प्रदेशमन्त्री सोडारी बर्खास्त, सुवेदीलाई शपथ दिलाइँदै

प्रदेशमन्त्री सोडारी बर्खास्त, सुवेदीलाई शपथ दिलाइँदै


प्रदेश सरकारका मन्त्री बर्खास्तगीमा पर्ने क्रम शुरु भएको छ । केशव स्थापितलाई प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेको सन्दर्भ सेलाउन नपाउँदै सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी बर्खास्तगीमा परेका छन् ।

पटक–पटक पार्टीको सुझाव अटेर गरेको, पदअनुरुप आचरण नगरेको आरोप लगाउँदै सोडारीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका हुन् । बर्खास्त गरिएका मन्त्री सोडारी नेकपाको ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलका निकट व्यक्तिका रूपमा चिनिन्थे । तर रावलकै निर्देशनपछि मुख्यमन्त्री भट्टले सोडारीलाई बर्खास्त गरेको बुझिएको छ । यसले नेकपाभित्र बढ्दै गरेको गुटबन्दीलाई थप उजागर गरेको अर्थ लगाउन सकिने विश्लेषकहरू बताउँछन् ।

सोडारीको बारेमा धेरै गुनासा आएपछि हटाउनुपरेको मुख्यमन्त्रीको भनाई सार्वजनिक भएको छ । केही दिनअघि सोडारीले प्रयोग गर्ने झण्डावाल गाडी अर्कै व्यक्तिले प्रयोग गर्दा दुर्घटनामा परेको थियो । उक्त सन्दर्भलाई मुख्यमन्त्रीलगायत पार्टीका नेताहरूले निको मानेका थिएनन् ।

बर्खास्तगीमा परेका सोडारीको ठाउँमा आजै कृष्णराज सुवेदी नयाँ मन्त्री बन्ने भएका छन् । कैलाली ४ (ख)बाट निर्वाचित सांसद सुवेदीलाई आजै शपथ खुवाइने तयारी भएको बुझिएको छ । उनी तत्कालीन एमालेबाट सांसद निर्वाचित भएका हुन् ।