मोदीले ईपीजीको प्रतिवेदन छिट्टै बुझ्नुहुन्छ : सल्लाहकार भट्टराई

मोदीले ईपीजीको प्रतिवेदन छिट्टै बुझ्नुहुन्छ : सल्लाहकार भट्टराई


प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पारेका छन् । उनले भने,‘यसबारेमा हामी दुवै तर्फका सदस्यहरुबीच कुराकानी भैरहेको छ । हाम्रो तर्फका संयोजकले भारतीय संयोजकसँग कुराकानी गरिरहनुभएको छ । अब मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ । तर अहिले मिति तोक्दैनौं ।’

काठमाडौंमा आयोजित साक्षात्कारमा डा. भट्टराईले ईपीजीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धका सन्धि, सम्झौतादेखि लिएर सबै पक्षको बारेमा पूनरावलोकन गरेको दाबी गरे । उनले थपे,‘ईपीजीको यो दुई वर्षे कार्यकालमा ९ पटकसम्म बैठक बसेर हामीले विभिन्न आयामबारे छलफल ग¥यौं । र, हामी दुवै तर्फका बसेर एकल प्रतिवेदन बनायौं । यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई पेश गर्ने निर्णय गरेका छौं । पहिले भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउने भनेका छौं । ईपीजीको सुरु र अन्तिम बैठक नेपालमै बस्यो । यो संयोग नै हो । अब यो रिपोर्ट पहिला मोदीलाई बुझाउने भनेका छौं । दुवै देशका प्रधानमन्त्रीलाई बुझाएर नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्ने भनेका छौं । हामी अहिले पर्खिएर बसेका छौं । उहाँले बुझ्नुहुन्न जस्तो मलाई लाग्दैन् । मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ ।’

सल्लाहकार भट्टराईले ईपीजीको रिपोर्ट अत्यन्तै राम्रो बनेको र दुवै देशको हितमा रहेको पनि जिकिर गरे । उनले भने,‘रिपोर्ट कसरी अघि बढाउने भन्नेबारे अहिले दुवै तर्फका संयोजकबीच कुराकानी तथा संवाद भैरहेको छ ।’
एक फरक प्रसँगमा उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नभएको लामो समय भएको सुनाए । भट्टराईले भने,‘हाम्रो तर्फबाट (प्रधानमन्त्री र राष्ट्रपति) दुवैको तर्फबाट चिनियाँ राष्ट्रपति र उपराष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो गैसकेको छ । उहाँहरु आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ । र आग्रहपनि छ ।’