कांग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग यथावत

कांग्रेसद्वारा संसदीय छानबिन समिति गठनको माग यथावत


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग दोहोर्‍याएको छ । कांग्रेस संसदीय दलको आज (४ जेठ) बिहान बसेको बैठकले सहकारीका बचतकर्ताको रकम सुरक्षाको ग्यारेण्टी गर्न, बचत हिनामिना भई पीडित बचतकर्ताको रकम फिर्ता गर्न र हिनामिनामा संलग्नमाथि छानबिन गरी कारवाही गर्ने सुनश्चितताका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग दोहोर्‍याएको हो ।

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले कांग्रेससहित सङ्घीय संसद्का अन्य दलले पनि समिति गठनको माग उठाएकाले समिति गठनको माग यथावत राखेको हो । बैठकले संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रुपले पुष्टी हुँदै आएको उल्लेख गर्दै संसदीय छानबिन समिति गठन गर्न पुनः माग गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

‘प्रतिनिधिसभाको बैठक सञ्चालनको विषयलाई हामी गम्भीरतापूर्वक हेरिरहेका छौँ । संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिन्छ’, उनले भने, ‘सभामुखले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित होइन ।’

file photo