राष्ट्रपतिको घरमा ‘चलचित्र अवार्ड’को गाईजात्रा

राष्ट्रपतिको घरमा ‘चलचित्र अवार्ड’को गाईजात्रा


funtimeसम्भवत: आगामी दिनमा राष्ट्रपति डा. रामवरण यादवले नेपाली चलचित्रसम्बन्धी पुरस्कार वितरण तथा अवार्ड समारोहमा आफ्नो उपस्थिति जनाउनुहुने छैन । यस्तो अनुमान लगाइनुको तात्पर्य तलका पङ्क्तिबाट सायद प्रस्टिनेछ ।
केही वर्षअघि चलचित्र कलाकार सङ्घले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि बन्नुभएका राष्ट्रपति डा. रामवरण यादवको त्यो उपस्थिति नै विवादित बन्न पुगेको थियो । त्यसपछि नेपाली चलचित्रकर्मीले कार्यक्रममा राष्ट्रपतिलाई बोलाउने आँटसमेत गर्न सकेका थिएनन् ।
चलचित्रसम्बन्धी कार्यक्रममा प्रमुख अतिथि बन्न अनेक चलचित्रकर्मीले राष्ट्रपतिसमक्ष आ–आफ्नै प्रकारले आग्रह गर्ने गरे पनि राष्ट्रपति कार्यालयले यस्ता अवार्ड वा फिल्मी समारोह बढी विवादित हुने गरेको तर्क गर्दै त्यस्ता कार्यक्रममा उपस्थित हुन राष्ट्रपतिलाई अप्ठ्यारो हुने भएकाले आग्रह नगरिदिन अनुरोध गर्दै आएको थियो । तथापि, एकपटक फेरि राष्ट्रपति यादव नेपाली चलचित्रसम्बन्धी विवादास्पद कार्यक्रममा प्रमुख अतिथि बन्न पुग्नुभएको छ ।
गत सोमबार राष्ट्रपति कार्यालयमै सीमित चलचित्रकर्मीहरूको उपस्थितिमा ‘राष्ट्रिय चलचित्र पुरस्कार २०६७/०६८/०६९/०७०’ आयोजना गरेर चार वर्षको अवार्ड एकैसाथ बाँडियो । यसरी चार वर्षको अवार्ड एकसाथ बाँडिनुको रहस्य वा कारण के हो भन्नेबारेमा आयोजकबाहेक अरू अनविज्ञ नै छन् ।
चलचित्र विकास बोर्डले चार वर्षको अवार्ड एकसाथ बाँड्नुलाई औपचारिक मात्र भन्न सकिन्छ । उसले आफ्नो कर्तव्य निभाउनका लागि बाहेक अरू कुनै प्रयोजनले यो अवार्ड कार्यक्रमको आयोजना गरेको देखिँदैन । किनकि, यदि चलचित्रकर्मीको पक्षमा नै यो अवार्ड थियो भने पक्का पनि हरेक वर्ष नै आयोजना हुन सक्थ्यो र राष्ट्रपतिको निवासमा नभई भव्यताका साथ कुनै सार्वजनिक सभा–समारोह आयोजना स्थल/हलमा ।
तीन वर्षअघिको अवार्ड यतिबेला हात पर्दा अवार्ड पाउने चलचित्रकर्मीमा कुनै उत्साह, उमङ्ग र हौसला देखिने कुरै थिएन र भयो पनि यस्तै । अधिकांश कलाकर्मीले त ‘आजसम्म शीतलनिवास प्रवेश गरिएको थिएन, यही बहानामा राष्ट्रपति निवासमा छिरियो’ भन्ने अभिव्यक्ति दिएकोसमेत सुनियो । जो–जसले अवार्ड पाए तिनीहरू सबैलाई शुभकामना, तर पाउनेहरूले पनि असन्तुष्टि जनाएपछि त अवार्डको गरिमा र महत्वमा समेत प्रश्न उठेको छ । आफूले खेलेको चलचित्रसमेत कतिपय कलाकारले बिर्सिसकेका थिए, तर उनीहरूकै नाम अवार्ड पाउने लिस्टमा परेपछि ती कलाकारसमेत आश्चर्यमा परेका थिए । अवार्ड र सम्मानले त कलाकारलाई उत्साह, उमङ्ग र त्यो क्षेत्रमा केही गर्ने प्रेरणा दिनुपर्ने हो, तर जिन्दगीभर चलचित्र क्षेत्रमा लागेका चलचित्र लेखकहरूलाई प्रोत्साहन नदिई उनीहरूको मनोबल गिराउँदै रहरले चलचित्र बनाउनेहरूलाई उत्कृष्ट लेखक भनेर अवार्ड दिइएको पाइयो । उत्कृष्ट लेखनको अवार्ड पाएको चलचित्र ‘पल’ वास्तवमा चलचित्र नभएर एउटा उत्कृष्ट डकुमेन्ट्री मात्र हो भन्ने चलचित्रकर्मी प्रशस्तै छन् ।
अवार्ड विवादमुक्त भएन भन्ने कुराको प्रमाण त ‘जुरी’का सदस्यको अनुपस्थितिले नै जनाएको थियो । सदस्यमध्येका एक प्रकाश सुवेदीको भनाइमा ताली बजाउनका लागि मात्रै किन जानु भनेर गइएन । यतिबेला दर्शकमाझ निकै लोकप्रिय मानिएको र ठूलो बजार ओगटेको हास्य विधालाई चार वर्षकै अवार्डमा नसमेटिनुलाई के भन्ने ? त्यसैले होला हास्य कलाकार जितु नेपालले भने, ‘हामी हास्य कलाकारलाई अपमान र मिनिमाइज गर्ने चलचित्र विकास बोर्डको अवार्ड कार्यक्रममा जानाजान नगएकै अवस्था हो ।’
अभीनेत्री रेखा थापाको पनि यो अवार्डप्रति विमति रहेछ । चार वर्षअगाडिको कलाकार र अहिलेको कलाकारलाई समान रूपमा दाँज्नु गलत थियो भन्छिन् उनी । ‘त्यो सिनेमा र त्यो कलाकार सफल हो, जसले पैसा तिरेर सिनेमा हेर्ने दर्शकलाई न्याय गर्छ’ भन्दै उनले चलचित्र क्षेत्रमा व्यावसायिकताको कमी भयो भन्ने तर बजार बिगार्ने र दर्शकलाई नै हलबाट भगाउने सिनेमालाई जबर्जस्ती उछालिएको आरोप लगाइन् ।
चलचित्र विकास बोर्डले चार वर्षको अवार्ड एकसाथ दिँदा केही व्यवस्थापकीय कमजोरी हुन पुगेको स्वीकार गरेको छ । बोर्डले आगामी दिनमा पुरस्कारका विधाहरू बढाएर हरेक वर्ष राष्ट्रिय चलचित्र पुरस्कारको आयोजना गर्न आफू लागिपर्ने प्रतिबद्धता पनि जनाएको छ । हेरौँ उसले यो वाचा कसरी पूरा गर्छ !

हराएका विनोद फेसबुकमा टुप्लुक्क
चलचित्र ‘आँधीबेरी’बाट नायकको रूपमा नेपाली सिनेनगरीमा प्रवेश गरेका विनोद खरेल कुशल खेलाडी भएपछि प्रहरी सेवामा प्रवेश गरेका थिए । राम्रो अभिनयक्षमता भएका खरेल फुटबल खेलमार्फत पनि आफ्ना फ्यानहरूमाझ लोकप्रिय थिए । पहिलो चलचित्र सँगसँगै केही म्युजिक भिडियोमा समेत मोडलिङ गरेका उनी एकाएक हराएपछि उनलाई चिन्नेहरूमा एकप्रकारको कुतूहल पैदा भएको थियो । तीन वर्षजस्तो हराएका उनी अहिले एकाएक भेटिएका छन्, सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत, त्यो पनि पुराना कलाकार एवम् चलचित्र ‘ठूली’का निर्माता पुस्कर पन्तका साथ ।
पन्त लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् भने खरेल पनि विगत केही वर्षदेखि अमेरिकामै बस्दै आएका रहेछन् । खरेलको चलचित्र ‘ठूली’का निर्माता पुस्कर पन्तसँगको तस्बिर सार्वजनिक भएपछि विनोद खरेलको बारेमा पैदा भएको जिज्ञासा अब मेटिएको छ । त्यसो त निर्माता पन्त र अभिनेता खरेलबीचको यस मित्रता र निकटपनाले खरेल पुन: चलचित्र क्षेत्रमा फर्कने सम्भावनालाई पनि बढाएको छ ।

सन्ध्या बनिन् मिस टिन नारायणी
फेमिली ब्युटि होम एण्ड ट्रेनिङ सेन्टर र बीसीसीएन इभेण्ट म्यानेजमेन्टद्वारा बीरगञ्जमा आयोजित ‘मिस टिन नारायणी प्रतियोगिता–२०१४’मा सन्ध्या ढुङ्गानाले बाजी मारेकी छिन् । यस्तै, श्रुति कुशवाह र दृष्टि बराल क्रमश: दोस्रो र तेस्रो भएकी छिन् । प्रथम हुने सन्ध्यालाई पचास हजार, दोस्री श्रुतिलाई पन्ध्र र तेस्री दृष्टिलाई दस हजार नगदसहित विभिन्न उपहार प्रदान गरिएको छ । आयोजक संस्थाका रन्जन गुप्ता र गुड्डी जोशीका अनुसार प्रतियोगिताको फाइनल कार्यक्रममा हिमानी ट्रस्टका कार्यक्रम संयोजक राज्यलक्ष्मी शाक्य, पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, बीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक बैद्यलगायतको विशेष उपस्थिति थियो ।

‘देशदर्शन’को रोपाइँ
‘माइलादाइ हली, म कान्ला काट्ने, पातली रोपार
बाउसे दाइ रमाइलो गर, लौ हिलो छयापेर’….
यस्तै–यस्तै असारे गीत गाएर सिर्जनशील स्रष्टा र युवायुवतीले दबदबे हिलोमा धान रोपाइँका विशिष्ट अनुभवहरू हासिल गरे । ‘देश दर्शन’को प्रमुख आयोजनामा राजधानीको थलीमा सम्पन्न रोपाइँ कार्यक्रममा खेत खन्ने, खेत सम्याउने, बिउ रोप्ने र पानी पटाउनेजस्ता आधारभूत कृषि कर्म सिकाइएको थियो ।
दबदबे हिलो माझमा आयोजित कार्यक्रममा देश दर्शनका संरक्षक वरिष्ठ निबन्धकार युवराज नयाँघरेले नयाँ पुस्तालाई खेती र श्रमको मूल्य बताउन यस्ता रचनात्मक कार्यक्रम उल्लेख्य हुने बताए ।
रोपाइँ कार्यक्रममा अध्यक्ष शम्भु सुस्केरा र अन्य पदाधिकारीहरू उत्तम भट्टराई, विदुर गिरी, राजीव खत्री, सन्तोषकुमार थापा, रूपा पाण्डेलगायतले देश दर्शनले समाज, संस्कृतिलाई चिनाउने कार्यक्रम निरन्तर रूपमा आयोजना गरिरहने बताए ।
सहभागीलाई हिलोमा छमछमी नचाउँदै विविध खेलको आयोजना गरिएको थियो । रोपाइँ कार्यक्रममा दही–चिउरा र अन्य नेपाली परिकार खुवाइएको थियो । झन्डै ४० जनाको सङ्ख्यामा लेखक, शिक्षक, स्काउटर, प्रहरी र विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा सचेतना ओपन स्काउट क््रयु र नेसनल ओपन स्काउट क््रयुको सक्रिय सहभागिता रहेको थियो ।

‘बेलप्रसाद’माथि नव्यकाव्य
श्री बेल नै प्रसाद हो, हिजो थियो र आज हो
उ भोलि हो, अनन्त हो, ऊ आदि हो र अन्त्य हो,
विकासको वसन्त हो, पुजारी–साधु–सन्त हो
विकास मूल मन्त्र हो, अत्याधुनिक यन्त्र हो ।
उल्लेखित पङ्क्ति काभ्रेका पहिलो महाकाव्यकार कविप्रसाद प्याकु-यालले धुलिखेलका विख्यात विकासप्रेमी समाजसेवक बेलप्रसाद श्रेष्ठप्रति श्रद्धाभाव प्रकट गर्दै रचना गरेका हुन् । आधुनिक धुलिखेलका परिकल्पनाकार एवम् त्यसलाई मूर्तरूप दिनमा सक्रिय भूमिका खेल्नुभएका अग्रज समाजसेवी बेलप्रसाद श्रेष्ठको ७५औँ जन्मदिवसका अवसरमा सर्जक प्याकु-यालले रचना गरेको ‘बेलप्रसाद’ (नव्यकाव्य)को धुलिखेलस्थित होटल हिमालयन होराइजनमा आयोजित एक विशेष कार्यक्रमबीच सार्वजनिकीकरण गरियो । शब्दयात्रा प्रकाशन परिवारले प्रकाशन गरेको सो नव्यकाव्यमा विकासपुरुष बेलप्रसादले गर्नुभएका समाजसेवाका समस्त विवरण तथा उहाँको जीवनीमाथि कवितात्मक वर्णन गरिएको छ । बेलप्रसादका सुपुत्र किरण श्रेष्ठले सो पुस्तक प्रकाशनमा सहयोगी भूमिका निर्वाह गरेका हुन् ।

युवा सर्जकहरू ‘पोयमाण्डु’मा
भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानद्वारा मासिक रूपमा आयोजना हुने ‘पोयमाण्डु’को १६औँ शृङ्खला गत शुक्रबार न्युरोड गेटस्थित नेपाल–भारत पुस्तकालयमा सम्पन्न भयो । पोयमाण्डुको यस शृङ्खलामा प्रतिभाशाली युवा सर्जकहरूले नेपाली, हिन्दी र अङ्ग्रेजी भाषामा कविता वाचन गरेर कविताप्रेमी स्रोताहरूलाई मन्त्रमुग्ध तुल्याए ।
यस शृङ्खलामा कविता वाचन गर्ने कवि तथा कवयित्रीहरूमा उज्जला महर्जन, प्रवीन बस्नेत काजी, उर्मिला पन्त पाण्डेय, सर्जु श्रेष्ठ, हेमन्तिका पालिखे, मुना निरौला, सन्जित भारती, प्रवीन तिवारी, विवेक अधिकारी ‘नेपाली’, राजीव प्रजापति, नसला चित्रकार, शुभाषिस पराजुली, रश्मी, मनोहर कर्ण र उमेश आचार्य थिए । युवा कवि–कवयित्रीका ऊर्जामय तथा उत्साहपूर्ण कविता आशा र सकारात्मक भावले ओतप्रोत थिए । खासगरी पुरुष सर्जकका कवितामा बढ्ता क्रान्तिकारी भावना र महिला सर्जकका कविता कोमलताले भरपूर प्रतीत हुन्थे ।
कार्यक्रमको अन्त्यमा बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका सचिव एवम् भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति प्रमुख अभय कुमारले आफ्ना सशक्त र सुन्दर कविता पोयमाण्डुमा उपस्थित भई वाचन गर्ने समस्त युवा सर्जकप्रति आभार प्रकट गरेका थिए ।