नेप्सेमा १७ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्सेमा १७ अंकको गिरावट, कारोबार रकम पनि घट्यो


धितोपत्र बजारमा आज शेयरको मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १७ दशमलव ३१ बिन्दुले ओरालो लागेर एक हजार २०५ दशमलव २२ बिन्दुमा झरेको छ ।

प्रतिशतका आधारमा १ दशमलव ४२ बिन्दुले बजार घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ११ बिन्दुले घटेर २५५ दशमलव ९८ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत आज गिरावट आएको छ । कुल १२५ कम्पनीको तीन लाख १४ हजार २९७ कित्ता शेयर रु. नौ करोड ९४ लाख ५१ हजार ४८ मूल्यमा खरिद–बिक्री भएको थियो ।

कारोबार भएका कुल नौ उपसमूहमध्ये आज दुई उपसमूहको शेयरमा भने वृद्धि भएको छ । वित्त १ दशमलव २५ र अन्य शून्य दशमलव ७३ बिन्दुले बढ्दा बैंकिङ २५ दशमलव शून्य आठ, होटेल ३ दशमलव ५८, विकास बैंक ६ दशमलव शून्य पाँच, जलविद्युत् १३ दशमलव २२, निर्जीवन बिमा ४३ दशमलव शून्य सात, माइक्रोफाइनान्स ३ दशमलव शून्य आठ र जीवन बिमा २९ दशमलब ११ बिन्दुले ओरालो लागेको छ ।

घटेको बजारमा स्वदेशी लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने अपि पावर कम्पनी, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज गुमाएका छन् । स्टकले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीका कारण नेप्सेको बेबसाइटमा समस्या देखिएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले नयाँ प्रणाली जडान गर्दा केही समस्या आएको स्वीकार गर्दै प्राविधिक समस्या समाधानका लागि जुटेको जानकारी दिए ।

यस्तै स्टक एक्सचेञ्जमा आजै नेपाल बैंक लिमिटेडको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता थप सार्वजनिक निष्काशन (एफपीओ) सूचीकृत भएको छ । स्टकका अनुसार सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको ३८ लाख ३९ हजार ७३० कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना शेयरधनीलाई १७ दशमलव ५० प्रतिशत नगद लाभांश दिने जानकारीसमेत स्टकलाई गराएको छ ।