पाठक मञ्च

पाठक मञ्च


pathakmanchराष्ट्रसेवक इन्जिनियरको रोचक आत्मसंस्मरण
आदरणीय अग्रज विद्युत् इन्जिनियर मोहनकृष्ण उप्रेतीले रचना गर्नुभएको ‘एक इन्जिनियरको बयान’ (आत्मसंस्मरण) पढ्ने मौका जु¥यो । पुस्तक पढ्दै जाँदा कतिपय कुरा वा सन्दर्भ आफ्नो भोगाइसँग पनि मिल्दोजुल्दो हुँदै जाँदा पढ्न सुरु गरेपछि एउटै बसाइमा पुस्तक समाप्त भएको पत्तै पाइएन ।
मोहनकृष्ण उप्रेतीसँग केही समय एउटै विभागअन्तर्गत कार्य गर्ने अवसर मलाई पनि मिलेको थियो । सुरुका दिनमा बाहिरबाट हेर्दा उहाँ ज्यादै कडा स्वभावका ‘हाकिम’ भएको भान हुन्थ्यो । तर, कामको सिलसिलामा गर्दै–भन्दै जाँदा उहाँ अत्यन्तै इमानदार, सरल, सभ्य, शिष्ट, भलाद्मी, आफ्नो क्षेत्रमा पोख्त, अनुभवी र स्पष्ट दृष्टिकोण भएको मान्छे मैले पाएँ ।
उहाँले यस पुस्तकमा आफ्नो तीसौँ वर्षको ऊर्जा क्षेत्रको भोगाइ अनुभव प्रस्तुत गर्नुभएको छ । जसबाट संस्थाभित्र रहेका विकृति–विसङ्गतिका साथै नेपालमा रहेका सरकारी सङ्घ–संस्थाहरू कसरी सञ्चालनमा रहेका छन् भन्ने मोटामोटी अनुमान गर्न सकिन्छ ।
प्रकाशित पुस्तक खासगरी नेपालको ऊर्जा क्षेत्रमा सरोकार राख्ने समस्त जिज्ञासुका लागि उपयोगी देखिन्छ । यसप्रकारको कृति नेपाली पुस्तक विधामा थपिदिनुभएकोमा उहाँ साधुवादका पात्र बन्नुभएको छ । मुलुकको भलो चिताउने यस्ता अनुभवी व्यक्तित्वबाट भविष्यमा अन्य उपयोगी पुस्तकको अपेक्षा गर्नु सान्दर्भिक ठहर्छ ।
– बद्री फोयाल, काठमाडौं

‘दैवी बरदान’ होइन मिहिनेतकै फल
असार ११ गते बुधबार प्रकाशित लोकप्रिय घटना र विचार साप्ताहिकमा प्रकाशित ‘किन अत्तालिए कपिलवस्तुका जिशिअ’ शीर्षकको मुक्तिनाथ भुसालको समाचारप्रति ध्यान आकर्षित भएकाले केही शब्द कोर्नु वाञ्छनीय लाग्यो । जनचेतना सामुदायिक माविको संस्थापक अध्यक्ष भएको नाताले मेरा मनमा लागेका कुराहरू प्रस्तुत गर्न चाहन्छु । पहिलो कुरा, हाम्रो विद्यालय तीनवटा प्रावि राहत दरबन्दीले धानेको अवस्था सोह्रैआना सत्य हो र हाम्रो १० वर्षसम्मको लगातार मिहिनेतको परिणामले यसपालिको एसएलसी (रेगुलर)मा जिल्लाकै पहिलो स्थानमा रहन सफल बने पनि रत्तिभर सन्तोष मिलेको छैन । जिल्ला शिक्षा कार्यालय तौलिहवा कपिलवस्तुको सहयोगको हामीले निरन्तर आशा–अपेक्षा राखे पनि एउटा दुईकोठे ब्लक र शौचालयबाहेक केही सहयोग पाउन नसकेको सम्बन्धित सबैमा ज्ञात रहेकै कुरा हो । स्थानीय सरोकारवाला बालबालिकाको पढाइलेखाइप्रतिको कर्तव्यपूर्ण चिन्ताबाट प्रेरित भएका हामीले जो–भएको म्यानपावरबाटै पनि आगामी वर्षमा सत्प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य राखेका छौँ । घटना र विचार साप्ताहिकले तीनजना प्रावि शिक्षकको भरमा सञ्चालित विद्यालयको परिणामलाई ‘दैवी बरदान’ भनेकोमा थोरै असन्तुष्टि जनाउँदै त्यो हाम्रै विद्यालय परिवारको कडा मिहिनेतको प्रतिफल भनेर बुझिदिए हामी आभारी हुने थियौँ । अन्त्यमा, समाजमा लुकेर बसेका विसङ्गतिका विरुद्ध घटना र विचार साप्ताहिक अझै सशक्त ढङ्गले अघि बढोस्, विद्यालय परिवार र मेरो व्यक्तिगत तर्फबाट शुभकामना ब्यक्त गर्दछु ।
– वासुदेव जमरकट्टेल, (संस्थापक अध्यक्ष, जनचेतना मावि)
लक्ष्मणपुर, शिवराज नगरपालिका–१२, कपिलवस्तु