सभापति शेरबहादुर देउवासँग असहमति राख्ने पक्ष एकताबद्ध भएर देउवाविरुद्ध क्रियाशील रहन प्रतिबद्ध भएपछि काङ्ग्रेसमा अब दुई पक्षबीच चर्को टक्करको अवस्था आउने अनुमान गर्न थालिएको छ । तर, काङ्ग्रेसमा पुराना पुस्ताका नेताहरूबीच नेतृत्व लिन मोर्चाबन्दी भए पनि दुवै खेमाका निम्ति गगन थापा गह्रौँ हुन सक्ने सङ्केतहरू देखिएका छन् ।
गगन थापा नयाँ पुस्ताको हातमा पार्टीको नेतृत्व ल्याउने जोडदार अभियानमा भित्रभित्रै क्रियाशील भएका छन् । आफैँ सभापति पदमा उम्मेदवार बन्ने तयारीमा रहेका गगन पुरानो पुस्ताको दुवै खेमाका नेताहरूलाई बढार्ने सोच तथा योजनामा रहेका छन् । आगामी महाधिवेशन काङ्ग्रेसको पुरानो पुस्ता र नयाँ पुस्ताबीच प्रतिस्पर्धाको महाधिवेशन हुने र उक्त प्रतिस्पर्धामा नयाँ पुस्ता (आफैँ) विजयी बन्ने विश्वासमा उनी रहेका छन् ।
हुन पनि पार्टीको पुरानो पुस्ता दुई खेमामा विभाजित भई प्रतिस्पर्धा गरेको अवस्थामा गगन थापाले बाजी मार्न सक्ने प्रबल सम्भावना देखिन्छ । ‘बूढाहरू’ सबै एकजुट भएको अवस्थामा गगन विजयी बन्न सक्ने सम्भावना अहिलेसम्म देखिएको छैन र, दुवै खेमाका ‘बूढाहरू’ एक भएर पार्टी निर्वाचनमा सहभागी हुने सम्भावना पनि देखिएको छैन । त्यसैले काङ्ग्रेसको आगामी (चौधौँ) महाधिवेशन निकै रोचक र ऐतिहासिक महत्वको हुन सक्ने ठानिएको छ ।
प्रतिक्रिया