिल्ला उप–सभापति विष्णु बलालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव खिलध्वज पन्थीले गरेका थिए भने सो अवसरमा पार्टीको महिला विभागले कलाकार सुनिल थापालाई सम्मान समेत गरेको थियो ।

चियापान कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, वडा अध्यक्ष, सदस्य भातृ संघका पदाधिकारी लगायतको उल्लेखनीय रुपमा सहभागिता रहेको थियो ।