एकपटक कामको सिलसिलामा केही व्यक्ति गाउँतिर गएछन् । समूहमा रहेकामध्येका एकको बाटैमा पर्ने स्थानीय राजनीतिकर्मीको परिवारसँग नाता–सम्बन्ध रहेछ । भेटघाटका लागि पसेका उनीहरूलाई खाजा खानका लागि घरभित्र डाकिएछ । खाने क्रममा तिनका साथीहरूसँग पनि परिचय भयो । तीमध्ये एकले आफ्नो थर बताएपछि घरका मानिसले सोधेछन्, ‘तपाईं दलित हो र ?’ उनले ‘हो’ भनेछन् । त्यसपछि बडो अप्ठ्यारो मान्दै त्यो घरका मानिसले होइन होला… को शैलीमा साँच्चै हो भनेर फेरि सोधेछन् । हो, भन्ने कुरामा पुगेपछि सँगै गएका ती नातेदारसँग तिमीले यसो गर्लाऊ भन्ने सोचेको पनि थिइनँ भन्दै बदलाकै भावनामा कुरा गरेछन् । साथमा रहेका ती दलित युवालाई नरमाइलो लाग्नु स्वाभाविक थियो । दलित भएर जन्मनुमा आफ्नो कुनै दोष नभएको र दलित हुनु कुनै ह्युमिलिएसनको कुरा होइन भन्ने जान्दाजान्दै पनि उनले त्यस प्रकारको परिस्थितिलाई चुपचाप सहनुप-यो । यो दोलखाको घटना हो । यसप्रकारका घटना हिजोआज जताततै भेट्न सकिन्छ । दोलखाकै विष्णु मिजारले एउटा घटना सुनाए– गाउँमा एक क्षेत्रीको छोरीको विवाह भएछ, दलितलगायत सबै गाउँलेलाई निम्ता गरिएछ । छिमेकी एक दलितले आफ्नै आँखाअगाडि हुर्किएकी छोरीसमानकी ती दुलहीलाई गाग्री नै गोड्धुवा हाल्ने सोचेछन् र बोकेर गएछन् । दुलहीका परिवारले गोड्धुवा यहीँ छोडे हुन्छ भनेछन्, तर तिनले होइन म दुलाहा र दुलहीलाई टीका लगाएरै गोड्धुवा दिन्छु नि भनेछन् । गोड्धुवा गतिलै भएकाले तिनले टीका लगाउन त दिए तर टीका लगाइसकेपछि भने दुलाहादुलही दुवैलाई नुहाइधुवाई गरेर मात्रै भित्र हुलेछन् । दलित भनेर यसरी छोइछिटो गर्ने चलन गाउँमा अद्यापि कायम छ । जसले शिक्षित दलितहरूमा हीन भावना मात्र जगाएको छैन आक्रोश पनि पैदा गर्ने गरेको छ । एक माओवादी नेतृले भने छोरीले दलितसँग विवाह गरेपछि हामी कम्युनिस्टहरू जातपात मान्दैनौँ भन्दै छोरीज्वाइँलाई भित्याइछिन्, तर उनीहरू फर्किएपछि बाहुन बोलाएर पूजापाठ गरेर घर चोख्याएछन् । दलित र गैरदलितबीच कुनै प्रकारको भेदभाव गर्न हुँदैन भनी चुनावको वेला भाषण गरेर दलित समुदायको भोट तान्ने गरेकाहरूले चुनावपछि विभेदकै व्यवहार गरेका उदाहरण पनि धेरै रहेछन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घले गरेको नेतृत्व विकाससम्बन्धी एक कार्यक्रममा दोलखाको चरिकोट गएको बेला विभेदका यस्ता अनेक कहानी सुनियो, जुन आफू सानो हुँदा प्रत्यक्ष देखिएको पनि थियो । आफूले थाहा नपाउञ्जेल घरमा आएका बेला दलितलाई बाहिर दलानमा खाना दिँदा केहीजस्तो लाग्दैनथ्यो, तर जब बुझ्दै गइयो, किन यस्तो गरेको होला ? उनीहरू र हामीमा के फरक छ र ? भन्ने प्रश्न आफूभन्दा ठूलालाई दोहो-याइराखियो । वास्तवमा दलित र क्षेत्री–बाहुनबीच खासै केही फरक नै छैन । भाषा एउटै छ, अनुहार उस्तै छ । मंगोलियन भनेर जसरी हामी बाहिरी रूप हेरेरै चिन्छौँ, दलित या क्षेत्री–बाहुन भनेर रूप हेरेर र बोली सुनेर छुट्याउन सकिँदैन । सबै कुरा उस्तै हुँदा पनि दलितले भोग्नुपरेको विभेद दु:खद आश्चर्यको पराकाष्ठा हो । उस्तै रूप भएकै कारण मानिसले थर सुनेपछि मात्रै ‘ए तपार्इं दलित हो र ?’ भन्ने प्रश्न गर्ने परिस्थिति बनेको हो । क्षेत्री–बाहुन र दलितको जन्म तथा मृत्यु–संस्कार पनि उस्तै छ । फरकचाहिँ के हो भने दलितको घरमा जाँड–रक्सी बनाइन्छ, सुँगुर पालिन्छ, क्षेत्री–बाहुनको परिवारमा यी दुवै बर्जित छन् । यद्यपि यी कुरा खानबाट भने यी जात रोकिएका छैनन् । दलितको जन्म, मृत्यु, पूजापाठमा बाहुन चाहिन्छ र आफ्नै समुदायका बाहुनबाट कामकाज हुन्छ, तर पढिने शास्त्र भने केहीलाई छाडेर सबै उस्तै हुन् । साथै गैरदलितमा मात्र नभएर दलित–दलितभित्र पनि चरम विभेद छ । जसलाई हटाउनु दलित आन्दोलनका लागि चुनौती नै बनेको छ । तर, शिक्षा र चेतनाको उज्यालोसँगै विभेदका पर्खाल भत्किँदै गएका छन् । दलित वर्गको शैक्षिक तथा आर्थिक उन्नतिसँगै यसप्रकारको खाडल पुर्न सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । मानिसमा भएको सीप र क्षमताले पनि यसप्रकारका खाडल पुर्न ठूलो मद्धत गर्ने रहेछन् । दलित समुदायका दुईजना व्यक्ति सँगसँगै गाउँकै गुरुङको घरमा गएका रहेछन् । ती दुईमध्ये एक बिजुली मर्मत गर्न जान्ने रहेछन्, उनको घरमा बिजुली बिग्रिएकाले ए कान्छा मेरो बिजुली के भयो हेरी दे त भन्दै गुरुङबाले उनलाई भित्र पसाएछन्, तर अर्का सीप नभएका व्यक्तिचाहिँ बाहिरै बस्नुपरेछ । यो पनि दोलखाकै एउटा गाउँको घटना हो । ‘काम चल्छ, सीप चल्छ, पानी चल्दैन’को एउटा उदाहरण यो पनि हो ।
दलित समुदायमाथि गरिएका यसप्रकारका विभेदका अनेक असरमध्ये प्रत्यक्ष असर अहिले हिन्दूधर्म–संस्कृतिमाथि परेको छ भन्न सकिन्छ । मुलुकका कतिपय स्थानमा रहेका मन्दिरमा दलितलाई प्रवेश निषेध थियो । कतिपय स्थानमा अहिले पनि मन्दिर प्रवेशमा रोक लगाउने कोसिस गरिन्छ । धेरै स्थानमा भने खुला भइसक्यो । हिन्दू धर्मग्रन्थहरूमा दलितले मन्दिर जान नमिल्ने कुरा कहीँकतै उल्लेख गरिएको छैन । तर, व्यवहारमा गरिएको यस प्रकारको विभेदले दलित समुदायका कतिपय व्यक्तिलाई अन्य धर्म अपनाउनमा उत्साह जगाउने काम ग-यो । अहिले क्रिश्चियन धर्ममा दलितहरूको व्यापक प्रवेश यसको एउटा उदाहरण हो । दोलखाका विष्णु मिजार कुनै समय आफ्नो समुदायका पुजारी थिए । अहिले पनि कुनै उदाहरण दिनुप-यो भने संस्कृतको श्लोकबाट सुरु गर्छन् । न्वारानदेखि पास्नी, ब्रतबन्ध, विवाह हुँदै मृत्युसंस्कारसम्मका सबै कुरा गराउनमा उनी पोख्त थिए । तर, समयक्रममा अहिले उनको हातमा बाइबल छ । उनी कुराकानीमा महाभारतको तर्क दिँदै मानिसहरूसँग बाइबलको वकालत गर्छन् । दलित समुदायका धेरै मानिस अहिले हिन्दूबाट क्रिश्चियन बनिसके, तर संस्कार, परम्परा मान्ने कुरामा भने बूढापाकालाई अझै अप्ठ्यारै रहेको उनी बताउँछन् । यस पङ्क्तिकारसँग उनले भने, ‘विशेषगरी मृत्युसंस्कारलाई स्वीकार्न उहाँहरूलाई गाह्रो भएको छ । क्रिश्चियन धर्ममा सेतो लुगा लगाएर तेह्र दिन बार्नुपर्दैन । यो कुरामा भने उहाँहरू सहज बन्न सक्नुभएको छैन ।’ दलितको गरिबी र उनीहरूमाथिको विभेदको फाइदा उठाउँदै धमाधम धर्म परिवर्तन गराउनेहरूप्रति कतिपय दलितहरू नै आक्रोशित रहेछन् । दोलखाकै एक युवाले भने, ‘विभेद भयो भनेर आस्था नै भत्काउने होइन, हामीले त विभेदलाई चिर्दै अघि बढ्ने हो ।’ हुन पनि समय परिवर्तन भइरहेको छ, हिजो मन्दिरमा पूजा गर्न रोक्नेहरू अहिले अप्ठ्यारो मान्न थालेका छन् । युवा जमातलाई के दलित, के गैरदलित खासै मतलब छैन । दलितको आत्मसम्मान वृद्धिका लागि गैरदलितको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले जसरी महिला समानताका लागि पुरुषको भूमिका महत्वपूर्ण हुन्छ त्यसैगरी दलित आन्दोलनमा गैरदलितको पनि सहभागिता आवश्यक छ ।
प्रतिक्रिया