‘पहिलो दर्जाको नागरिक भनेको कस्तो हुन्छ ?’ एक दैनिक पत्रिकाको समाचारअनुसार नेपाल भ्रमणमा रहँदा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले हाम्रा मधेसी नेताहरूसँग सोधिछिन् । जवाफ केही नआएपछि मन्त्रीले प्रश्न गरिछिन्–राष्ट्रपति मधेसी, उपराष्ट्रपति मधेसी, केही मन्त्रीहरू मधेसी, पूर्वगृहमन्त्री र उपप्रधानमन्त्रीहरूमध्ये केही मधेसी अनि तपाईंहरू भन्नुहुन्छ हामी दोस्रो दर्जाका नागरिक ? पहिलो दर्जाका नागरिक भनेको के हो ? कुनै क्षेत्रीय, जातीय या अन्य कुनै वादभन्दा माथि उठेर आफ्नो मुलुकका नाममा कहिल्यै कुनै प्रकारको सम्झौता नगर्ने भारतीय नेताहरूका लागि आफ्नै देशको बारेमा गुनासो गर्ने नेपाली नेताको प्रवृत्ति कुनै नयाँ थिएन, होइन । तर पनि उनले यसप्रकारको प्रश्न गरेर मधेसी (उहाँहरूमध्ये अधिकांशले आफूलाई सकेसम्म नेपाली भन्न रुचाउनुहुन्न) नेताहरूलाई केही क्षण भए पनि पहिलो दर्जाको नागरिकका बारेमा सोच्न बाध्य पारिछिन् । फुटेर होइन जुटेर आफ्नो मुलुकको विकासप्रति एकबद्ध हुनका लागि पनि सुष्माले नेताहरूलाई राम्रै सन्देश दिएकी छिन् । हामी आफ्नो घरको समस्यामा जब छिमेकीलाई गुहार्न थाल्छौँ, हामी आफ्नो घरको कुरा जब छिमेकीलाई लाउन थाल्छौंँ, उनीहरूले अर्ती–उपदेश दिनु स्वाभाविक नै हो । आफ्नो घरमा जब परिवारका सदस्यले राम्रो गरेनन्, मैले भनेजस्तो गरी खान –लाउन पाइनँ या यस्तै प्रकारका कुरा लिएर छिमेकीकहाँ गुनासो गर्न पुग्दा पहिला त उनीहरूले खुव चाख मानेर सुन्छन्, खुसी पनि हुन्छन्, उक्साउँछन् पनि । तर, जब यो क्रम बढ्न थाल्छ उनीहरूले गर्न सक्ने कुरा केही हुँदैन र अन्तत: परिवारका सदस्यसँग राम्ररी कुरा गर्न, आफ्नो व्यवहार सुधार्न, सबैसँग मिलेर बस्न सुझाव सल्लाह दिन्छन् । यसप्रकारका घटना विभिन्न मानिसहरूबीच भइनै रहेका हुन्छन् । त्यसैले घरको समस्या सकेसम्म घरमै समाधान गर्नका लागि बूढापाकाहरूले अनेक उपदेशहरू दिएका छन् ।
आफ्नो घरमा आफूले कुन स्थान जमाउने भन्ने कुरा जसरी व्यक्तिको व्यवहार, प्रवृत्ति, दृष्टिकोण, काम, आफूभन्दा ठूलालाई गर्ने आदर, सानालाई गर्ने मायालगायतका कुरामा भर पर्छ । त्यसैगरी म यो देशको कुन दर्जाको नागरिक हो भन्ने कुरा पनि मुलुकलाई आफूले हेर्ने दृष्टिकोणमा भर पर्छ । पटकपटक मन्त्री हुनेहरूले आफूलाई दोस्रो दर्जाको नागरिक ठान्छ भने बिचरा रातदिन डोको–नाम्लो गरेर जीवन गुजार्नेहरूले आफूलाई कुन दर्जाको नागरिक ठान्दा हुन् ? तेस्रो दर्जा या त्योभन्दा बढी ? तर होइन, असनमा हातमा नाम्लो लिएर बसेको कुनै व्यक्तिलाई तपाईंले सोध्नु भो भने उसले गर्वका साथ भन्नेछ– म नेपाली हुँ, म यो देशको नागरिक हुँ । उसले आफ्नो दर्जा छुट्याउँदैन र नागरिकका अनेक दर्जा छन् भन्ने उसलाई थाहा पनि छैन । मधेसमै पनि जनस्तरमा आफू दोस्रो दर्जाको नागरिक भएको अनुभूति भएजस्तो लाग्दैन । धेरै मानिस कृषिमा संलग्न छन्, काम गर्छन्, दु:ख मिहिनेतले पाएको आम्दानीमा रमाउँछन् । एक मधेसीले अर्को मधेसीलाई गर्ने भेदभावको दूरी लामो छ, तर पनि आफूलाई नेपाली नागरिक भनाउनमा गर्व गर्छन् । मुलुकको विकास भए आफ्नो विकास हुने कुरामा विश्वस्त छन् । आफ्ना नेताहरूले वर्षौंदेखि आफूलाई भजाएको कुरा कतिलाई थाहासम्म पनि छैन । मधेस आन्दोलनपछि नेताहरूको ‘स्टेटस’ कहाँबाट कहाँ पुग्यो, तर आफू जहाँको त्यहीँ रहेर उनीहरू आमनेपाली नागरिकको जीवन बाँचिरहेका छन् । मुलुकभरि जो–जहाँ बसे पनि दु:खसुख आ–आफ्नै होलान् तर देश त सबैको बराबरी हो ।
यो दर्जा भन्ने कुरा पनि गजबकै हुँदोरहेछ । महिलाले प्राय: आफूहरूमाथि दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिएको बताउने गरेका छन् । नेपाल र भारतमा मात्र नभएर विश्वव्यापी रूपमै यो कुरा चर्चित छ । यद्यपि कुनै छिमेकी आएको बेला ँलौ न हामीमाथि दोस्रो दर्जाको व्यवहार भयो, हस्तक्षेप गरिदेऊ” भनेर उनीहरूले भनेको सुनिएको छैन । आफ्नै घरभित्र उनीहरूको लडाइँ जारी छ । महिलाको कथा व्यवहार र नागरिकतासँग जोडिएको छ । कतिपय मधेसीको सवालमा पनि उस्तै प्रकारका वास्तविकताहरू जोडिएका छन् । नागरिकताको आधारमा हेर्ने हो भने यो मुलुकमा महिलाहरू कसैका छोरी हुन्, बुहारी र श्रीमती हुन्, तर नागरिक होइनन् । किनभने उनीहरूले छोरीको रूपमा नागरिकता पाउँछन्, बुहारी र श्रीमतीका रूपमा पाउँछन् तर नागरिकको रूपमा आफ्ना बच्चालाई सहज रूपमा नागरिकता दिलाउन सक्दैनन् । असमान व्यवहारहरू नभएका होइनन्, छन् । दलित, मधेसी, मधेसीभित्रका पनि दलित, यी सबै समुदायभित्रका महिला, मुद्दाहरू धेरै छन् । तर ती मुद्दालाई सम्बोधन कसले गर्ने, व्यवस्थापन कसरी गर्ने हामीभित्रकै कुरा हो । सुझाव, सल्लाह, गुनासो जे–जे गरे पनि आफैँभित्र गर्ने हो । भारत या चीनले आएर हाम्रा प्रवृत्ति या मनोवृत्तिसँग जोडिएका कुरा त के अन्य समस्याहरूसमेत सुल्झाउन सक्दैनन् । नागरिक हुनुका हाम्रा कर्तव्यहरू के हुन् ? शायद अब हामीले यतातिर पनि बहसको सुरुवात गर्नुपर्छ होला । हामी आफूलाई सकेसम्म र मिलेसम्म नेपाली भन्न नरुचाउने अनि राज्यको ढुकुटीमा भने सधैँ आफ्नै हात भइरहोस् भन्ने चाहना पनि राख्ने यसप्रकारको आश्चर्यजनक चाहनाका बारेमा पनि अब छलफल अघि बढ्नुपर्छ ।
दक्षिण एसियाली समाजमा दोस्रो दर्जाको नागरिक मानिने महिलाले विदेशमन्त्रीको हैसियतमा रहेको बेला हाम्रा नेताहरूको तर्फबाट (उहाँहरूले आफूलाई मधेसी मात्र ठाने पनि हामी उहाँहरूलाई नेपाली जनताका नेता मान्छौँ) विनम्रतापूर्वक भनियो, ‘हामी दोस्रो नागरिकको दर्जामा छौँ ।’ लैङ्गिकता भन्ने कुरा शक्तिसँग सम्बन्धित छ भनेर सिकेको र सिकाएको कुरा पनि यस्तो बेलामा आँखावरिपरि आउने रहेछ । हाम्रो पितृसत्तात्मक समाजले शक्तिविहीन महिलालाई हेर्ने दृष्टिकोणका कारण कुनै पुरुषले राम्रो काम गर्न सकेन भने चुरा–पोते उपहार पठाउने सोचको अन्त्य अझै हुन सकेको छैन । भारतबाट विवाह गरेर ल्याएका बुहारीहरूमाथि दाइजोका नाममा कति स्टोभ पड्किए कुनै लेखाजोखा छैन । शक्तिमा नहुनेलाई सकेजति विभेद गर्ने हामी शक्तिमा हुनेसँग आफूमाथि भएको विभेदको कहानी सुनाउने रहेछौँ । नेपाली नागरिक हुनुको अर्थमा नरमाइलो लागे पनि लैङ्गिकताको दृष्टिकोणले यो सकारात्मक कुरा हो । जेहोस्, राजनीतिक रूपमा सुष्मा स्वराजको भ्रमण सफल मानिएको छ । भारतमा यसप्रकारका ँस्ट्रङ पर्सनालिटी”हरू फैलिने क्रम जारी छ । उहाँको भ्रमणपछि भारतले छिमेकी मुलुकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सक्ने ठानिएको छ । आशा गरौँ, नेपालले पनि यसप्रकारको नेतृत्व जन्माउन सकोस्, जसले अरूलाई महत्व दिँदै जताबाट फर्केर हेरे पनि आफ्नो मुलुकको हितलाई सर्वोपरी ठानोस् ।
प्रतिक्रिया