नेपाली कांग्रे्रेसका महामन्त्री डा. शशांक कोइरालाले आउँदो निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।
नेपाल प्रेस युनियन चितवनले आज चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोह कार्यक्रममा उनले जनताको रक्षा गर्न उभिने पार्टी भएकाले अबको निर्वाचनमा कांग्रेस ठूलो दल बन्ने दाबी गरेका हुन् ।
कार्यक्रममा उनले कांग्रेसको महासमिति बैठक सर्ने पनि बताए । महामन्त्री कोइरालाले महासमिति बैठकका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल नभएका कारण मिति सर्ने बताए । महासमिति बैठक एक हप्तादेखि १० दिनसम्म पछि सर्न सक्ने उनको भनाइ छ । महाधिवेशनमा कसलाई सभापति बनाउने भन्ने विषयमा साथीहरूसँगको रायअनुसार अघि बढ्ने महामन्त्री कोइरालाले बताए ।
कांग्रेस अहिले पनि शक्तिशाली पार्टी रहेको बताउँदै कोइरालाले भने, ‘नेकपा एमाले र माओवादी मिल्दा पनि कांग्रेस एक भएको अवस्थामा कांग्र्रेसलाई जित्न सक्दैनन् ।’ कम्युनिस्ट लोकतन्त्रमा विश्वास नराख्ने पार्टी भएको भन्दै उनले अगाडि भने, ‘अहिले आएको परिवर्तनका कारण उनीहरूमा परिवर्तन देखिएको हो, तर उनीहरू लोकतन्त्रवादी होइनन् ।’
फरक प्रसंगमा बोल्दै कोइरालाले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सीटी हल बन्न नदिने बताए । अस्पतालको गुरु योजनाअनुसार प्रतिष्ठान बनाउनुपर्ने भन्दै उनले पहिले नै जग्गा अपुग भएका कारण गैंडाकोटमा आवासगृह बनाइएको स्मरण गराए । उनले भने, ‘यस विषयमा म पुष्पकमल दाहालज्यूसँग छलफल गर्छु । यहाँ बनाउन उपयुक्त हँुदैन ।’
प्रतिक्रिया