काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक–सभापति देउवा

काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक–सभापति देउवा


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप आवश्यक रहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाजले काङ्ग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको ४१औँ स्मृति दिवसमा प्रकाशित गरेको मुखपत्र ‘चिन्तन’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक रहेको बताएका हुन् ।

नेपालको प्रजातान्त्रिक र समाजवादी आन्दोलनमा सुवर्ण शमशेरको योगदान स्मरणीय रहेको उल्लेख गर्दै उनले बिपी र सुवर्ण शमशेरले स्थापना गरेको मान्यता नै काङ्ग्रेसको मार्गदर्शक नीति हो भने । सुवर्ण शमशेरको योगदानको विषयमा थप अनुसन्धान हुनुपर्ने बताउँदै सभापति देउवाले त्यो काम पार्टीले गर्ने जानकारी दिए ।

कार्यक्रमका विशिष्ट अतिथि काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुवर्ण शमशेरले सङ्घर्षको अवस्थामा पनि पार्टीलाई नीति र विधिअनुसार सञ्चालन गर्नुभएको स्मरण गरे । काङ्गेसमा एकता आवश्यक रहेको भन्दै नेता पौडेलले मुलुकको वर्तमान गम्भीर परिस्थितिलाई काङ्ग्रेसले आँकलन गर्न नसकेको र स्थिति यस्तै रहने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनमा थप जटिलता आउने चेतावनी दिए ।

नेता पौडेलले सुवर्ण शमशेर त्यागी, दानी र कार्यकर्तालाई स्नेह गर्ने नेता भएको बताए । उनले सरकारले अहिले आफ्नो हैसियतअनुसार काम गर्न नसकेको टिप्पणी गरे ।

सोही कार्यक्रममा काङ्ग्रेस नेता अर्जुन नरसिंह केसीले पार्टीभित्र विवाद र बहस हुनु स्वभाविक हो, त्यसलाई व्यवस्थापन गर्ने दायित्व नेतृत्वले पूरा गर्नुपर्नेमा जोड दिए । उनले सुवर्ण शमशेर राजनीतिका कुशल सञ्चालक र अर्थतन्त्रका सफल व्यवस्थापक भएको बताए । सोही अवसरमा पूर्वसभामुख तारानाथ रानाभाटले बिपी र सुवर्णजीले देखाएको मार्गबाट विचलित हुँदा नै काङ्ग्रेस कमजोर भएको दाबी गर्नुभयो । काङ्ग्रेसका नेताहरुले आफ्नो कार्यशैली बदल्न र एकता कायम गर्न आग्रह गर्दै उहाँले पार्टीको अहिलेको अवस्थाका लागि नेतृत्वले जिम्मा लिनुपर्छ भने ।

कार्यक्रममा प्रथम गभर्नर हिमालय शमशेरले सरल जीवनका धनी सुवर्णजीले नेपालको अर्थतन्त्रलाई पारदर्शी र व्यवस्थित गर्ने पहिलो भूमिका निर्वाह गर्नुभएको उल्लेख गरे । सांसद दिव्यमणि राजभण्डारीले सुवर्ण शमशेरले दिनुभएको योगदानलाई देश र पार्टीले आवश्यक रुपमा सम्मान दिन नसकेको बताउँदै बीपी अन्तराष्ट्रिय तहको नेता भएको दावी गरे । उनले बिपी र सुवर्ण शमशेरको मिल्ती अहिलेका नेताका लागि पनि अनुकरणीय हुनुपर्दछ भने । सुवर्ण शमशेरसँग नजिक रहेर काम गरेका नेता खुशीलाल मण्डलले पार्टी बनाउने, सबै आर्थिक दायित्व लिने काङ्ग्रेसका संस्थापक नेतामध्येका सुवर्ण शमशेरलाई बिर्सनु काङ्ग्रेस बैगुनी सरह हुनु हो भने ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीको सभापतित्वमा भएको कार्यक्रममा समाजका पूर्व अध्यक्ष होमनाथ दाहाल, पूर्वमन्त्री डा सुरेश मल्ल, बार एशोसियसका अध्यक्ष शेरबहादुर केसी, डेमोक्रेटिक लयर एशोसिएसनका अध्यक्ष योगेन्द्र अधिकारी, समाजका बरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले र महासचिव गोकर्ण अर्यालले पनि आफ्नो धारणा व्यक्त गरेका थिए ।

समाजको वर्तमान समितिले मुखपत्र ‘चिन्तन’को छैठौँ स्मृति अङ्क सुवर्ण शमशेर कृतित्व समेटेर प्रकाशित गरेको हो । यसअघि बिपी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादलगायत नेताहरुको सम्झनामा समाजले विशेष अङ्क प्रकाशित गरिसकेको छ ।