विश्व आर्थिक सन्तुलन बदल्दै ब्रिक्स

विश्व आर्थिक सन्तुलन बदल्दै ब्रिक्स


bichar– बुद्धिप्रसाद शर्मा
विश्वका उदीयमान अर्थतन्त्रहरू चीन, भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिकाद्वारा स्थापित आर्थिक सङ्गठन ब्रिक्स विश्व आर्थिक सम्बन्धलाई नयाँ मोड दिन तल्लीन छ । विश्व आर्थिक गतिविधिमा पश्चिमा राष्ट्रहरूको एकल प्रभुत्वलाई तोड्दै विकासशील एवम् अल्पविकसित राष्ट्रहरूको आर्थिक अवस्थालाई मजबुत बनाई सर्वस्वीकार्य बहुध्रुवीय विश्वको निर्माण गर्ने यसको लक्ष्य छ । हालै ब्राजिलमा सम्पन्न ब्रिक्स समूहको उच्चस्तरीय बैठकले (१६ देखि १७ जुलाई, २०१४) ब्रिक्स विकास बैंक स्थापना गर्ने निर्णय गरेको छ । प्रस्तावित बैंकको मुख्य कार्यालय चिनियाँ सहर सांघाईमा रहनेछ भने सुरुमा करिब एक सय अर्ब डलरको पुँजी रहने उक्त बैंकमा चीनले ४१ अर्ब डलर, भारत, रुस र ब्राजिलले अठार–अठार अर्ब डलर साथै दक्षिण अफ्रिकाले पाँच अर्ब डलरको योगदान गर्नेछन् । यस बैंकलाई अमेरिकी प्रभुत्वको विश्व बैंक, युरोप आधिपत्य आईएमएफ र जापान निर्देशित एडीबीको सशक्त विकल्पको रूपमा हेरिएको छ ।
विश्वमा रहेको आर्थिक असमानता हटाउने, बहुध्रुवीय विश्वको निर्माण गर्ने र अल्प विकसित एवम् विकासशील राष्ट्रहरूको विकास प्रयासमा सहयोग पु-याउन यस ब्रिक्स समूह र ब्रिक्स विकास बैंकले काम गर्ने बताइएको छ । पश्चिमा राष्ट्रहरूको भेदभावजन्य आर्थिक प्रभुत्वका कारण विश्वमा आर्थिक असमानता बढ्दै गई गरिबी भयावह बन्दै गएको, गरिब राष्ट्रहरू सर्तसहितका ऋणहरूले कहिल्लै उठ्नै नसक्ने हँुदै गएका र विश्वमा द्वन्द्व एवम् असुरक्षा नाटकीय किसिमले वृद्धि हँुदै गएका कारण त्यस पश्चिमा प्रभावलाई तोड्ने र सन्तुलनमा ल्याउन सक्ने खालको आर्थिक समूह सङ्गठनको महसुस गरिएको थियो । ब्रिक्स विकास बैंकको स्थापनाले विश्व आर्थिक सम्बन्ध र सन्तुलनमा निश्चित रूपमै सकारात्मक वातावरण सिर्जना गर्ने अपेक्षा धेरैले गरेका छन् ।
इतिहास :
ब्रिक्स सङ्गठन स्थापनाको इतिहास त्यति धेरै लामो छैन । चीन, रुस, भारत र ब्राजिलका विदेशमन्त्रीहरूको सेप्टेम्बर २००६ मा अमेरिकी सहर न्युयोर्कमा सम्पन्न बैठकले ब्रिक्स समूह गठन गर्ने निर्णय गरेको थियो । यस बैठकको निर्णयअनुसार बिक्स देशहरूको शिखर सम्मेलन १६ जुन, २००९ मा रुसमा भएको थियो । त्यस बैठकमा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा. सिल्भा, रसियन राष्ट्रपति डिमित्रि मेडेभडेभ, भारतीय प्रधानमन्त्री मनमोहन सिंह र चिनियाँ राष्ट्रपति हु जिन्ताओ सामेल थिए । यस सम्मेलनले विश्व आर्थिक अवस्थामा सुधार ल्याउन, विश्व आर्थिक संस्थाहरूमा सुधार एवम् परिवर्तन गर्न र विश्व मुद्रा सञ्चय कोष खडा गर्ने आदि जस्ता महत्वपूर्ण निर्णय लिएको थियो । सन् २०१० मा दक्षिण अफ्रिका सामेल भएपछि यो समूह ब्रिकबाट ब्रिक्स भएको हो । ब्रिक्स शब्द सर्वप्रथम पश्चिमा आर्थिक विज्ञ जिम ओ निलले आफ्नो पुस्तक ‘बिल्डिङ वेटर ग्लोबल इकोनोमिक्स’मा प्रयोग गरेका थिए । आज ब्रिक्स समूहले विश्वका करिब तीन अर्ब जनसङ्ख्याको प्रतिनिधित्व गर्दछ भने विश्व अर्थतन्त्रको २१ प्रतिशत ओगट्छ । सन् २०१२ मा चिनियाँ राष्ट्रपति हु जिन्ताओले ब्रिक्सलाई अल्पविकसित तथा विकाससील राष्ट्रहरूको हित रक्षा गर्ने र प्रवद्र्र्धन गर्ने समूहको रूपमा व्याख्या गरेका थिए ।
विश्व आर्थिक परिवेशमा नयाँ आयाम :
सबैजसो महादेशमा आज धेरै राष्ट्र राजनीतिक स्थिरता र कुशल नेतृत्वसँगै तीव्र आर्थिक विकासमा फड्को लगाइरहेका छन् । हिजोका गरिब र द्वन्द्वग्रस्त मुलुकसमेतले आज गति लिँदै छन् । चीन, भारतजस्ता देश जो करोडौँ गरिबको स्थल मानिन्थ्यो आज पश्चिमा देशलाई चुनौती दिन सक्ने अवस्थामा पुगेका छन् । यसरी २१औँ शताब्दीको सुरुवातसँगै विश्व राजनीतिक, आर्थिक एवम् सामाजिक परिवेशमा आएको नाटकीय परिवर्तनले पुरातन आर्थिक तथा राजनीतिक मोडल एवम् संरचनामा व्यापक परिवर्तनको महसुुस र माग गर्न थालियो । यसै विषयलाई सम्बोधन गर्न ब्रिक्स समूहको स्थापना भएको हो । ब्रिक्स गठन भएसँगै विश्वको राजनीतिक एवम् आर्थिक आयाम ठोस रूपमै बहुध्रुवीय बनेको छ । पश्चिमाहरूको एकाधिकारको अन्त्य भएको छ । नयाँ आर्थिक तथा राजनीतिक शक्ति समूहको रूपमा ब्रिक्सको स्थापनाले सबैभन्दा खुसी अल्पविकसित र विकासशील राष्ट्रहरू भएका छन् । जसमाथि पश्चिमा राष्ट्रहरूले विभिन्न सर्तहरू थोपर्दै उठ्नै नसक्ने गरी शोषण गरेका थिए । विश्व बैंक र आईएमएफजस्ता विश्व आर्थिक संस्थाहरू गरिब राष्ट्रहरूलाई तह लगाउने हतियार बन्न पुगेका छन् । यसै बेचैनीका बीचमा ढिलै भए पनि ब्रिक्स समूहले विश्व आर्थिक अवस्थामा सुधार एवम् परिवर्तन ल्याउने हिसाबले गरेका विभिन्न निर्णयहरूमध्ये एक हो ब्रिक्स विकास बैंक । चाँडै नै सञ्चालनमा आउने यस बैंकले सकारात्मक एवम् रचनात्मक रूपमा अल्पविकसित एवम् विकासशील राष्ट्रहरूको हित प्रवद्र्धन गर्दै विश्व आर्थिक अवस्थामा नयाँ मोड दिने अपेक्षा गरिएको छ ।
सकारात्मक पक्षहरू :
बिगँ्रदो विश्व आर्थिक अवस्थालाई सही मार्गमा ल्याउने, राष्ट्रहरूबीच सुमधुर एवम् समानतामा आधारित आर्थिक तथा राजनीतिक सम्बन्ध कायम गर्ने र विश्व आर्थिक संस्थाहरूमा सुधार एवम् परिवर्तन गर्ने उद्देश्य साथ स्थापना भएको ब्रिक्सका धेरै नै सकारात्मक पक्षहरू छन् । दोस्रो विश्वयुद्धपश्चात् स्थापना भएका अन्तर्राष्ट्रिय संस्थाहरू विश्वसनीय, सहयोगी एवम् भरपर्दा हुन नसकेको भन्ने व्यापक गुनासो सन् १९९० मा शीतयुद्धको अन्त्यसँगै थप बढेर गयो । २१औँ शताब्दीको सुरुवातसँगै नयाँ राजनीतिक एवम् आर्थिक संस्थाको स्थापना र पुराना संस्थामा व्यापक सुधार गर्ने अभिप्रायले विश्वका धेरै राष्ट्रबीच औपचारिक तथा अनौपचारिक बहस र छलफल हुन थालेको थियो । यस बहसलाई चीन, भारत र रसियाले बढी महत्व दिँदै व्यापक बनाए । जसको फलस्वरूप नै ब्रिक्स समूहको स्थापना भएको हो । मूलभूत रूपमा भन्नुपर्दा सबै देशहरूबीच सुमधुर आर्थिक तथा राजनीतिक सम्बन्ध कायम गर्ने, अल्पविकसित एवम् विकासशील देशहरूलाई उनीहरूको हित रक्षा हुने किसिमले आर्थिक विकासका लागि सहयोग गर्ने, कुनै पनि नाममा कुनै पनि देशको आर्थिक मामिलामा हस्तक्षेप नगर्ने, ब्रिक्स विकास बैंकलगायतका नयाँ आर्थिक संस्थाहरूको स्थापना गर्ने र विश्वमा नयाँ आर्थिक तथा राजनीतिक संस्था संरचनाहरूको निर्माण गर्दै पूर्णरूपमा बहुध्रुवीय विश्वको स्थापना गर्ने जुन यस ब्रिक्स समूहले लक्ष्य लिएको छ यो वास्तवमा एकदमै व्यावहारिक, आवश्यक र विश्वका सबै जनताका लागि परिपक्व निर्णय हो ।
आलोचना :
ब्रिक्स समूहको गठनसँगै प्रशंसा गर्नेहरू मात्र होइन आलोचना गर्नेहरू पनि उत्तिकै भेटिन्छन् । भिन्दाभिन्दै राजनीतिक धरातल, पृष्ठभूमि र इतिहास बोकेका ब्रिक्स सदस्यको सम्बन्ध लामो समयसम्म सुमधुर नहुन पनि सक्छ भन्छन् आलोचकहरू । जस्तै: चीन, भारतबीचको सीमाविवाद, संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा व्यापक सुधार गर्नुपर्ने भारत, ब्राजिललगायतका देशहरूको मागप्रति चीन तथा रुस सधैँ चुप बसेको आरोप पनि छ । त्यस्तैगरी फरक राजनीतिक विचार धाराले आर्थिक संस्थाहरूको निर्माणमा अविश्वास एवम् अप्ठ्यारो पार्न सक्छ । सबै ब्रिक्स सदस्य राष्ट्रहरू उदीयमान आर्थिक शक्तिराष्ट्र भएको कारणले सबैका निहित स्वार्थहरूले भावी विश्व सम्बन्धलाई खलबल्याउन सक्छ । आलोचकहरू के पनि भन्छन् भने पश्चिमा शक्तिशाली राष्ट्रहरूसँग सुसम्बन्ध र आवश्यक सहकार्य नगरी अगाडि बढ्न खोज्दा जोखिम बढ्नुका साथै दुर्घटना निम्तिन सक्छ । यसरी आलोचकहरूको विश्लेषणहरूलाई आधार मानेर हेर्दा ब्रिक्स समूहका अगाडि धेरै नै चुनौती र समस्या छन् । यी सबै कुरालाई सम्बोधन गरी साँच्चै नै प्रभावकारी एवम् रचनात्मक ब्रिक्स कसरी निर्माण हुन सक्छ यसतर्फ सबै ब्रिक्स सदस्यहरूले बेलैमा सोच्नुपर्ने देखिन्छ । समस्या हटाउँदै समाधान दिन्छौँ भन्ने उद्देश्यले स्थापना भएको ब्रिक्स आफैँ विवादग्रस्त बन्नुहुँदैन । त्यसका लागि आजैबाट ठोस रणनीति र कार्ययोजनाका साथ अगाडि बढ्नुपर्ने देखिन्छ ।
निष्कर्ष :
अप्रभावकारी र अन्यायमा आधारित वर्तमान विश्व आर्थिक संरचना, सम्बन्ध र सन्तुलनलाई सही मार्गमा ल्याउने उद्देश्यसहित स्थापना भएको ब्रिक्स समूहप्रति विश्व समुदायको धेरै नै अपेक्षा छ । सन् २०१३ बाट ब्रिक्स समूह बढी नै तातिन थालेको देखिन्छ । हालै ब्रिक्स विकास बैंक शीघ्र स्थापना गर्ने ब्राजिलमा सम्पन्न ब्रिक्सको छैटौँ शिखर बैठकको निर्णय र यसका लागि रकम विनियोजित भएको खबर साँच्चै नै सन्तोषजनक छ । पश्चिमा देशहरूले ब्रिक्स समूहप्रति संसय राख्दै आएका छन् । यस अवस्थाले विश्वमा थप द्वन्द्व र युद्धसमेत निम्त्याउन सक्छ । यस कुराको समाधानका लागि ठोस योजना र कार्यक्रमका साथ पश्चिमा शक्तिशाली राष्ट्रहरूसँग आवश्यक छलफल र सहकार्यको जरुरत छ । ब्रिक्स वास्तवमा अल्पविकसित एवम् विकासशील देशहरूको हित रक्षा गर्दै विश्वमा सही सन्तुलनमा आधारित आर्थिक सम्बन्ध निर्माण गर्न अगाडि लाग्नुपर्छ । पुराना आर्थिक संस्थाहरू विश्व बैंक, आईएमएफ, एडीबीलगायतका संस्थाहरू गरिब राष्ट्रमैत्री भएनन् भन्ने व्यापक गुनासो छ । त्यसलाई ब्रिक्सले सम्बोधन गर्न सक्नुपर्छ । विश्वमा वातावरण संरक्षण, प्राकृतिक सम्पदाको सही प्रयोग, आतङ्कवादविरुद्ध अभियान र शान्ति सुरक्षा स्थापनाका लागि यस संस्थाले प्रभावकारी रूपमा कार्य गर्नुपर्छ ।