फन टाइम
राम्रो कामका कारण नभई अस्वाभाविक हर्कतका कारण चर्चामा आउने अभिनेत्रीका रूपमा प्रियंका कार्कीले आफूलाई स्थापित गर्न लागेको यथार्थसँग सबै सिनेप्रेमी नेपाली परिचित नै छन् । प्रियंकाले अहिलेसम्म डेढ दर्जनको हाराहारीमा फिल्ममा काम गरिन्, तर कुनै पनि चलचित्र सफल भएका छैनन् । उनका सबै चलचित्र असफल भएपछि निर्माता त मारमा पर्ने नै भए, दर्शक र उनका फ्यान पनि निराश बन्नु स्वाभाविकै हो । तर, यस्तो अवस्थामा पनि प्रियंका भने लापर्वाह छिन्, केवल कसरी चर्चामा छाउने भन्ने धुन मात्र उनमा सवार रहेको प्रतीत हुन्छ ।
गत साता पनि प्रियंका आफ्नै अशोभनीय व्यवहारका कारण चर्चामा आइन् । एक कार्यक्रममा उनले पहिरिएको परिहनका कारण नकारात्मक दृष्टिले चर्चामा आएकी प्रियंका त्यतिबेला हङकङमा थिइन् । हङकङबाट अस्टे«लिया जानुपर्ने उनको योजना र तयारी त्यही तस्बिरका कारण तुहिन पुग्यो । प्रियंका हङकङमा हुँदै उनका अश्लील तस्बिर मिडियामा छ्यापछ्याप्ती भइसकेका थिए । सामाजिक सञ्जालमा तस्बिर भाइरल भएपछि तनावमा रहेकी प्रियंका निराश भएर हङकङबाट अस्टे«लिया नगई सीधै काठमाडौं हानिएकी थिइन् । तर, यो यथार्थ ढाकछोप गर्न उनले मलेसियन विमानको दुर्घटनाका कारण टिकट नमिलेर फर्कनुपरेको तर्क गरेकी छिन् । यो नितान्त झुट रहेको उनीनिकट स्रोतको दाबी छ ।
यसरी, सस्तो लोकप्रियता र नकारात्मक चर्चामा फस्दै आफूलाई मोडर्न युवतीको रूपमा प्रस्तुत गर्न खोज्दा पहिरनकै कारण प्रियंका यसपटक नराम्ररी पछारिन पुगेकी छिन् । ती तस्बिरहरू मिडियामा छाएपछि फेसबुकमार्फत उनले कडा आपत्ति त जनाइन्, तर त्यसको कुनै अर्थ रहेन । ती तस्बिरहरूमा कसैले ‘टेक्निक’ प्रयोग गरेका पनि थिएनन् । मिडियाले जस्तो तस्बिर हो त्यस्तै छापेका थिए । मिडियाप्रति आगो भएकी प्रियंकाले जब आफ्ना भद्दा अभिव्यक्ति दिन थालिन् तब उनलाई फेरि तनाव नै थपियो । विशेष गरेर चलचित्र–पत्रकारप्रति आगो भएकी प्रियंकाको कुनै पनि गतिविधि कभर नगर्ने र उनलाई बहिष्कार गर्ने निर्णयसम्म पुगेका चलचित्र पत्रकारहरूको निर्णयबारे जानकारी पाएपछि उनले चलचित्र पत्रकारप्रति इङ्गित गरेर फेसबुकमा लेखेको ‘स्टाटस’ मेटाएकी थिइन् । यस्तो तनाव केही दिन गुजार्न पुगेकी प्रियंका कुन उत्साह र उमङ्ग बोकेर अस्टे«लिया जान सक्थिन् त भन्ने प्रश्न यसै पनि खडा हुन्छ । आधुनिक नारीको नाममा अर्धनग्न र अश्लील पहिरनमा देखापरेकी प्रियंकाले यसपटक राम्रो शिक्षा र सन्देश पाएकी अनुमान गर्न सकिन्छ ।
बचाऔँ नेपाली सङ्गीत आकाशकी ‘तारा’लाई
‘सबैले दिने उस्तै हुन्छ माया तर म नौलो प्रिय दिन्छु…’, ‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल…’ । यी र यस्ता सयौँ हिट गीत गाएर आमनेपाली सङ्गीतप्रेमीको वाहवाही बटुलेकी गायिका तारा थापा केही समययता गुमनामझैँ बन्न पुगेकी छिन् । पर्दाअगाडि आउने कुनै कलाकारलाई रुघा लाग्दा मात्र पनि त्यस विषयले मिडियामा राम्रो स्थान पाउँछ, तर जसले आफ्नो पूरा जीवन गीत÷सङ्गीतमा बिताएको छ, त्यस्ती लोकप्रिय गायिका बिरामीले थलिएर ओछ्याउन परेको महिनौँ बितिसक्दा पनि मिडिया चुपचाप छ । तारा थापा यतिबेला स्तन क्यान्सरका कारण थला परेकी छिन् । उनी थला परेको पनि धेरै भइसक्यो, तर गीत÷सङ्गीत क्षेत्रको विकास र विस्तार गर्न भनेर खुलेका या खुलाइएका सङ्घ÷संस्थाहरू थाहा पाए पनि नपाएजस्तो गरेर बसेका छन् । आफूलाई पर्दा कतैबाट सहयोग पाउन नसक्ने र सहयोगी हातहरू उठ्न नसक्ने नियति त नेपाली सर्जकहरूका निम्ति पुरानै कुरा हो । तै पनि भर्खर–भर्खर मात्र सार्वजनिक भएको गायिका तारा थापाको अवस्थाका बारेमा सम्बन्धित निकायको ध्यान पुग्नु अपरिहार्य भइसकेको छ । मिडियाबाट गीत प्रसारण हुँदा पाइने रोयल्टीका लागि लुछाचुँडी गर्न आन्दोलन गर्ने सर्जकहरूले तारा थापाको उपचारका निम्ति पनि सरकार गुहारेर सहयोग जुटाउनेतिर ध्यान दिने कि ? भोलि तारा थापाकै जस्तो अवस्था अरू सर्जकलाई पनि पर्दैन भनेर कसले भन्न सक्छ र ?
उल्टिए गरिमाका दिन
अन्य अभिनेत्रीले समय दिन सकेनन् या अरूले चित्त नबुझाएका विषयमा अन्तत: निर्माता÷निर्देशकहरू गरिमा पन्तसमक्ष फिल्म खेल्ने प्रस्ताव लिएर जान्थे । गरिमा पनि आफ्नो बजार त्यति सशक्त र प्रभावकारी नभएका कारण अरूले छोडेका चलचित्र खेल्न बाध्य थिइन् । अझ भनौँ फ्लप चलचित्रहरूको सूची त उनको फिल्मी करियरमा टन्नै थियो । तर, अहिले समय फेरिएको छ । गरिमाको फिल्मीयात्राको काँचुली नै फेरिएको छ । कारण हो चलचित्र झोला । झोलाको सफलतासँगै आफूलाई आएका प्रस्ताव एवम् प्रस्ताव गर्ने निर्माता÷निर्देशकको लाइन देख्दा उनी आफैँ अचम्म मान्न थालेकी छिन् । भन्छिन्, ‘कुनै समय मेरो फोनसम्म उठाउन पनि झर्को मान्नेहरू अहिले धाइधाईकन फिल्म खेल्न आग्रह गर्न थालेका छन् । यसलाई म सफलताभन्दा पनि समयको खेल भन्न रुचाउँछु ।’ गरिमाले अहिले आएर बुझेकी छिन् कि सिनेमा क्षेत्र बलेको आगो ताप्ने क्षेत्र रहेछ ।
पहिले आफूलाई गाली गरेर अरूको प्रशंसा गर्नेहरू अहिले आफ्नैअगाडि अरू नायिकालाई गाली गर्न थालेको पनि गरिमाले बताइन् । प्रस्ताव आएजति सबैमा काम गर्ने हो भने वर्षमा दशवटाभन्दा बढी आफ्नो भागमा पर्ने गरिमाले बताइन् । तर, उनी यो अवस्थालाई पनि कन्ट्रोल गर्दै अहिले पनि सङ्ख्या नबढाउने योजनामा छिन् । ‘सधैँ मेरो अवस्था यस्तै राम्रो हुन्छ भन्ने छैन, मात्तिएर जुन पायो त्यही चलचित्रमा काम गर्दा भोलि टिक्न पनि नसक्ने अवस्था आउन सक्छ । त्यसैले संयमता त मैले अपनाउनैपर्छ,’ गरिमाले भनिन् ।
प्रतिक्रिया