अमेरिकामा पनि उस्तै नेपाली प्रवृत्ति– सानुबाबु सिलवाल

अमेरिकामा पनि उस्तै नेपाली प्रवृत्ति– सानुबाबु सिलवाल


bichar‘भाइ फुटे गवार लुटे’ भनेजस्तै अमेरिकामा नेपाली समाज आफ्नैहरूसँग लड्ने, जुध्ने, लछार–पछार गर्ने, मुद्दा–मामिला गर्ने, एउटाको अस्तित्व अर्कोले स्वीकार नगर्ने, भ्याए र पाएसम्म खुट्टा तान्ने तथा ईष्र्या गर्ने प्रवृत्तिका कारण विभाजित बन्दै आएको छ । यही कारण अमेरिकामा नेपालीहरूबीच सद्भाव र प्रगति छायामा परेको महसुस भएको छ ।
नेपाललगायत संसारका अन्य भागमा रहेका नेपालीले अमेरिकामा रहेका नेपालीलाई फरक ढङ्गले हेरिरहेका छन् । अमेरिकामा रहेका नेपाली विवेक, प्रविधि, शिक्षा, क्षमता र क्रियाशीलताका पक्षमा सधैँ अग्रणी छन् भन्ने भान पर्नु स्वाभाविक पनि हो । एक–दुईवटा पक्षबाट यस सोचाइमा यथार्थता पनि छ । तर, सोचाइ र व्यवहारमा भने फरक छ । हामी नेपालीको जन्म नेपालमा आफ्नै संस्कारमा भयो । हामी एउटा संस्कारमा हुक्र्यौं । तर, समयक्रममा संसारकै लागि अवसर रहेको, स्वतन्त्रता र प्रविधिको प्रजातान्त्रिक मुलुक अमेरिकामा आयौँ । बस्दै जाँदा समयको अन्तरालमा हाम्रा जीवनशैली परिवर्तन भए । तर, हाम्रा प्रवृत्तिमा भने कहिल्यै परिवर्तन आएन । बरु, खानै नखाने, काममा नजाने, नसुत्ने, तर आफ्नोभन्दा अरूकै ईष्र्यामा समय व्यतीत गर्ने प्रवृत्ति अत्यन्त दु:खदायी रूपमा अमेरिकामा हामीबीच देखापरेको छ ।
अमेरिकामा सेवा–सुविधा प्रयोग गरेबापत बिल नतिरे जीवनशैली बर्बाद हुन बेर लाग्दैन । बिल तिर्नका लागि काम गर्नैपर्छ । बाँकी रहेको समय सप्ताहन्त हो । नेपालीको सप्ताहन्तको समय भेटघाट तथा भोजभतेर कार्यक्रममै अधिक खर्च हुने गरेको छ । अमेरिकामा विभिन्न नेपाली सङ्घ–संस्थामा आबद्ध पदाधिकारीको सङ्ख्या झन्डै आठ सयको हाराहारीमा रहेको छ । उनीहरूको काम संस्था खोल्ने, त्यसको पदाधिकारी बनेर कार्यक्रमहरूमा उपस्थिति जनाउने, नेपालमा सम्पर्क गरी रवाफ बढाउने र फेसबुकमा बडप्पन देखाएर स्टाटस लेख्नेमै सीमित बनेको छ । एक–अर्काबीच वैमनश्यता, ईष्र्या र डाह मात्रै नभएर नेपालबाट आएका नेता तथा सामाजिक क्षेत्रका व्यक्ति–व्यक्तित्वसमक्ष आफ्नो पहुँच बढाउन पनि अमेरिकामा रहेका नेपाली संस्थाका पदाधिकारीहरू बढी नै क्रियाशील हुने गरेका देखिन्छन् ।
अमेरिकामा नेपालीले फाट्टफुट्ट रूपमा आर्थिक प्रगति र सफलता हात पारेका पनि छन् । त्यही सफलतालाई कडीका रूपमा प्रयोग गर्दै पदबिना बाँच्नै नसक्ने र पदका निमित्त ज्यान फाल्ने प्रवृत्ति केही व्यक्तिविशेषमा देखिने गरेको छ । अमेरिकामा नेपालीको लगानीका साथै शिक्षा, स्वास्थ्य, प्रविधि र राजनीतिलगायतका क्षेत्रमा नेपालीको पहुँच बढाउने र यहाँको प्रणालीभित्र प्रवेश गर्न थुप्रै सम्भावना र अवसर पनि छन् । नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गरी अमेरिकामा नेपाली समुदायको पहुँचलाई अमेरिकी प्रणालीभित्र पु-याउने प्रयास र प्रतिबद्धताभन्दा पनि आफ्नो पहुँचलाई प्राथमिकता दिने गरेको विडम्बनायुक्त अवस्था छ ।
अमेरिकामा मुख्यत: नेपाली संस्थाहरूको अधिकांश समय भोजभतेर, चाडपर्व, नाचगान र आफ्ना स्वार्थसिद्धिका निमित्त मात्रै व्यतीत भएको महसुस विगतले गराएको छ । सबै मिलेर आफ्ना समस्या समाधनार्थ लागिपर्ने, अवसरलाई द्रूतगतिमा अघि बढाउने, नयाँ र पुराना पिँढीको अवस्था र सम्भावना अध्ययन गर्ने, नेपालीका सांस्कृतिक मूल्य–मान्यताका साथै यहाँ हाम्रो योगदान र उपस्थितिको पहिचानलाई प्रवद्र्धन गर्न तल्लीन हुनुपर्नेमा मारामार, लडाइँ, झगडा र एक–अर्कालाई समाप्त पार्नेजस्ता फोहोरी खेलहरू नेपाली समाजभित्र व्याप्त छन् । संसारकै दाँजोमा उच्च सुशासन भएको प्रजातान्त्रिक मुलुकमा बस्ने तर विधि तथा प्रक्रियालाई बुझ्न नचाहने र ‘आफ्नो गोरुको बाह्रै टक्का’ भनेजस्तै आफू भए ‘जिन्दावाद’ र नभए ‘मुर्दावाद’ भन्ने प्रवृत्ति नेपाली समाजमा देखिएको छ । क्षमता, व्यक्तित्व र क्रियाशीलतालाई अवमूल्यन गरी संस्थाको संरचना र भूमिका आफूअनुकूल बनाउने तथा आफूबाहेक अरूबाट संस्थाको विकास असम्भव रहेकोजस्ता व्यवहार र कर्मले भ्यागुताको धार्नी पुग्नेछैन ।
हाम्रो केन्द्रबिन्दु भनेको नेपालीको हक–अधिकार, योगदान र क्षमतालाई पहिचानको रूपमा स्थापित गरी समृद्ध नेपाली समाजको कल्पना हो । विधिमा व्यक्ति गौण हुन्छ । अमेरिकामा रहेका नेपाली सङ्घसंस्था, हामीले सिकेका पक्षहरू र हाम्रा प्रवृत्तिभन्दा अमेरिकी समाज र संरचना ठ्याक्कै उल्टो छ । अमेरिकामा रूखमा डलर फल्छ, रूखबाट डलर वर्षिन्छ र जसरी पनि त्यो डलर तान्नुपर्छ भन्ने र सामाजिक कार्यका नाममा थाल थाप्नेहरू पनि प्रसस्तै छन् । तर, अमेरिकामा डलर छाप्न त्यति सहज र सजिलो पक्कै छैन । त्यसका लागि कडा परिश्रम र व्यक्तिगत क्षमता आवश्यक छ । हाम्रो भविष्यको लडाइँ, केन्द्रबिन्दु र कार्ययोजना भनेको अमेरिकामा रहेका नेपालीको समस्या र अधिकारलाई मध्यनजर गर्दै उनीहरूको विकास, प्रवद्र्धन र आर्थिक समृद्धि उँचो तुल्याउनु नै हो । यसका लागि गर्नुपर्ने काम थुप्रै छन् । यसका लागि सहकार्यता, फराकिलो छाती या सङ्कुचित भावनाको परित्याग र यहाँ योगदान एवम् क्षमता भएका नेपालीको प्रोत्साहन गर्दै तिनका भूमिका खोज्नु नै महत्वपूर्ण हुनसक्छ । त्यसो भएमा हामीसँग भएका सफलता, ज्ञान र बुद्धि यहीँ रहेका नेपालीको प्रवद्र्धनका साथै मातृभूमि नेपालको विकासमा यथोचित सहभागिता हुन सक्दछ । बुद्धि र क्षमताभन्दा व्यक्तिगत स्वार्थ सिद्ध गर्ने मनोवृत्ति त्याग्न सकिएन भने नेपालीको विकासभन्दा अन्ततोगत्वा हामीले हाम्रो पहिचान नै गुमाउने निश्चित छ ।
सिकेका, जानेका र भ्याए वा सकेसम्म सहयोगी बन्न सक्नु नै नेपाली समाजप्रति ठूलो योगदान ठहरिन सक्छ । दु:खी, गरिब, असहाय र सहयोगको अपेक्षा गरेका नेपालीलाई सक्दो लुट्ने, एक डलर सहुलियत नदिईकनै पैसा कमाउने र व्यवसाय गर्ने तर अहिले नाम र प्रतिष्ठाका लागि समाजसेवा गर्न अग्रसर हुने मानसिक विक्षिप्त पक्षहरूलाई नचिने हामीले व्यावसायिक संस्थाका लागि उचित व्यक्ति छनोट गर्न सक्तैनौँ । त्यसबेलासम्म जस्तोसुकै संस्था भए पनि समुच्च नेपाली प्रतिनिधिका लागि गलत व्यक्तिको नेतृत्व हुन सक्तैन । यस्तो विडम्बनापूर्ण अवस्था अन्त्य भए मात्रै अमेरिकामा नेपाली संस्था र व्यक्तिबाट नेपालीका लागि केही अपेक्षा गर्ने ठाउँ रहन्छ ।
(लेखक अमेरिका–नेपाल व्यवसायी सङ्घ र अमेरिकन चेम्बर अफ कमर्ससम्बद्ध व्यवसायी हुन् ।)