- पुरुषोत्तम सुवेदी, पश्चिम नवलपरासी
एक साताअघि भारतीय सशस्त्र सीमा बल (एसएसबी)को टोली हतियारसहित पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा प्रवेश गरेको विषयलाई लिएर समस्या समाधानका लागि पहल थालिएको छ।
एक साताअघि भारतीय सुरक्षाकर्मी (एसएसबी)को टोली सुस्ताको नेपाली भूमिमा प्रवेश गरेपछि स्थानीयले प्रतिवाद गरेका थिए, जसका कारण सीमा क्षेत्रमा विवाद उत्पन्न भएको थियो । सोही विवाद र सुस्ताको समग्र सुरक्षा अवस्थालाई लिएर सोमबार (१ असार) जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला र सुस्तावासीबीच छलफल भएको छ ।
छलफलमा सुस्ता क्षेत्रको प्रतिनिधित्व गर्ने संघीय सांसद विक्रम खनालले सुस्ताको वास्तविक र हालै सिर्जित समस्याका बारेमा प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयमा लिखित रूपमै जानकारी गराई कूटनीतिक माध्यमबाट दीर्घकालीन समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सांसद खनालले दुवै देशका सुरक्षाकर्मीले गर्ने ‘संयुक्त गस्ती’ बाहेक अन्य कुनै पनि बहानामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गर्न नहुने र यसलाई तत्काल रोकिनुपर्ने बताए ।
छलफलमा आफ्नो धारणा राख्दै पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सीमा क्षेत्रमा नेपाली नागरिकको सुरक्षा र भूमिको रक्षा गर्नु प्रशासनको पहिलो दायित्व भएको उल्लेख गरे । उनले भने, ‘हामीले सीमा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा गस्ती र निगरानी बढाउन गृह मन्त्रालयसँग समन्वय गरिरहेका छौँ । स्थानीय प्रशासन सुस्तावासीको साथमा छ ।’
छलफलमा बोल्दै सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले सुस्तावासीले सधैं अभाव र त्रासका बीच पनि देशको सीमा रक्षा गरिरहेको उल्लेख गरे । उनले भने, ‘भारतीय एसएसबीले पटक(पटक फरक-फरक बहानामा नेपाली भूमिमाथि आँखा लगाउने गरेको छ । स्थानीय सरकारको तर्फबाट हामी डटेर सामना गरिरहेका छौँ, तर यसको स्थायी कूटनीतिक समाधानका लागि संघीय सरकारले तत्काल भारत सरकारसँग उच्चस्तरीय वार्ता गर्नुपर्छ।’
छलफलमा आफ्नो पीडा राख्दै स्थानीय बासिन्दा मुन्ना खाँले सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति निकै कमजोर रहेको गुनासो गर्दै भने, ‘यहाँ दरबन्दीअनुसार सुरक्षाकर्मीको सङ्ख्या निकै कम छ । पर्याप्त सुरक्षा फौज नहुँदा भारतीय एसएसबीले सजिलै नेपाली भूमिमा आएर दादागिरी देखाउने आँट गर्छन् । सबैभन्दा पहिले सुस्तामा नेपाली सुरक्षाकर्मीको उपस्थिति बलियो बनाइनुपर्छ र दरबन्दी अनुसार तत्काल थप टोली खटाइनुपर्छ ।’
सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार भारतीय सुरक्षाकर्मीले नियतवश फरक(फरक नयाँ स्थानहरूबाट नेपाली भूमिमा प्रवेश गर्ने र पछि ‘हामी पहिलेदेखि नै यही बाटो गस्ती गर्थ्यौं’ भन्दै दाबी गर्ने गरेका छन् । भारतीय पक्षको यस्तो प्रवृत्तिका कारण सीमा क्षेत्रमा पटक-पटक विवाद बढ्दै गएको स्थानीयको भनाइ छ ।
सोमबारको सर्वपक्षीय छलफलपश्चात् संघीय सांसद खनालले काठमाडौं पुगेर प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयमा समस्या समाधानका लागि लिखित रूपमा पत्र बुझाउने र कूटनीतिक माध्यमबाट समस्याको दीर्घकालीन र स्थायी समाधान खोज्न सरकारसँग जोडदार माग गर्ने योजना रहेको बताए ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले सुस्ता क्षेत्रको सुरक्षामा रहेका मुख्य कमजोरीहरूलाई उजागर गरेको छ । दरबन्दीअनुसार नेपाली सुरक्षाकर्मीको न्यून उपस्थिति हुनु नै भारतीय एसएसबीको अनधिकृत प्रवेश र मनोबल बढ्नुको प्रमुख कारण देखिन्छ । राज्यको उपस्थिति कमजोर रहँदा र न्यूनतम सेवा-सुविधा समेत नपाउँदा पनि सुस्तावासीले निरन्तर राष्ट्रभक्ति देखाउँदै भूमिको रक्षा गरिरहेका छन् ।
त्यसैले, सुस्तामा तत्काल पर्याप्त सुरक्षा फौज परिचालन गरी गस्ती बढाउनु स्थानीय प्रशासनको पहिलो दायित्व बन्नुपर्छ । यसका साथै, सिमानाको यो संवेदनशील र वर्षौं पुरानो विवादलाई सदाका लागि अन्त्य गर्न संघीय सरकारले ढिला नगरी प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको स्तरबाट भारत सरकारसँग उच्चस्तरीय कूटनीतिक संवाद थाल्नु र सीमांकन स्पष्ट पार्नु नै एकमात्र स्थायी विकल्प देखिन्छ ।
प्रतिक्रिया