नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदमा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले पार्टी सभापतिले जुन किसिमको विचार संसदमा दिनुपर्थ्यो त्यो नभएको बताउ । वरिष्ठ नेता पौडेलले भने, ‘विचारले आक्रामक रूपमा प्रस्तुत हुनुपर्थ्यो, तर त्यस्तो भएन ।’
आफूलाई पदको भन्दा पनि पार्टीप्रति बढी चिन्ता भएको उनको भनाइ छ । नेता पौडेलले भने, ‘पार्टी निर्वाचनमा के कारणले हाऱ्यो, अब यसलाई कसरी उठाएर लैजाने, पार्टीलाई सुधार्नेतिर मेरो चिन्ता छ, पदमा को बस्ने भन्ने चिन्ता छैन ।’ पौडेलले सोमबार सुजातानिवासमा खाना खान बोलाएर गएको पनि सो अवसरमा बताए । राजनीतिक विषयमा चर्चा मात्रै भएको बताउँदै उनले सामान्य ‘हाई हेल्लो’ मात्रै भएको बताए । आफूहरूले पार्टीमा कुनै गुटबन्दी नगरेको पनि उनले बताए ।
वरिष्ठ नेता पौडेलले उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभएको उल्लेख गरे । प्रक्रिया पुऱ्याएर ल्याउन नसक्नु सभापतिको कमजोरी रहेको उनको भनाइ थियो । नेता पौडेलले भने, ‘गच्छदारलाई ल्याउने कुरामा पहिलादेखि नै सहमति थियो, तर प्रक्रिया मिलाएर गरौँ भन्ने हो ।’ अर्को एक प्रसंगमा उनले केन्द्रीय समितिमा सदस्य बढाउनुपर्ने भन्दै सदस्य बढेमा पदाधिकारी स्वतः बढ्ने बताए ।
सरकारप्रति टिप्पणी गर्दै उनले अहिलेको सरकार समयअनुकूल रहेर पनि हल न चलको अवस्थामा पुगेको आरोप लगाए । उनले भने, ‘विपक्षी शान्त, भलादमी तरिकाले बसेको छ, जनता निराश छन् ।’
प्रतिक्रिया