संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको कुरा पत्याउने हो भने आगामी पुस मसान्तसम्ममा तीनवटै तहमा कर्मचारी समायोजन भइसक्नेछ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले भने, ‘कर्मचारी समायोजनासम्बन्धी अध्यादेश मन्त्रिपरिषदमा छलफल भएर परामर्शका लागि लोकसेवा आयोगमा पठाइएको छ, त्यो अध्यादेश पारित भएर ऐनका रूपमा आएपछि तीनवटै तहमा देखिएको कर्मचारीसम्बन्धी समस्या समाधान हुनेछ ।’
मन्त्री पण्डितले समायोजनमा कर्मचारीलाई प्रोत्साहन दिएको उल्लेख गर्दै प्रदेश लोकसेवा ऐन नबनुञ्जेल संघीय लोकसेवा आयोगले आवश्यक पदपूर्ति खुला गरी कर्मचारी खटाउने बताए ।
मन्त्री पण्डितले प्रदेशका मन्त्रालयमा अस्थायी रूपमा विज्ञताका आधारमा सचिव सरुवा गरेको स्पष्ट पार्दै कर्मचारी ऐन आएपछि निश्चित अवधि पूरा नभएसम्म सरुवा–बढुवा नहुने जानकारी दिए ।
सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले सरकारले उपलब्ध गराएकोबाहेक अन्य केही पनि सुविधा आफूले नलिएको बताए ।
प्रतिक्रिया