कांग्रेस महासमिति बैठक सार्ने तयारी

कांग्रेस महासमिति बैठक सार्ने तयारी


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक पछि धकेलिने भएको छ । यसअघि मंसिर पहिलो साताका लागि तय गरेको सो बैठक आवश्यक तयारी नपुगेको जनाउँदै कम्तीमा मंसिर अन्तिम साताका लागि सार्ने तयारी गरिरहेको बुझिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले विधान संशोधनको विषय नटुंगिएको भन्दै दुई सातासम्म बैठक सार्न अनौपचारिक संवाद थालेका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र आफूनिकट नेताहरूसँग मंसिरभित्र नयाँ मिति तोक्ने गरी बैठक सार्नेबारे छलफल गरेको नेताहरूले बताएका छन् ।

सभापति देउवाले महासमिति बैठकको नयाँ तिथि तोक्नका लागि १९ या २० गते केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी गरेका छन् । महासमिति बैठकमा पेस गर्ने प्रस्ताव केन्द्रीय समितिले पारित गर्नुपर्छ । तर शीर्ष नेताहरु आआफ्नै काममा व्यस्त हुँदा न प्रस्तावका विषयमा छलफल भएको छ न त केन्द्रीय समितिको मिति तय हुन सकेको छ ।

कांग्रेस महामन्त्री शशांक कोइरालाका अनुसार प्राविधिक कारणले महासमितिको बैठक एकरदुई हप्ता पछाडि सर्ने सम्भावना रहेको हो । यसअघि महासमिति बैठक मङ्सिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने तय भएको थियो । बैठकमा पेस गर्ने राजनीतिक, आर्थिक तथा विधान मस्यादौसहितका प्रस्तावमाथि छलफल गर्न १०–१२ दिन लाग्नेछ । तर, विषयमा अहिलेसम्म छलफल भएको छैन ।

बिहीबार पूर्वमहामन्त्री प्रकाशमान सिंह निवासमा सभापति देउवा इतरका नेताहरुको भेला भयो भने यता सभापति देउवानिकटका नेताहरु पनि महासमिति बैठक, पार्टी विधानसहितका विषयमा धारणा बनाउन छलफलमा बस्ने तयारीमा छन् ।

महासमिति बैठकका बारेमा कसैले मुख नखोले पनि तोकिएको मितिमा बैठक हुने सम्भावना नरहेको नेता गगन थापाको भनाइ छ ।