अलैँचीमा रोग लागेपछि किसान निराश

अलैँचीमा रोग लागेपछि किसान निराश


आम्दानीको मुख्य स्रोतको रूपमा रहेको अलैँचीमा रोग लागेपछि भोजपुरका कृषक निराश बनेका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैँची खेती सखाप भएको छ ।

विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेरसमेत कृषकले अलैँची खेती गरेका हुन् । केही वर्षयता रोगले अलैँची उत्पादनमा ह्रास आएको छ । अलैँचीमा रोग लागेपछि कतिपय कृषकले खेती गर्न छाडेका छन् । अलैँचीमा देखिएको रोग निदान गर्न सरकारले सहयोग गर्नुपर्ने कृषकको माग छ । कृषक चन्द्रबहादुर पाण्डे भन्छन्, ‘मुख्य बालीका रूपमा अलैँचीको खेती गर्दै आएका छौँ, विभिन्न रोगले खलैँची खेती संकटमा पर्दै गएको छ ।’

उत्पादन भएको अलैँचीले उचित मूल्य नपाउँदा कृषक झन् निराश बनेको भोजपुर नगरपालिका– ४ सिद्धेश्वरका महेन्द्रबहादुर राईले बताए । उनले आठ रोपनीमा अलैँची खेती गरेका छन् । ‘यस वर्ष अलैँचीमा फल नै लागेन । गाना कुहिएर सखाप भयो,’ उनले भने । अलैँची खेतीबाट अधिकांश कृषकले जीवनस्तर उकास्दै आएका थिए ।