डा. शशांक भन्छन्- ‘काङ्ग्रेसको नेतृत्व कोइराला परिवारमा जानुपर्छ’

डा. शशांक भन्छन्- ‘काङ्ग्रेसको नेतृत्व कोइराला परिवारमा जानुपर्छ’


नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको आसन्न महासमिति बैठक केही दिनपछि सर्ने सम्भावना रहेको बताएका छन् । पार्टीद्वारा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्राविधिक कारणले महासमितिको बैठक एक÷दुई हप्ता पछाडि सर्ने सम्भावना रहेको जानकारी गराएका हुन् ।

काङ्ग्रेसको महासमिति बैठक आगामी मङ्सिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने तय भएको थियो ।

सो अवसरमा महामन्त्री कोइरालाले काङ्ग्रेसको आगामी नेतृत्व कोइराला परिवारमा जानुपर्ने धारणासमेत व्यक्त गरे ।

कोइराला परिवारबाट कसले नेतृत्व लिने भन्ने सवालमा उनले सुजाता कोइराला स्वास्थ्यका कारण नेतृत्व लिन अनिच्छुक रहेको सङ्केत गर्दै डा. शेखर कोइराला र आफूमध्ये एकले काङ्ग्रेसको नेतृत्व लिने बताए । आफूहरूबीच सल्लाह भएपछि यसबारे सहमतिमा पुग्ने शशांकको भनाई छ । आफू पार्टीको नेतृत्वमा आएमा पार्टीलाई एक ढिक्का बनाउन सक्ने सामथ्र्य राख्ने उनको दाबी थियो ।

बिपीको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै महामन्त्री कोइरालाले बिपीकै आदर्श र नीतिअनुसार नै काङ्ग्रेस अघि बढेको बताए । मुलुकको हितका लागि फरक विचार तथा दलसँग पनि मिलेर जानुपर्छ भनेर बिपीले २०३३ सालमा मेलमिलापको नीति ल्याएको बताउँदै उनले काङ्ग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने पनि उल्लेख गरे ।