ओली सरकार पूर्ण रुपमा असफल : चिनकाजी श्रेष्ठ

ओली सरकार पूर्ण रुपमा असफल : चिनकाजी श्रेष्ठ


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिलेको सरकारले दिन दुई गुणा, रात चौगुणाले काम गर्नुपर्ने हो । तर, अहिले सरकारले काम गर्न सकेन् । यो सरकारको आयु पाँच वर्षको छ । तर, यसले स्थायी सरकारको गतिविधि देखाउन सकेको छैन् । यसको गति कछुवाकोजस्तो छ । न हाँसको चाल, न बकुल्लाको चाल नै भयो ।’

सरकारको नेतृत्वकर्ता वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रेल कुदाउने, राष्ट्रिय ध्वजाबाहक पानीजहाज चलाउने योजनाहरु सार्वजनिक गरेपनि यी सबै कुराहरु दीर्घकालिन योजना भएकोले अहिले सरकारले त्यतातिर भन्दापनि जनतालाई महँगीबाट बचाउनुपर्ने आवश्यकत्ता रहेको नेता श्रेष्ठको भनाई छ ।

श्रेष्ठले वर्तमान सरकारले जनतालाई दिउँसै रात पार्ने खालका भाषाहरु प्रयोग गरिरहेको आरोप लगाए । उनले भने,‘प्रधानमन्त्री र मन्त्रीहरुले दिउँसै जनतालाई रात पार्ने भाषाहरु बोलिरहेका छन् । यत्रो शक्तिशाली दुई तिहाईको बहुमतको सरकार छ । कांग्रेसले पनि काम गर्न विरोध गरेको छैन् । सरकारलाई राम्रो काम गर्न कुनै अवरोध छैन् । वर्तमान सरकार किन धिमा गतिमा चलेको छ ? मैले बुझ्न सकेको छैन् ।’

वर्तमान कम्युनिष्ट सरकार यतिवेला अन्यौलपूर्ण अवस्थामा रहेको उनको आरोप छ । उनले भने,‘अगाडि बढ्नुपर्ने बेलामा यो सरकारको गति पछाडि फर्केको छ । यो सरकार आफ्नो हातमा सम्पूर्ण शक्ति जम्मा गर्न उद्धत छ । आफ्नो हातमा शक्ति लिएर प्रतिपक्षीलगायत अन्य सरकारविरोधी शक्तिहरु पत्रकार, वकिल र बुद्धिजीवीहरुलाई आफ्नो कुरा राख्नै नपाउने गरि विभिन्न हत्कण्डा गरिरहेको छ । प्रधानमन्त्रीले आफ्नो हातमा शक्ति आर्जन गर्नुभएको छ । राष्ट्रिय अनुशन्धान विभाग, राजश्व अनुशन्धान विभागलगायतका महत्वपूर्ण विभागहरु आफ्नो हातमा लिनुभएको छ । यो सरकार आफ्नो विरोध गर्नेहरुलाई दमन गर्नमै सिमति रहेको छ ।’

दुई तिहाईको सरकार भएपनि यसले संघीयता कार्यान्वयन गर्न र प्रदेश सरकारलाई मजबुद बनाउने काम नगरेको उनको आरोप छ । सरकारले अहिलेसम्म राष्ट्रिय प्राकृति स्रोत तथा वित्तिय आयोग गठन नगरेकोमा पनि उनले आक्रोश पोखे । श्रेष्ठले वर्तमान सरकार संघीयतालाई नै असफल पार्ने खेलमा लागेको गम्भिर आरोप लगाए । काम गर्ने शक्ति र वातावरण हुँदाहुँदै पनि वर्तमान प्रधानमन्त्रीले काम नै गर्न नचाहेको उनले आरोप लगाए ।

उनले वर्तमान सरकारले हतार–हतार गरेर कमिशनको चक्करमा बुढीगण्डकी परियोजना चिनियाँ कम्पनी गेजुवालाई दिएको भन्दै कडा विरोध जनाए । यो परियोजना जनताकै सहभागितामा बनाउनुपर्छ भनेर हामी भन्दै आएका छौं ।