काठमाडौं काङ्ग्रेसको भवन २१ वर्षमा पूर्ण

काठमाडौं काङ्ग्रेसको भवन २१ वर्षमा पूर्ण


देशको सबैभन्दा पुरानो पार्टी नेपाली काङ्ग्रेसको काठमाडों जिल्ला कार्य समितिको भवन निर्माण कार्य २१ वर्षमा सम्पन्न भएको छ । ‘गणेशमान स्मृति भवन’ नामकरण गरिएको उक्त भवनको शिलान्यास विसं २०५४ मा भएको थियो ।

काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा निर्माण भएको चार तलाको १६ कोठे उक्त भवनको १०४ औँ गणेशमान जयन्तीका अवसरमा काङ्ग्रेसका नेता प्रकाशमान सिंहले उद्घाटन गरे। २१ वर्षअघि यो भवनको शिलान्यास पनि उनैले गरेका थिए ।

शिलान्यास भएको २१ वर्षपछि निर्माण सम्पन्न भएकाले कति खर्च लाग्यो भन्नेसमेत काङ्ग्रेस काठमाडौंका नेतालाई थाहा छैन । सभापति कृष्ण सबुज बानियाँले यस अवधिमा धेरै जनाले जिल्लाको नेतृत्व सम्हालेकाले कति खर्च भयो भन्ने थाहा नभएको बताए । भवन बनाउने स्रोत पार्टीसँग नभएकोले नेता, कार्यकर्ता र शुभेच्छुकसँग सहयोग मागेर भवन सम्पन्न गरेको जानकारी दिँदै उनले निर्माणमा कति खर्च लाग्यो भन्ने सबै हिसाब किताब खोजेर मात्र भन्न सकिने तर्क गरे ।

भवन उदघाटनका अवसरमा नेता सिंहले कार्यालय भवनमा विद्युतीय पुस्तकालय निर्माण गरिनुपर्नेमा जोड दिँदै विश्व परिवेशमा आउने नयाँ नयाँ चिन्तन प्रविधिका माध्यमबाट नेपालीलाई जानकारी गराउने उद्देश्यले यस्तो पुस्तकालय आवश्यक भएको बताए ।

नेता सिंहले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारले विकास र समृद्धिको नेतृत्व गर्न नसक्ने उल्लेख गर्दै संविधान जारी गर्ने जिम्मेवारी आएजस्तै विकास र समृद्धिको नेतृत्व काङ्ग्रेसकै काँधमा आउने भएकाले तयारी शुरु गर्न कार्यकर्तालाई निर्देशन दिए ।

सो अवसरमा नेता नवीन्द्रराज जोशीले काङ्ग्रेस महासमिति बैठक तीन पटक सरिसकेकाले अब तोकिएकै समयमा गर्न नेतृत्वसँग माग गरे भने काङ्ग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी विधान बमोजिम सञ्चालन हुनुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अम्बिका बस्नेत र काठमाडौं कांग्रेसका पूर्वसभापति भीमसेनदास प्रधानले पनि विधिसम्मत पार्टी सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

तस्बिर रासस