संघीयता सफल बनाउने जिम्मेवारी सबैको : डा. कोइराला

संघीयता सफल बनाउने जिम्मेवारी सबैको : डा. कोइराला


नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले शुभकामना आदानप्रदानको माध्यमबाट आपसी तिक्तता र मतभिन्नतालाई त्यागेर अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् ।

कांग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित दशैँ, तिहार, नेपाल संवत, छठ, ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकलाई विकसित र समृद्ध बनाउन पार्टी–पार्टीबीच सौहार्दता हुन जरुरी रहेको उल्लेख गरे ।

उनले अहिले सरकार स्थिर छ, तर राजनीतिक अस्थिरता कायम रहेकाले यसलाई अन्त्य गरी सरकारले पाँच वर्षको कार्यकाल पूरा गरोस्् भनी शुभकामना दिए । मुलुकमा सुशासन, पारदर्शिता, दण्डहीनताको अन्त्य, भ्रष्टाचारको न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्नुपर्ने उल्लेख गर्दै कोइरालाले यसका लागि सहमति, सहकार्य र एकता आवश्यक रहेको बताए ।

संघीयता अब हट्न नसक्ने र यसलाई सफल बनाउने जिम्मेवारी सबैको रहेको भन्दै डा. कोइरालाले संघीय सरकारलाई छिटोभन्दा छिटो कानुन बनाएर प्रहरी, प्रशासनको जिम्मेवारी प्रदेश सरकारलाई दिन आग्रह गरे ।