– दामोदर पौडेल
संयुक्त राज्य अमेरिका र सन् १९९० सम्मका यसका सहयोगीको कारणले नै विश्व एकदलीय तानाशाही व्यवस्थाको चङ्गुलमा पर्नबाट बचेको सर्वविदित नै छ । आफूलाई ‘गरिबका मसिहा’ ठान्ने तत्कालीन कम्युनिस्ट सोभियत रुसले गरिब तथा सर्वहाराका नाममा उनीहरूलाई दास बनाएर जनविरोधी एकदलीय तानाशाही व्यवस्थाको नेतृत्व गरेको थियो, जस्तो अहिले उत्तर कोरियाले त्यसैको प्रतीकका रूपमा काम गरिरहेको छ ।
कहिल्यै नसकिनेजस्तो देखिएको एकदलीय तानाशाही व्यवस्थालाई विश्वमा फैलनबाट रोक्न अमेरिकाले सहयोगीहरूको साथ लिएर जुन कार्य ग-यो, त्यसका लागि अमेरिकाप्रति विश्व जनमानस ऋणी छ । कहिल्यै उम्कन नसकिने तानाशाही व्यवस्थालाई विश्वमा फैलनबाट उसले रोकिदिँदा नै हाम्रा सन्तान–दरसन्तान मानसिक रूपमा दास हुनबाट बचेका हुन् । नेपाल पनि सम्भावित रूपमा त्यो अमानवीय पाटोको ऊर्जाभूमि थियो । अमेरिकाकै कारणले रुसमा मिखायल गोर्भाचोभ जन्मन सम्भव भयो र ग्लास्त्नोभ र पेरेस्त्रोइका (खुलापन र स्वतन्त्रता)लाई उनले जन्माए । सायद अमेरिकाले साम्यवादी दलहरूको विरुद्धमा अडान नलिएको भए विश्व नै कम्युनिस्ट पार्टीमय हुने थियो । ज्यान जोगाउन र ब्रेनवास भएकाले अन्याय गर्ने कम्युनिस्ट नेताहरूको जयजयकार हुने थियो । भलै गरिबहरू भोकमरीको कारणले जीवनबाट हात धुन्थे, नेताहरू सुविधा भोगिरहेका हुन्थे ।
त्यस्तो अवस्थामा गोर्भाचोभको पनि उदय हुन सक्ने थिएन । सोभियत रुस र चीनबाहेक विश्वको कुनै पनि कम्युनिस्ट देशमा गोर्भाचोभहरू जन्मनै सक्ने थिएनन्, किनभने सबै अन्य कम्युनिस्ट देशहरूमा उनीहरूको हैकम थियो । नत्र मजदुर नेता लेक वालेसाको नेतृत्वमा पोल्याण्डमा सबैजसो जनता कम्युनिस्टविरोधी हुँदासमेत किन कम्युनिस्ट व्यवस्था गएन ? प्रस्ट छ– बीपीले तानाशाहको बारेमा भनेजस्तै कम्युनिस्टका तीखा तरबाररूपी प्रमाणहरूले जनताको सातो लिएर वा मारेर रुसको हस्तक्षेपमा पोल्याण्डसमेतका देशहरूमा कम्युनिस्ट व्यवस्था बचाइएको थियो । यसलाई प्रस्ट गर्न सिरियाका पूर्वराष्ट्रपति हाफिज अल् सादात र लिभियाका नेता कर्णेल कद्दाफीका भनेका एकैप्रकारका भनाइ काफी छन् । उनीहरूले भनेका थिए कि अमेरिकाले आफूहरूलाई दु:ख दिए उनीहरू वार्साको शरणमा जानेछन् र पछि चाहेर पनि उनीहरू अमेरिकाको मित्र बन्न सक्ने छैनन् । त्यस्तै भनाइ टिटोको पनि थियो । उनका अनुसार कम्युनिस्ट व्यवस्था आएपछि संयन्त्र नै यस्तो हुन्छ कि त्यो व्यवस्था नराम्रो लागेर पनि त्यसैका नेताले समेत त्यसलाई फाल्न सक्दैनन् । अतिवादी धर्ममा पनि त्यस्तै हुन्छ । तर, गोर्भाचोभ अपवाद भए र महान् उदाहरण भए ।
गोर्भाचोभ वास्तवमा माक्र्सभन्दा धेरै महान् छन् । गलत विचारले संसारलाई बिगार्ने भन्दा त्यसलाई सच्याउने महान् हुन्छ । नेपालका केही कथित दिपहरू ब्रेनवास भएकाले सुधारिएको कम्युनिस्ट पार्टीका केन्द्रीयस्तरका नेता भए पनि माक्र्सका मुल विचारलाई छोडेर उनले कतै कुनै प्रसङ्गमा भनेको कुरालाई आधार लिएर उनी निजी स्वतन्त्रताको पक्षमा थिए भन्ने गरेका पनि छन् । यो सत्य होइन । माक्र्स तानाशाही सोचका थिए । उनले सम्पत्तिको अन्त्य, परिवारको अन्त्य, सञ्चार र यातायातमा समेत राज्य वा कम्युनिस्ट पार्टीको हस्तक्षेप चाहेका थिए भन्ने त कम्युनिस्ट पार्टीको घोषणापत्रले नै प्रस्ट गर्दछ । नेत्र घिमिरेहरूको सालिक एमालेले बनायो । उनीहरू कथित वर्गशत्रु मार्ने अभियानअन्तर्गत मानिसका घाँटी छिनाल्न सक्रिय भएपछि त्यो जघन्य कार्य रोक्न सरकार लागिपर्दा मारिएका थिए । यस कार्यको एमाले सम्मान गर्छ भने माओवादीभन्दा उ कुन कारणले कम आतङ्ककारी भयो त ? फरक यति हो कि एमालेले हिंसा फैलाउन पाएन तर माओवादीले हिंसा फैलाउन सक्यो । नीति त माओवादीको भन्दा एमालेको बढी नरभक्षी हो ।
आज रुस कम्युनिस्ट होइन, लोकतन्त्रको पक्षमा कतिपय कमजोरीका बाबजुद अगाडि बढिरहेको छ । त्यसको नेतृत्व बोरिक एल्तसिनपछि पुटिनले गरिरहेका छन् । १५ वटा राज्य वा राष्ट्रहरूको समूहको रूपामा रहेको सोभियत रुस विश्वको शक्तिशाली राष्ट्र थियो । लोकतन्त्रसँगै कम्युनिस्टहरूले राष्ट्रियताको आत्मालाई कमजोर बनाएको सोभियत रुसलाई डोरीले जबर्जस्ती बाँधिएकोमा डोरी चुँडियो र फुत्कियो वा फुट्यो । सोभियत रुस टुक्रा–टुक्रा भयो । यद्यपि यसमा बाहिरी कारण पनि छन् । तर, कम्युनिस्टहरूले जेमा पनि दोष अरूलाई दिने गरेजस्तो भने होइन । कम्युनिस्टहरूको कारणले जनता सन्तुष्ट भएको भए र जनतालाई चित्त बुझाएको भए उनीहरू मिलेर नै बस्ने थिए होला । कमजोरी नभई अरूले धावा बोल्न सक्दैन र आफ्नो कमजोरी नबुझ्नु र त्यसलाई महसुस नगर्नु तथा नसुर्धानु, तर दोष अरूलाई मात्र दिनु भनेको जँड्याहा र पत्नी पिट्ने पतिले पत्नीले दोस्रो विवाह गरेमा दोस्रो विवाह गर्ने पुरुष खराब भनेजस्तै हो । कुटपिट गर्ने र घर चलाउनमा बेवास्ता गर्दा पनि पतिसँग बस्ने महिलाको उदाहरण दिएर गलतलाई ठीक भन्न सकिँदैन । उत्तर कोरियासमेतका कम्युनिस्ट देशका बाध्यताजस्तै कतिपय महिलाका बाध्यता हुन सक्छन् । जाँडरक्सीको एडिक्ट भएर अरूलाई सताउनु नराम्रो हो । त्यस्तै कम्युनिस्ट हुँ भनेर आफ्नो कुरा मात्र ठीक भन्ने या ‘मानिस मारे पनि, सम्पत्ति लुटे पनि, विकास तहसनहस पारे पनि छुट हुनुपर्छ, किनकि यो सिद्धान्तको लडाइँ हो’ भन्ने हो भने त डाका र ज्यानमाराहरूले सङ्गठन बनाएर विभिन्न राम्रा कुरा उल्लेख गर्दै यो हाम्रो राजनीतिक सङ्गठन हो र यसले लुटेको र असहयोग गर्नेहरूलाई मारेको रकम पछि देश र जनताका लागि लगाइन्छ भन्दै राज्यबाट छुट लिए भयो । के कम्युनिस्टहरूको चरित्र यही होइन ? कम वा बेसी मात्र हो । एमालेले पूर्वअवस्थामा झापामा मानिस मार्दै हिँडेको हो । अहिले त्यसलाई बेठीक भनेको छ । नेत्र घिमिरेहरू मानिस मार्ने नीतिबाट उचालिँदा मारिएका थिए, तर उनीहरूलाई सहिद भनेर सालिक बनाउने काम एमालेले गरेको छ । त्यसैले कम्युनिस्टहरूमा कुन कति खराब भन्ने परिस्थितिमा भरपर्ने विषय रहेछ । उनीहरू आफैँले होइन परिस्थितिले उनीहरूलाई कम खराब बनाउने भन्नेसम्म हो । अर्थात् भागशान्ति लालसलाम । यो संस्थागत आधारलाई धेरै हदसम्म रुसका गोर्भाचोभ, एत्सिन, पुटिनसमेतले मिलेर भत्काएका हुन् ।
यसो भनिरहँदा यो पङ्क्तिकारलाई कम्युनिस्ट साथीहरूले कम्युनिस्ट विचारको किन यतिविधि विरोध गरेको, तँ आफैँ कम्युनिस्ट हुँ भन्छस् तर काङ्ग्रेसलाई सघाउँदछस् भन्ने गर्दछन् । के कम्युनिस्टहरूलाई मानिस मार्ने छुट, सम्पत्ति तहसनहस पार्ने छुट, राज्यले अनुमति नदिएको टीभी च्यानल हेरेकाले ८० जनालाई सडकमा लगेर मार्ने छुट (उत्तर कोरियमा) जस्ता लाखौँ नाजायज छुट मिल्ने तर हामीलाई त्यसको विरोधसम्म गर्ने पनि छुट नहुने ? त्यो अमानवीय छुटलाई रुसी भूतपूर्व कम्युनिस्टहरूले धेरै हदसम्म भत्काए, हामीले मात्र आफूले देखेको सत्य बोलेको हो र त्यसलाई निष्पक्ष भएर मूल्याङ्कन गर्नु भनेकोसम्म हो । त्यसै मूल्याङ्कनमा रुसले विश्वलाई त्यो तानाशाही जगजगीबाट बचायो भन्ने हो । यसका लागि त्यहाँका जनता र नेतालाई धन्यवाद दिनैपर्छ । तर, अहिले त्यस्तो रहेन । रुसले गरेको यो ठूलो योगदानलाई अहिले पनि कमजोरी मानियो ।
रुसलाई अहिलेसमेत कम्युनिस्ट सर्वभक्षीको जस्तो व्यवहार गरिँदै छ । त्यो देशमा कम्युनिस्टहरूको सङ्ख्या लगभग १५ प्रतिशत मात्र छ । त्यो देशलाई अझ लोकतन्त्रको पक्षमा मजबुत हुन सहयोग गर्नुपर्ने थियो । रुसलाई टुक्रनका लागि कुनै जनमतसङ्ग्रह चाहिएन । पश्चिमा राष्ट्र र अमेरिकाको हावामा त्यो देश टुक्रियो । त्यसलाई ती देशले चाहेको भए नटुक्रने अवस्था पनि आउन सक्ने थियो । एक सबल लोकतान्त्रिक राष्ट्र रुस बन्नु भनेको लोकतन्त्रका लागि अमेरिका र रुस मिलेर अगाडि बढ्नु पनि हुने थियो । यदि रुस नटुक्रेको भए तियानमेनचोकको अमानवीय व्यवहारपछि चीनमा पनि लोकतन्त्र आउने ग्यारेन्टीजस्तै थियो । तर, लोकतन्त्र दिँदा कम्युनिस्टहरूले राष्ट्रियता खोक्रो बनाएकाले देश टुक्रन सक्ने भएकाले नै उनीहरू तर्सिए । चीनबाट पनि कम्युनिस्ट व्यवस्थाको अन्त्य भएको भए विश्वमा अहिले कम्युनिस्ट विचार एउट विचारको रूपमा मात्र रहने सम्भावना थियो । यसको जिम्मेवारी अमेरिका र पश्चिमा राष्ट्रहरूले लिनुपर्ने कि नपर्ने ? अहिले बिनालगामका विश्वका विभिन्न भागका विद्रोहीहरूलाई अमेरिका र रुसले अलगअलग पक्षबाट हातमा लिएर कतिपय समस्या समाधान गरिन पनि सक्ने थियो । हुन त सोभियत सङ्घ राष्ट्रहरूको स्वेच्छिक सङ्गठनजस्तो थियो । तर, व्यवहारमा त्यो एउटा देश थियो । यो देश बनाउने क्रममा केही वा धेरै गल्ती भएका थिए होलान् वा थिए । त्यो राष्ट्र त्यो अवस्थामा पनि करिब एक मानिसको जीवन जति नै रहेको थियो । सबै इतिहासका गल्तीमा मात्र हेर्ने हो भने विश्व रगतको खोलो बग्ने स्थान हुन पुग्दछ । नेपालले पनि चीनलाई कुनै समयमा हराएको थियो के नेपालले अब चीनको भूभागको दाबी गर्ने ? भारतको गंगाको किनार र पाकिस्तानको सतलजसम्म नेपाल पुगेको थियो, के अब यो नेपाल हुन सम्भव छ ? नेपाल एकीकरणभन्दा पहिला बाइसे–चौबीसे राज्य थिए भनिए पनि यहाँ हजारौँ भुरे–टाकुरे राज्य थिए । के त्यसै अवस्थामा यो देशलाई लैजाने ? भारत, पाकिस्तान, बंगलादेशहरूसमेत विश्वका धेरै देशको हैसियत यस्तै थियो । एकपटक भरतले राज्य गरेको देश अहिले बर्मा, बंगलादेश, भारत, भुटान, नेपाल, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र एक हदसम्म केही तिब्बत पनि पर्दछ । के भारतले अहिले त्यही दाबी राख्न सम्भव छ ? त्यसैले सबै कुरा भाषण र गफको आधारमा निर्धारित हुँदैनन्, यिनलाई धरातलीय यथार्थमा बुझ्न आवश्यक छ । धरातलीय यथार्थ नबुझ्नु र जनतालाई दिग्भ्रमित पार्नु भनेको स्तरीय गफडीको भूमिका निभाउनुजस्तै हो ।
सोभियत रुस अलग हुन जनमतसङ्ग्रह किन भएन ? अन्तर्राष्ट्रिय कानुन र संस्थाहरूको समर्थनमा आधारित जनमतबिना नै त्यो देशबाट धेरै देश बन्न मिल्ने तर क्रिमियासमेतमा जनमतको आधारमा करिब ९८ प्रतिशत जनताले रुसमा मिसिन चाहँदा वा अलग राष्ट्रको रूपमा रहन चाहँदा पनि नपाउने ? के यो न्यायपूर्ण हो ? यसो गर्न दिएमा विश्वका अन्य देशमा पनि त्यो रोग लाग्न सक्दछ भन्न सकिएला । तर, सत्य त्यो होइन, सोभियत रुसबाट अलग भएका देशहरू कुनै वैधानिक औचित्य र कुनै कानुनी औपचारिकताबिना अलग भएकाले जनताको निर्णय गर्ने अधिकारको कानुनी औचित्य सकिएको छैन । त्यसकारण पनि रुसमा मिल्न चाहनेहरूले कमसेकम एकपटकका लागि मौका लिएर रुसमा मिल्न पाउनु उनीहरूको अधिकार हो । अर्थात् कहिल्यै ती जनतालाई तिमीहरू रुसमा बस्छौ कि अमूक छुट्टिएको देशमा बस्छौ भनेर जनमतबाट नसोधिएकोले रुसमा बस्ने उनीहरूको अधिकार सुरक्षित छ । देश टुक्रन हुँदैन, तर टुक्रने अवस्था आउँदा जो जता बस्न चाहन्छ उसलाई एकपटक त्यो अधिकार दिन आवश्यक छ ।
दुई जर्मन एक भएका हुन् । दुई कोरिया पनि उत्तर कोरियाबाट कम्युनिस्ट व्यवस्था हटेमा तुरुन्त एकीकरण कसैले रोक्न सक्दैन । युगोस्लाभिया टुक्रा–टुक्रा भएको छ । पकिस्तान पनि टुक्रेको हो । यस्ता धेरै उदाहरणबीच क्रिमियाको बारेमा पनि सोच्ने कि एकोहोरो रूपमा रुसकै गल्ती मात्र देख्ने ? वास्तवमा विश्वव्यापी मान्यताका आधारमा एकीकृत र बलियो रुस लोकतन्त्रको पक्षको अर्को राम्रो सहयोगी शक्ति हुने तथ्यकाबारे लोकतन्त्रवादी सभ्य राष्ट्रहरूले सोच्न आवश्यक छ ।
प्रतिक्रिया