– पुनहरि बेल्बासे, भैरहवा
मुख्यमन्त्री शंकर पोखरेलले आज नेपालका लागि चिनियाँ राजदुत यु होङसँग भेटघाट गर्नुभएको छ । भेटमा लुम्बिनीको पर्यटन प्रवर्द्धन, कृषिको विकास र उद्योगमा चिनियाँ लगानीबारे छलफल भएको छ ।
मुख्यमन्त्रीले यो प्रदेशमा पर्यटन विकास र कृषि उत्पादनको प्रचुर सम्भावना रहेको जानकारी गराउँदै पर्यटन प्रर्वद्धन र कृषिको व्यवसायिक विकासमा चिनियाँ अनुभव हाम्रा लागि काम लाग्ने बताउनुभयो ।
उहाँले नेपालको विकासमा चिनियाँ सद्भाव सधैं रहेकोले महामहिम राजदुतमार्फत चिनियाँ सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो । चिनियाँ रेल काठमाडांै हुँदै लुम्बिनी आउने कुरा सुन्दा खुशी लागेको र छिट्टै रेल लुम्बिनी आउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
राजदुत होङले कृषिको विकासमा चीनले सहकार्य गर्दै आएको र आगामी दिनमा अझै बढाउने बताउनुभयो । लुम्बिनी धेरै चिनियाँको मनमा रहेको बताउँदै उहाँले लुम्बिनीलाई विश्वकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले विकासमा चिनियाँ अनुभव र प्रविधि आदानप्रदान गरी अघि बढ्न चीन तयार रहेको जानकारी गराउनुभयो । साथै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सफलता पाउन शुभकामना समेत दिनुभयो ।
राजदूत होङले उपयुक्त समयमा चीनको भ्रमणका लागि पनि मुख्यमन्त्रीलाई निमन्त्रणा गर्नुभएको बताइएको छ ।
प्रतिक्रिया