‘महासमितिको बैठकबाट नेकाले नयाँ जीवन पाउने’

‘महासमितिको बैठकबाट नेकाले नयाँ जीवन पाउने’


नेपाली काङ्ग्रेसको अब बस्ने महासमितिको बैठकबाट काङ्ग्रेसले नयाँ जीवन प्राप्त गर्ने सो पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले दाबी गरेका छन् । मोरङको रतुवामाई नगरपालिकाको झुर्कियामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले काङ्ग्रेसका कार्यकर्तालाई आवश्यक जोशका लागि नेतृत्व तह एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले संविधान सफल कार्यान्वयन र सङ्घीयता व्यवस्थापन गर्नु नै काङ्ग्रेसको जिम्मेवारी रहेको बताए भने विगतको निर्वाचनको पराजयबाट पाठ सिकेर काङ्ग्रेसले आफूलाई परिमार्जन गर्दै जनताको बीचमा जानुपर्ने आवश्यकता औँल्याए ।

अर्का नेता केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले दुई तिहाइको बहुमतको सरकारले जन चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाए ।

नेपाली काङ्ग्रेस रतुवामाई नगर समितिका अध्यक्ष जीवन पनेरुको सभापतित्वमा भएको उक्त कार्यक्रममा रतुवामाई नगरपालिकाका प्रमुख रविन राई, नेका केन्द्रीय सदस्य डा. डीला सङ्ग्रौला, राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझी, प्रदेशका नेका सचेतक केदार कार्की, पूर्वमन्त्री दिलीप गच्छदार, नेका मोरङ सचिव मोदराज घिमिरेले पार्टीका केन्द्रीय नेतृत्वबीच एकता कायम हुनुपर्नेमा जोड दिएका थिए ।

कांग्रेसको महासमिति बैठक आगामी मंसिर पहिलो साता बस्ने जनाइएको छ ।

तस्बिर रासस