एमाले महाधिवेशनको कटुपक्ष

एमाले महाधिवेशनको कटुपक्ष


sampadakeeyaझन्डै एक सातादेखि जारी नेकपा (एमाले)को नवौँ महाधिवेशनमाथि यतिबेला सिङ्गो मुलुकको ध्यान खिचिएको छ । पछिल्लो संविधानसभा निर्वाचनको परिणामअनुसार देशकै दोस्रो ठूलो दलका रूपमा स्थापित तथा वर्तमान सरकारको अहम् सत्ता–साझेदार भएकाले मात्र एमाले महाधिवेशनप्रति यति धेरै ध्यान तानिएको भने होइन । नेपाली काङ्ग्रेसजस्तो आफूलाई एकछत्र ‘प्रजातन्त्रको पर्याय’ मान्दै आएको र संसारले नै पत्याएको राजनीतिक दलको वैकल्पिक शक्तिका रूपमा विश्लेषकहरूले चित्रित गरिदिँदै आएको प्रसङ्गले मात्र पनि एमालेप्रति गैरएमाले पङ्क्तिमा यति धेरै रुचि जागेको होइन । आफूलाई कम्युनिस्ट सिद्धान्तको एक मात्र सच्चा उत्तराधिकारी दाबी गर्ने माओवादीको ओरालो लाग्ने उपक्रमले तीव्रता पाएको परिवेशमा एमाले नै अब नेपालका कम्युनिस्ट पार्टीहरूको निर्विकल्प अगुवा बन्ने कतिपय एमालेजनको दाबीका आधारमै त झन् हुँदै होइन । र, ‘साम्यवाद’को लक्ष्य परित्याग गर्दै पार्टीको नामसमेत फेरेर गैरकम्युनिस्ट पार्टीकै कित्तामा उभिन लागेको भन्ने चर्चाको कारण मात्र पनि एमाले महाधिवेशनमाथि आकर्षण बढेको होइन । एमालेका सन्दर्भमा अनेक रोचक–घोचक तथा गम्भीर खालका पनि यति धेरै किस्सा सुनिन्छन्, जसले यदाकदा त सामान्य राजनीतिक चेत भएका मानिसलाई यस पार्टीबारे पूरै दिग्भ्रमित तुल्याइदिन्छ । यस्ता यावत् विशेषताका कारणले मात्र नभई एमालेको नवौँ महाधिवेशन मूलतः पार्टीको भावी नेतृत्व चयनका सवालमा देखिएको निकृष्ट प्रतिस्पर्धा र यसबाट प्रत्युत्पन्न विसङ्गतिका कारण यतिबेला विशेष चर्चा र आकर्षणको सन्दर्भ बन्न पुगेको छ ।
एमाले शीर्ष नेतृत्वले एकता र अग्रगतिको महाधिवेशन भनी दाबी गरिरहेको परिवेशबीच नेतृत्व पाउनकै लागि तल्लो स्तरमा उत्रिएर अध्यक्षका प्रत्याशी उम्मेदवारका दुई खेमाबीच घोचपेच, आरोप–प्रत्यारोप र एकले अर्कोलाई खुइल्याउने यति निकृष्ट खेल सम्भवतः एमालेको इतिहासमै खेलिएको नहुन सक्छ ।
मुलुककै महत्वपूर्ण राजनीतिक दलको महाधिवेशनमाथि दुनियाँको ध्यान आकृष्ट हुने कारण नै जब स्वस्थ छलफल तथा बहस, नेतृत्व चयनको सरल तथा शालीन प्रयत्न, देश र जनताको स्तर उकास्ने सुन्दर एजेण्डा आदि नभई आपसमा कटुता हुर्काउने निकृष्ट शैली, गालीगलौज, आफ्नै झन्डा जलाउने, स्वागतद्वार भत्काउने, तोडफोडमा उत्रनेदेखि आमन्त्रित विदेशी पाहुनामाथि दुव्र्यवहारसम्मका घटना बन्न पुग्छन् भने एमालेजस्तो स्थापित दलका लागि योभन्दा विडम्बना अरू के हुन सक्छ ?
महाधिवेशनलाई राजनीतिक दलको भाग्य र भविष्य निर्माणको थलो भनिन्छ । तर, महाधिवेशनअघि नै नेतृत्व चयनको अस्वाभाविक एवम् नीतिभन्दा नेताकेन्द्रित अस्वस्थ होडबाजीले एमालेको आन्तरिक दूरावस्था दर्शाइदियो । तीव्र ध्रुवीकरणले सहमतिबाट नेतृत्व चयन हुने सम्भावना सुरुमै समाप्त पारेको अनुभूति पनि नगरिएको होइन, तर मानवीय संवेदनाको पूर्णतः उपेक्षा गर्दै नेताविशेषमाथि ‘रोगी’ भन्दै खनिनु र अर्का पक्षले इतिहासको कुनै सन्दर्भ उप्काएर ‘दाम चढाउने ढोँगी’ भनी कोकोहोलो मच्चाउनुको कमसेकम महाधिवेशनको अवसरमा कुनै प्रयोजन थिएन । ‘धनवाद र गनवादविरुद्धको लडाइँ’ भन्नेजस्ता शब्द प्रयोग गरिनुको दीर्घकालिक परिणती सामान्य वा सहज हुन सक्छ भन्न किमार्थ सकिन्न । गुटबन्दीको यस्तो तस्बिरले यही चित्रण गरिरहेको छ कि एमाले अब केन्द्रदेखि तलैसम्म स्थायी तवरले दुई चिरामा विभक्त हुन सक्नेछ । नेपाली काङ्ग्रेसजस्तो शक्तिशाली पार्टीलाई कमजोर तुल्याउने ‘कडी’ पनि यस्तै खेमागत असमझदारी नै थियो । ‘साठी–चालीस’को रोगले गाँजेपछि काङ्ग्रेसले व्यहोर्दै आएको आन्तरिक पीडाबाट एमालेजस्तो ‘वैकल्पिक लोकतान्त्रिक शक्ति’का रूपमा खडा भएको ठानिएको पार्टीको नेतृत्व तथा उपल्लो तहका कार्यकर्ता पङ्क्तिले कुनै पाठ सिक्न नसक्नु निश्चय पनि सुखद् विषय होइन । लोकतन्त्रमा कुनै पनि दलको नयाँ नेतृत्व चयनका सन्दर्भमा केही न केही हलचल वा चलखेल स्वाभाविक ठानिए पनि आफूलाई कम्युनिस्ट दाबी गर्ने दलका लागि यत्तिको हिलो छ्यापाछ्याप हुनु निकै शर्मनाक विषय हो ।
अन्तमा, एमाले अब आफूलाई साम्यवाद लक्ष्य भएको पार्टीका रूपमा नभई लोकतान्त्रिक समाजवादतिर झुकाव भएको दलकै रूपमा प्रस्तुत गर्न चाहन्छ भन्ने सचेत तप्काको बुझाइ छ । यसरी वैकल्पिक लोकतान्त्रिक शक्तिका रूपमा आफूलाई स्थापित गर्न खोज्ने एमालेबाट लोकतन्त्रका हिमायती सबै नेपालीजनलाई केही न केही आशापेक्षा हुनु अस्वाभाविक पनि हुँदैन । तर, यस्ता आशापेक्षामै तुषारापात गर्ने खालका व्यवहारबाट अब एमालेको शीर्ष तह पूर्णतः मुक्त रहन सक्नुपर्छ । मदन भण्डारीद्वारा प्रतिपादित ‘जबज’लाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने एमालेले उक्त सिद्धान्तलाई आमनेपालीको जीवन बदल्ने तत्वको रूपमा व्यवहारसिद्ध तुल्याउन नवौँ महाधिवेशन कत्तिको सार्थक बन्ने हो, यो त भविष्यकै गर्तमा छिपेको छ ।