रियल स्टेट र मिडिया– ईश्वरप्रसाद खरेल

रियल स्टेट र मिडिया– ईश्वरप्रसाद खरेल


bicharघरजग्गा अर्थात् रियल स्टेट मानिसका लागि अत्यावश्यक कुरा हो । यसर्थ यसको गाम्भीर्यताको पनि त्यत्तिकै महत्व रहेको छ । पहिले–पहिलेका कुराबाहेक हिजोआज रियल स्टेटका कुराहरूसँग कोही पनि निरपेक्ष रहन सकिँदैन । भलै ती कतिपय कुराहरू आफ्नो स्वामित्वमा रहेको होस् वा नरहे पनि भाडामा वा केही कसैगरी रहेका वा बसेका हौँला । आममानिस जे–जस्तो गरिरहेका, बसेको भए तापनि आवासको व्यवस्था त गरेकै हुन्छन् । पहुँच नपुगेका र क्षमताले नभ्याउनेहरूले जसोतसो कामचलाउ किसिमले गरेका हुन्छन् भने हुने, खाने र क्षमतादारहरूले चाहिँ रोजी–खोजी र आलिसान घर बंगलाहरूमा रहेका/बसेका हुन्छन् । अर्को कुरा २१औँ शताब्दीका मानिसहरू आवासका सलावमा रोजी–रोजी र अत्याधुनिक सुविधासम्पन्न जग्गा तथा घरहरू खोजी बस्ने लहर सुरु भइसकेको अवस्था छ ।
एकातर्फ बसोबासका कुरालाई लिएर मानिस आधुनिक, सुविधासम्पन्न र सौखिन भइसकेका छन् भने अर्कोतर्फ मध्यमवर्ग र गरिबहरूका लागि चाहिँ आवासमा पहँुच पुग्न नसकिने हँुदै गइरहेकोे अवस्था छ । मुख्यत: देशमा विद्यमान बेरोजगारीको अवस्था, गुणात्मक रूपमा बढ्दै गरेको महँगीलगायत विविध कारणले गर्दा झन्झन् उनीहरूको अवस्था खस्किएको देखिन्छ । उनीहरूका लागि सामान्य सुविधायुक्त आवासमा पहँुच पु-याउन सक्ने गुन्जायस देखिँदैन । राज्यले पनि त्यस्तो उपयुक्त परिस्थिति सिर्जना गर्न र वातावरण पार्न पनि खासै सकेको देखिँदैन । केही मध्यमवर्गकाहरूले चाहिँ दु:खजिलो र कनिकुथी गरेर भए पनि सहरबजारहरूमा रहन बस्न सकिने जग्गा जोडेका र घरहरू बनाएका देखिन्छन् । यसरी एउटा मध्यम वर्ग आवासमा भरथेग गरेर रहेका बसेका छन् भने गरिबहरूचाहिँ आवासका कुराका पहँुँचमा दिनानु दिन खस्किँदै गइरहेको परिवेश छ भने उता धनी वर्गहरूचाहिँ झन्झन् धनी र सम्पन्न हुँदै गएका छन् । राज्यले सेवासुविधाहरू पनि अन्यको तुलनामा उनीहरूलाई लक्षित गर्दै कार्यक्रमहरू र योजनाहरू ल्याएका देखिन्छ । यहाँका सहर बजारहरूमा मात्र राज्यले सेवा सुविधाहरू र साधनस्रोतहरूमा मात्र अरू बढी केन्द्रित भएको पाइन्छ । गाउँघरहरूमा र गरिबहरूका लागि चाहिँ यस्ता यथोचित कुरा लागू भए पनि राज्य र तिनका अगुवाहरूले झारा टार्ने मेलो मात्र गरेको देखिन्छन् । यसको एउटा मात्र सानो उदाहरण के हो भने सरकारले सहरका लागि सहरी विकास मन्त्रालय गठन गरेको छ भने गाउँ नै गाउँले भरिएको यो देशमा ग्रामीण विकास मन्त्रालयचाहिँ गठन गर्न कन्जुस्याइँ गर्नुलाई लिन सकिन्छ ।
हो यस्ता जनताको वास्तविक कुरा आममान्छेमाझ पु-याउने, वास्तविक कुरालाई लिएर घचघच्याउने, राम्रा भए–गरेका काम–कुराहरूको प्रशंसा गर्ने र नराम्रा र थिति बिगारिएका कुराहरूको यथोचित रूपमा वकालत, बहस र वास्तविक रूपले उठान गर्ने काम मिडियाको जिम्मेदारीमा पनि पर्छ । यसैले त मिडियालाई चौथो अङ्गको रूपमा लिएको हुनुपर्छ । अर्को अर्थमा भन्दा मिडिया भनेको आवाज नहुनेहरूको लागि लेखिदिने र बोलिदिने सशक्त माध्यम पनि हो । मिडियाले कस्ताकस्ता जटिल कामकुराहरूमा भए–गरिएको निरङ्कुशता, आममान्छेहरूको सरोकार र संवेदनशीतलाका सवालमा निरन्तर खबर, विश्लेषण र समीक्षा गरिरहेका हुन्छन् । चौथो अङ्गको नाताले पनि यो उसको धर्म र कर्तव्य पनि हो । यस्ता कुराहरूबाट स्वयम् पत्रकार र जवाफदेही मिडिया हाउसहरू चुक्नु र भुल्नुहुँदैन । हुनत यसका खातिर कैयौँ पत्रकारले समाज र राज्यका लागि यथोचित कुराहरू उठान गर्दा चुनौती मोल्नु र ज्यान गुमाउनुपरेका थुप्रै उदाहरण संसारमा मात्र नभएर हाम्रो देश र समाजमा हामीहरूले देख्दै, सुन्दै र भलै भोग्दै पनि आएको होला ।
तर कहिलेकाहीँ मिडियाले भ्रमहरू सिर्जना गरेका हुन्छन् । त्यो कसैहरूले जानेर हेरेका हुन्छन् त कसैहरूले भूलवश गरेका हुन्छन् । कसैकसैले समाचार मात्र बनाउनका लागि अनुमानित र काल्पनिक रूपमा कथा र कहानी हालेर हो कि जस्तो गरेर होहल्ला र बबण्डर मच्चाएका पनि देखिन्छन् । देश र आमजनताको यथोचित कुराहरू उठान नगरेर केवल व्यक्ति र व्यवसायीहरूको एकोहोरो भक्ति र गुनगान पनि गाएको देखिन्छ । तर, यस्ता कुराहरूमा सबै त्यस्ता छन् र हुन्छन् भन्ने छैनन् तर कतिपयहरू पत्रिका चलाउन र विज्ञापनका लागि भए पनि एकपल्ट बार्गेनिङ गर्नका लागि लेखिदिऊ भन्ने पनि यहाँ छन् । त्यस्ता कुराहरू केही स्थापितहरू मिडियाहरूबाहेक अन्यहरूको आवश्यकता र बाध्यता पनि हो । यो एउटा समग्र बजार हो, बजारमा हजार किसिमका सोच भएका व्यक्ति व्यवसायीहरू हुन्छन् भने त्यस्ताबाट केही खराब आचरण भएको लोभीपापी मिडियामा लाग्ने पत्रकारहरू पनि रहेका हुन्छन् । केही त्यस्ता एकाध व्यक्ति तथा व्यवसायीले नै यहाँ सम्मानित चौथो अङ्गको इज्जतमाथि दाग लगाउने र बेलाबेलामा नजानिँदो रूपमा बलात्कार गर्ने काम गरेको देखिन्छ । हुनत मिडियाको आचारसंहिता, आफैँहरूलाई सचेत गराउने र पत्रकारहरूको साझा सङ्गठनहरूले आफ्ना लागि आफैँले हकहित साथै सम्हालिने र सचेत हुने कामको थालनीको एकातर्फ सुरुवात पनि गरिरहेकै अवस्था पनि छ ।
यहाँ चर्चा गर्न लागेको कुरो रियल स्टेट मिडियाको हो । नेपालमा रियल स्टेटको वैज्ञानिक र व्यावहारिक रूपले सुरुवात हुन थालेको डेढ दशकजति मात्र हुन लागेको छ । नेपालमा रियल स्टेटको व्यवस्थित ढङ्गले चुरो उद्देश्यले लिएर खोलिएका सङ्गठनहरू जस्तो जग्गा तथा आवास विकास सङ्घ, घरजग्गा एजेन्ट सङ्घ नेपाल (रिआन), रियल स्टेटको अध्ययन अनुसन्धान गर्नेजस्ता कुराहरूको सुरुवात भइसकेका छन् । मिडियाहरूले यस्ता कुराहरूको अलावा समग्रमा रियल स्टेटसम्बन्धी देश र देशका दूरदराजमा रहेका जनताको यथोचित कुराहरू ल्याउन र पस्कन सक्नुपर्दछ । जब यस्ता कुरा नल्याई केवल विज्ञापनका लागि हुनेखानेहरू र पहुँच पुग्नेहरूको मात्र आवाज र विविध कुराहरू मात्र सम्बोधन गर्ने हो भने न्यायोचित काम गरेको ठहर्दैन र मिडियाहरूको यथोचित धर्म पूरा गरेको मानिँदैन । रियल स्टेटबारे भोलिका दिनमा यस्ता कुराहरूको समीक्षा गर्दा सन्तुलित रूपले प्रस्तुत हुनु र सम्हालिनुपर्छ भन्ने आशय मात्र हो । किन पनि यो कुरा भन्नुपरेको हो भने बल्ल मात्र नेपालमा रियल स्टेटको संस्थागत विकासको सुरुवात हुन थालेको छ । हामीकहाँ रियल स्टेट सम्बन्धित मिडियाको ठूलो भूमिकाको आवश्यकता देखेर मात्र पङ्क्तिकारले यो कुरा उठान गर्न सान्दर्भिक ठानेको हुँ । खुसीको कुरा पछिल्लो आधा दशकदेखि नेपालमा रियल स्टेटसम्बन्धी म्यागेजिन, पत्रपत्रिकाहरू र एकाध रियलस्टेटका अनलाइन संस्करणहरू बजारमा देखिएका छन् भने छिट्टै नै टेलिभिजन कार्यक्रम पनि सञ्चालनमा आउँदै छ । यसले नेपालको रियल स्टेटको संस्थागत विकास गर्न र कमीकमजोरी कुरा मात्र खोत्न नभई समग्र जनताका र देशका कुराहरूमा मद्दत गर्न टेवा पु-याउनेछ भन्ने कुरामा हामी विश्वस्त रहेका छौँ ।
(लेखक घरजग्गा एजेन्ट सङ्घ नेपाल (रिआन)का केन्द्रीय अध्यक्ष हुन् ।)