खनाल र नेम्वाङले गरे आठ करोडमा ३७ योजना छनोट

खनाल र नेम्वाङले गरे आठ करोडमा ३७ योजना छनोट


पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि रु. चार–चार करोड विनियोजन गरेका छन् । नेकपा इलामले सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा खनाल र नेम्वाङले बजेटसहितका ३७ योजना छनोट गरेका हुन् ।

इलाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित खनालले सूर्योदय नगरपालिकामा पूर्वाधार निर्माणका लागि रु. एक करोड ४० लाख, माई नगरपालिकाको सात वडाका लागि रु. ७० लाख, रोङ, सन्दकपुर र माइजोगमाई गाउँपालिकामा रु. ६० लाखका दरले रकम छुट्याएका छन् । इलाम नगरपालिकामा रु. १० लाख विनियोजन गरेका छन् । उनले २० योजना छनोट गरेका हुन् ।

यसैगरी क्षेत्र नं. २ का सांसद नेम्वाङले इलाम नगरपालिकाका लागि रु. ९० लाख, देउमाई नगरपालिकाका लागि रु. ८३ लाख, माई नगरपालिकामा रु. ३२ लाख र फाकफोकथुम, चुलाचुली माङसेबुङ गाउँपालिकामा भने रु. ६५ लाखका दरले रकम विनियोजन गरेका छन् ।

नेम्वाङले १७ योजना छनोट गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम सञ्चालन कार्यविधिले रु. ५० लाखभन्दा बढीको दुई योजना अनिवार्य छनोट गर्नुपर्ने व्यवस्थाअनुरूप नै उनीहरूले योजना छनोट गरेको नेकपाका जिल्ला अध्यक्ष भक्त केसीले जानकारी दिए ।

सोअनुरूप खनालले माई नगरपालिकाको लखनथापा चोकदेखि नगरपालिकासम्मको बाटो कालोपत्रे गर्नका लागि रु. ७० लाख र सूर्योदय नगरपालिकाको विद्युतीकरणको लागि रु. ५० लाख छुट्याएका छन् ।

नेम्वाङले पुवाखोलाको इन्टेकदेखि साङरुम्बा हुँदै गाग्रेभञ्ज्याङ जोड्ने सडकका लागि रु. ८० लाख र माङसेबुङ गाउँपालिकाको विद्युतीकरणका लागि रु. ५० लाख छुट्याएका छन् । संघीय सांसदले रु. चार करोडबराबरको योजना कात्तिक ३० गतेभित्र छनोट गर्नुपर्ने प्रावधानअनुरूप उनीहरूले बजेट तथा योजना छनोट गरेका हुन् ।