– मुक्तिनाथ भुसाल
गौतम बुद्धको पवित्र जन्मस्थान लुम्बिनीको उत्तरतर्फ रहेको पहाडी जिल्ला अर्घाखाँची धार्मिक स्थलले भरिपूर्ण रहेकोे छ । नेपालकै नक्सामा पर्यटकीय विकासका लागि बलियो सम्भावना र पूर्वाधार बोकेको अर्घाखाँचीमा अपेक्षाकृत पर्यटन क्षेत्रको विकास हुन नसक्दा जिल्लाका बलिया हातहरू विदेशतर्फ पलायन हुन बाध्य बनेका छन् । बाइसे–चौबीसे राज्यको समयमा भुरे राजाहरूले जिल्लाका सम्पदालाई आँकलन गरी आ–आफ्नो राज्यमा जोगाइराखेका थिए । भुरे राजाहरूको पतन र एकीकरणयता प्राकृतिक सम्पदाहरू जसोतसो आफैँ जोगिन विवश छन् । जिल्लामा रहेका थुप्रै ऐतिहासिक, धार्मिक, सांस्कृतिकलगायतका सुन्दर रमणीय स्थलहरूको महत्वमाथि जनप्रतिनिधिहरूको अपेक्षाकृत ध्यान पुग्न सकेको छैन । जिल्लामा वर्षेनी दुईतिहाइभन्दा बढी बजेट सडकमा लगानी गर्दै गर्दा सबै गाविस र धेरैजसो टोल–टोलमा सडक सुविधा पुगेको छ । सबै गाविस र वडामा सडक सुविधा भएको कारण पर्यटकीय क्षेत्रको विकास गर्न सकेमा आन्तरिक र बाह्य पर्यटक भित्याउँदै जिल्लाले मनग्य आम्दानी गर्न सक्ने आधार पनि रहेका छन् ।
नेपाल एकीकरणपूर्व अर्घा राज्य रहेको स्थानमा जन्मिएका एमाओवादी सभासद् टोपबहादुर रायमाझी संविधानसभामा पुगेकै पनि निकै भइसक्यो । सभासद् रायमाझीको चुनावी क्षेत्रमा हेर्ने हो भने भगवती मन्दिर अर्घा, उल्कछत्र महाराजको मन्दिर छत्रगन्ज, जालकाँडा लेक खन, बल्कोट पौवा र शिवालय बल्कोट, मनचिन्तेपानी खन, भालेओढार धारापानी, पकले बगैँचा र पौवा किमडाँडा, भूमिकास्थान ढाकावाङ, सिमेदेउराली गोखुङ्गा, घेराको लेक खनदह, नरसिंह मन्दिर हंसपुर, राँगामारे मन्दिर हंसपुर, कोदारे झरना अर्घातोष, वाङ्ला, हटियादेवी मन्दिर केरुङ्गा, लामपाटी दरबार र गोपेश्वर पीठ वाङ्ला, ढावरखोला झरना चिदिका, मधुलेकको गुफा चिदिका, धैरेनी राजाको दरबार ठूलापोखरा, सिद्धबाबा स्थान खनदह, जालकाँडा मन्दिर खन, छहरा खोला झरना खन, खनदेउराली गुफा खन, ओडारपानी गुफा अर्घा, गोहरथुम देउराली किमडाँडा, बान्द्रे गुफा गोखुङ्गालगायत रहेका भए पनि धेरैको चर्चा आफ्नै गाउँ–टोलका बाहेक अन्यत्र हुन सकेको छैन ।
खाँची राज्यले परिचित नरपानीमा जन्मिएका एमाले सभासद् डा. दुमनसिंह थापा संविधानसभामा पुगेका करिब आठ महिना हुन लाग्यो । सभासद् डा. थापाको क्षेत्रमा रहेका खाँचीकोट दरबार, डमरुदह, दुर्वासेश्वर गुफा, पाणिनी तपोभूमि, नर्तनाचल पर्वत, रामवाण तपोभूमि, मसिना लेक, तीनपाने लेक, सेङलेङ दह, सुपादेउराली, सितखोलाको झरना, रावणको शङ्ख, सरेपानी, गौचोरको दह, तिलखुवा झरना, जिखोदी गुफा, छहरे खोला झरना, ठूलापोखरा गुफा, रानी ओढार, मेघनाथ गुफा, गुरुङभिरको गुफा, कालीमाटीको लेक, मालिका मन्दिर, कैलाश डाँडालगायतको महत्व ओझेलमै राखिएको छ । चौबीसे राज्यका दरबार, दर्जनौँ सुन्दर पहाड, सयौँ मठमन्दिर, दह, पोखरीका साथै प्राकृतिक गुफाहरू धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेका छन् । जिल्लामा एउटा पनि कलकारखाना र उद्योग नभएका कारण आ–आफ्नो क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको विकासतर्फ सभासद्हरूको ध्यान केन्द्रित हुने हो भने रोजगारीका लागि युवाहरू विदेश पलायन हुनु नपर्ने देखिन्छ । यस्तै सम्भावना र महत्व बोकेको सभासद् रायमाझीको क्षेत्रमा रहेको गोपेश्वर पीठको सङ्क्षिप्त परिचय यस लेखोटमार्फत दिने प्रयत्न गरिएको छ ।
जिल्लाको सदरमुकाम सन्धिखर्कबाट १४ किलोमिटर ग्राबेल सडकको यात्राबाट बाङ्लाको गोपेश्वर पीठमा पुग्न सकिन्छ । सलसल बगिरहेको मथुरा खोला अनि टम्म मिलेका समथर खेत र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण बगैँचाहरूको बीचमा रहेको गोपेश्वर पीठ १३ रोपनी जमिनमा फैलिएको छ । लक्ष्मीनारायणको मन्दिर, राम, लक्ष्मण, सीता र हनुमानको मन्दिर, सुन्दर राधाकृष्णको मन्दिर, गायत्री माता, गणेशजी, शिवालय र हवन कुण्ड, ज्ञानमञ्च, पुरानो धर्मशाला र बुद्ध आश्रम त्यहाँ रहेका छन् । करिब आधा दर्जन वृद्धाहरू बसोबास गरिरहेको आश्रममा वृद्धाहरू स्वयम्को खर्चबाट साँझबिहान खाना खाने पीडा उनीहरूका लागि आदत नै बनिसकेको छ । साँझबिहान एक पुजारीबाट पूजा गरिने गोपेश्वर पीठमा एकजना चौकीदार सामान्य तलबमा रहेका छन् । ०३२ मा ब्रह्मचारी घनश्याम जिल्लाको पणेनाबाट आई गाउँको सहयोगमा खरको मन्दिर निर्माण गरी चौमासा लगाएका थिए । करिब ६ महिनाको फरकमा डोटीबाट ब्रह्मचारी गौरीशंकर आई पाँच गाविसको सहयोगमा ६४ हात लम्बाइ र ६४ हात चौडाइको ग्राउन्ड खनाइ मन्दिर पौवा निर्माण गरी ब्रह्मचारी गौरीशंकर त्यहाँबाट हिँडेका थिए । ०३९ लमा ब्रह्मचारी घनश्यामको देहान्त भयो र उनको पूर्वइच्छाअनुसार मन्दिरभित्रै समाधि गरियो । ०४३ मा योगी नरहरिनाथ यो स्थानमा आई ब्रह्मचारी घनश्यामलाई समाधि गरेको स्थानमा खाडल खनी हवन कुण्ड तयार पारी कोटीहोम सम्पन्न गर्नुभएको थियो । ०५२ मा २४ लाख गायत्री जप गरी गोपेश्वर पीठलाई तीर्थस्थान बनाइएको थियो ।
गोरखाका गोकर्ण शास्त्रीले ०५४ मा श्रीमद्भागवत सम्पन्न गर्नुभएको गोपेश्वर पीठमा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । रामनवमी, शिवरात्रि, कृष्णाष्टमी, त्रियोदशीका दिन भव्य पूजा र रथयात्रा निकालिने मन्दिर प्राङ्गणमा संस्कृत पाठशाला सञ्चालन गरिएको भए पनि आर्थिक समस्याको कारण एक वर्षमै बन्द हुन पुगेको तीतो यथार्थ स्थानीयको सम्झनामा हालसम्म रहेको छ । मन्दिरभित्र गाईहरू पालिएको भए पनि खुवाउने दानाको अभाव रहेको छ । वृद्धाश्रमका कोठाहरू रङ्गरोगन नगरिएको कारण उदास रूपमा रहेका छन् । विदेशी सहयोगमा शौचालय, गोबरग्यास, सोलर जडान गरिएको मन्दिर क्षेत्रमा केरा, कटहर, अम्बा, आँप, भुइँकटर, रुद्राक्ष, पलाँस, धुपी, सल्ला, खयर, पारिजात, रक्तचन्दनलगायतका बिरुवा रहेका छन् । गोपेश्वर पीठमा स्वामी कुशलानन्द सरस्वतीले निर्माण गर्नुभएको सुन्दर पार्क बगैँचा हेर्दा जो–कोहीको मन रमाउँछ । गोपेश्वर पीठबाट करिब एक किलोमिटरभित्रै रहेको जंगबहादुर राणाको जन्मघर लामपाटी पौवा यतिबेला प्रचारप्रसार तथा जनप्रतिनिधिहरूको ध्यान नपुग्नाले उपेक्षित बन्न विवश भएको छ ।
प्रतिक्रिया