मंगलबारदेखि सेयर कारोबार अनलाइन प्रणालीबाट हुने भएको छ ।
धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकका प्रवक्ता मुरहरि पराजुलीले अनलाइन कारोबार प्रणालीको सुरुवात गर्न लागिएको जानकारी दिए । सेयर कारोबार गर्न चाहने लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीकहाँ गएर कारोबारसम्बन्धी व्यक्तिगत विवरण खुल्ने खाता खोलेपछि घर, कार्यालय वा जुनसुकै स्थानबाट पनि सहजै कारोबार गर्न सक्नेछन् ।
स्टकले गत साउन १ गतेदेखि परीक्षण गरिरहेको पूर्ण स्वचालित अनलाइन प्रणालीमा धितोपत्र दलाल व्यवसायी सबै जोडिएका छन् । उनीहरूले आवश्यक भौतिक तयारीसमेत सबै गरिसकेका छन् । स्टकका प्रवक्ता पराजुलीका अनुसार सेयर कारोबारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान गरिएको हो ।
यसअघि सेयर कारोबार गर्न चाहनेले धितोपत्र दलाल व्यवसायीको कार्यालय अनिवार्य रूपमा नै जानुपर्ने बाध्यता रहेको थियो । नयाँ प्रणालीको जडानसँगै कारोबार गर्दै आएकाले दलालमार्फत ‘युजरनेम र ‘पासवर्ड’ प्राप्त गर्ने छन् । त्यसका लागि व्यक्तिगत विवरण उपलब्ध गराउनुपर्नेछ ।
व्यक्तिगत विवरणका लागि इमेल ठेगाना र मोबाइल नम्बर अनिवार्य गरिएको छ । पूर्ण स्वचालित अनलाइन प्रणालीको कार्यान्वयनसँगै सेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रूपमा बढ्दै जाने र सो प्रणाली नेपालको पुँजी बजारको कोसेढुंगा साबित हुने विश्वास स्टकले लिएको छ ।
प्रतिक्रिया