नेहरूदेखि मोदीसम्मको कसीमा नेपाल–भारत सम्बन्ध

नेहरूदेखि मोदीसम्मको कसीमा नेपाल–भारत सम्बन्ध


bichar– बुद्धिप्रसाद शर्मा
खास अर्थमा नेपाल–भारतबीचको ऐतिहासिक तथा राजनीतिक सम्बन्धलाई सरल रूपमा विश्लेषण गर्न कठिन छ । वेदशास्त्र र महाभारतमा गरिएका चर्चादेखि वर्तमानको आधुनिककालसम्मको सम्बन्ध हेर्दा सधैँ सीधा रेखामा भन्दा व्यापक उथलपुथल तथा बहुचारित्रिक र बहुआयामिक सम्बन्ध रही आएको निचोड निकाल्न सकिन्छ । आधुनिक नेपाल–भारत सम्बन्धले ज्यादा चर्चा–परिचर्चा पाउन थालेको ब्रिटिसले भारतमा शासन गर्न थालेपछि मात्र हो । नेपालको भूराजनीतिक परिस्थिति एवम् भूरणनीतिक अवस्थिति देखेपछि ब्रिटिस साम्राज्यले नेपाली सत्तालाई आफ्नो प्रभावमा राख्ने, तर स्वतन्त्र राज्यको हैसियतमा रहन दिने रणनीति अख्तियार ग-यो । जसको फाइदा ब्रिटिस साम्राज्य र राणाहरूले भरपूर रूपमा लिए । भनिरहनु पर्दैन भारतमा ब्रिटिस सत्तालाई टिकाइराख्न पनि त्यतिखेर नेपाली सत्ताले ठूलो योगदान पु-याएको थियो भने अर्कोतिर नेपालको राणाशाही सत्तालाई जोगाइराख्न ब्रिटिस इन्डियाले भरपूर छहारी प्रदान ग-यो । ब्रिटिस इन्डिया सरकारले निर्णय लन्डन दरबारबाट लिने र कार्यान्वयन दिल्लीको मजबुत कर्मचारी प्रशासनबाट गराउने गर्दथ्यो । तर, दोस्रो विश्वयुद्धको अन्त्यपश्चात् सन् १९४७ मा भारत स्वतन्त्र भएपछि नेपालमा पनि राणा शासनविरुद्ध व्यापक आन्दोलन भयो । नयाँ भारतीय सत्ताको सहयोग र समर्थनमा सन् १९५० मा नेपालमा पहिलोपटक प्रजातन्त्रको स्थापना भयो । यसपछि नेपाली जनताले के सोचेका थिए भने जवाहरलाल नेहरूले नेतृत्व गरेको नयाँ प्रजातान्त्रिक भारतीय सत्ताले पक्कै पनि नेपालको भलो र समृद्धिका लागि सहयोग गर्नेछ । तर, विडम्बना नेपाललाई हेर्ने ब्रिटिसकालीन नीतिलाई नै नेहरू सरकारले पनि निरन्तरता दियो । वर्तमान समयसम्म पनि जारी छ । भारतमा पूर्ण बहुमतको वर्तमान मोदी सरकारले नेपाललगायतका छिमेकी देशहरूसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राख्दै सम–सम्बन्ध विकास गर्ने जमर्को गरेको छ । यसलाई धेरैले सकारात्मक रूपमा लिएका छन् । ढिलै भए पनि भारतीय सत्ताले छिमेकी मुलुकहरूको मर्म, चाहना र स्वार्थ बुझ्ने तथा महसुस गर्ने प्रयास गरेको छ । यसलाई वास्तवमा ऐतिहासिक कदम मान्नुपर्छ ।
पुरातन बहुआयामिक सम्बन्ध :
नेपाल–भारतबीचको सम्बन्धलाई केवल एक आयामबाट मात्र हेर्दा निश्चित रूपमा अन्याय हुन्छ । राजनीतिदेखि आर्थिक, सामाजिक एवम् सांस्कृतिक सम्बन्धहरू उत्तिकै रूपमा अगाडि आउँछन् । कहिलेकाहीँ राजनीतिक, आर्थिक सम्बन्धमा केही बाधाहरू सिर्जना हुँदा सामाजिक तथा सांस्कृतिक आयामले सम्बन्धलाई प्रभावकारी बनाएको हामी पाउँछौँ । विश्लेषकहरू भन्दछन्– नेपाल–भारत सम्बन्धमा सामाजिक तथा सांस्कृतिक आयामहरू सनातनदेखि नै सदा प्रबल रूपमा रहिआएका छन् । एउटा कुरा के पनि हो भने बहुआयामिक सम्बन्धलाई समय–सन्दर्भसँगै सही रूपमा लेखाजोखा गरी विश्वासयुक्त बनाउनुपर्छ । तर, यसको अभावमा भविष्यमा शङ्का र दरारहरू बढ्दै जान्छन् । सामाजिक, सांस्कृतिक सम्बन्ध जतिसुकै प्रबल हुँदाहुँदै पनि राजनीतिक र आर्थिक सम्बन्धलाई ठोस रूपमा अगाडि बढाउन नसक्दा सन् १९५० पछिको नेपाल–भारत सम्बन्ध सन्तोषजनक नभएको नेपाल–भारत सम्बन्धलाई नजिकबाट केलाउनेहरूको मत रहेको छ । भारतले सदा ‘ठूल्दाई प्रवृत्ति’ देखाएको, नेपाली जनाताको हित नचाहेको र अनावश्यक रूपमा नेपाली राजनीति एवम् प्रशासन यन्त्रमा हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ । वास्तवमा यो अविश्वास दुई देशको सम्बन्ध प्रगाढ बनाउने सवालमा बाधक छ । राजनीतिक र आर्थिक सम्बन्धलाई सर्वोपरि हितमा आधारित बनाउन सकिएन भने अहिले एक्काइसौँ शताब्दीमा कसैले कसैलाई टेर्ने अवस्था रहँदैन, भौगोलिक रूपमा चाहे ठूलो होस् वा सानो । मोदीअघिका सरकारहरू नेपाल–भारत सम्बन्धको बहुआयामिक पक्षलाई व्यावहारिक रूपमा उच्च महत्व दिन निश्चित रूपमा चुकेकै हुन् । भारतको नयाँ मोदी सरकारले यस कुरामा गम्भीर बन्दै नेपालको सम्बन्धलाई बदलिँदो परिस्थितिसँगै नयाँ आयाम दिन खोजेको देखिन्छ । यो निकै नै स्वागतयोग्य कदम हो ।
असफल नेहरू डक्ट्रिन :
सन् १९४७ मा भारत स्वतन्त्र भएपश्चात् बनेको पहिलो निर्वाचित प्रधानमन्त्री जवाहारलाल नेहरूले नेपाललाई एक स्वतन्त्र तर पूर्ण भारतीय प्रभावमा रहेको राष्ट्रभन्दा बढी महत्व दिन चाहेनन् भन्ने धारणा रहिआएको पाइन्छ । नेपाल–भारत सम्बन्धका पुराना अभिलेख पढ्दा थाहा पाइन्छ कि प्रधानमन्त्री नेहरू नेपालले अन्य देशहरूसँग सम्बन्ध विकास नगरोस् र केवल भारतले निर्देश गरेको मात्र अनुसरण गरोस् भन्ने चाहन्थे । यस विषयमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र नेपाली काङ्ग्रेसका चर्चित नेता बीपी कोइरालाका बीच धेरै नै असमझदारी अथवा भनौँ एकप्रकारको शीतयुद्ध नै चलेको थियो । यी दुई नेताबीचको टकरावको फाइदा उठाउँदै राजा महेन्द्रले बीपी कोइरालाको निर्वाचित सरकारलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएका र यस कदममा तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूको भित्री रूपमा समर्थन रहेको कतिपयले बताउँदछन् । यसरी के बुझ्न सकिन्छ भने नेहरूले नेपाल मामिलाका विषयमा पनि पुरानै ब्रिटिस लिगेसीलाई नै अनुसरण गरे र कर्मचारी एवम् खुफिया एजेन्सीलाई अगाडि सारे । विडम्बना ! नेहरूपछिका केही प्रधानमन्त्रीहरू इन्दरकुमार गुजराल र अटलबिहारी वाजपेयीबाहेक अरू प्रधानमन्त्रीले नेपालसँगको सम्बन्धलाई राजनीतिक रूपमा अगाडि बढाउने प्रयास नै गरेनन् । नेपाललाई भारतीय प्रभाव क्षेत्रभन्दा भिन्न रूपमा नबुझ्ने तथा कर्मचारीहरू र सुरक्षा अङ्गहरूबाट नेपाल–भारत सम्बन्धलाई अघि बढाउने जुुन काम गरियो त्यसले अन्ततोगत्वा नेपालमा भारतविरोधी मानसिकतालाई बढावा दियो । यसै कुराको फाइदा उठाउँदै चीन नेपालको विकासको मामिलामा जस्तोसुकै सहयोग दिने गरी अगाडि आयो । वैदेशिक मामलामा जानकार भन्दछन् कि नेपाललाई हेर्ने नेहरूनीति पूर्णतया असफल भएको छ । यो साठी वर्षको बीचमा पनि नेपाललाई हेर्ने भारतीय पक्षको मानसिकतामा परिवर्तन नआउनु साँच्चै नै विडम्बना थियो । फलस्वरूप यसको उल्टो असर आज भारतले महसुस गर्दै छ । भारतमा लामो समय राज गरेको काङ्ग्रेस आईको सरकार छिमेकी नीतिमा पूर्णत: असफल भएको थियो भन्दा गल्ती हुँदैन ।
विवाद र अविश्वास :
सामाजिक तथा सांस्कृतिक रूपमा नेपाल–भारत सम्बन्ध जतिसुकै प्रगाढ भए तापनि राजनीतिक–आर्थिक विषयहरू विवादमुक्त भने छैनन् । कतिपय स्थानमा सीमा समस्या, नेपालको राजनीतिक तथा आर्थिक मामिलामा प्रत्यक्ष–परोक्ष हस्तक्षेप र नेपाललाई ‘माइक्रो म्यानेज’ गर्न खोजेको प्रयास आदि कारणले गर्दा नेपाल–भारत सम्बन्ध सुमधुर बन्न नसकिरहेको कैयनको धारणा छ । माथि नै उल्लेख गरियो कि नेपालको स्वतन्त्र अस्तित्व र आत्मसम्मान एवम् पहिचानलाई खुला हृदयले स्वागत एवम् सम्मान गर्ने आँट आजसम्मका भारतीय संस्थापन पक्षले देखाउन नसक्दा सम्बन्धमा नयाँ–नयाँ दरार पैदा भएका छन् । आज विश्व–राजनीतिमा धेरै नै बदलाव आएको छ । भारतीय एवम् नेपालको राजनीति पनि हिजोको अवस्थामा छैन । यो पछिल्लो साठी वर्षको बीचमा नेपालको राजनीतिले धेरै कुरा व्यहोरेको छ, सिकेको छ । आज नेपालमा देशको ठूलो हिस्सा पढेलेखेका युवायुवतीले ओगटेका छन् । उनीहरूको सीधा पहुँच सारा विश्वसँग छ । यस्तो बदलिँदो परिस्थितिमा नोपाल–भारत सम्बन्धलाई दुवै देशको हितमा हुने गरी विकसित गर्दै आगाडि बढ्नुपर्ने बाध्यता नेपाल र भारत दुवै देशलाई छ । छिमेकी देशलाई चिढ्याएर भारत कदापि क्षेत्रीय शक्ति वा विश्वशक्ति बन्न सक्दैन । समृद्ध भारतको लागि पनि स्थिर, शान्त एवम् समृद्ध छिमेकी आवश्यक पर्दछ । यसै कुरालाई मध्यनजर गरेर नयाँ भारतीय नेतृत्वले नेपालजस्ता छिमेकी देशहरूसँग राजनीतिक तवरमा उच्च समझदारी एवम् सु–सम्बन्ध विकास गर्नुपर्दछ ।
मोदी–सङ्केत :
भारतीय सत्तामा पूर्ण बहुमतसहित भाजपाका नेता नरेन्द्र मोदीको आगमनसँगै उनले पहिलेको काङ्ग्रेस आईका सरकारहरूले छिमेकी देशहरूप्रति अनावश्यक रवैया देखाएको र सुसम्बन्ध विकास गर्न नसकेको आरोप लगाउँदै आफूले यस्तो गल्ती नदोहो-याउने र आफ्नो वैदेशिक नीतिमा छिमेकी देशहरूलाई उच्च प्राथमिकता दिने बताए । आफ्नो शपथग्रहण समारोहमा सार्क देशका सबै सरकारप्रमुखहरूलाई निम्ता दिनु, पहिलो विदेश भ्रमण भुटानबाट सुरु गर्नु तथा आफैँ प्रधानमन्त्री भएको दुई महिनामै नेपालको भ्रमण गर्नु सकारात्मक सङ्केत हो । उनले नेपालमा पटक–पटक नेपालको स्वतन्त्रता, सार्वभौमिकता एवम् अखण्डताको उच्च सम्मान गर्दै नेपालको विकासमा जस्तोसुकै सहयोग गर्न आफ्नो सरकार तयार रहेको बताए । नेपालको जलविद्युत्, पर्यटन, कृषि, जडीबुटी एवम् उद्योगमा सहयोग गर्न तत्पर रहको उनले बताए । इतिहासमै पहिलोपटक भारतीय प्रधानमन्त्रीले नेपालको संसद्लाई सम्बोधन गर्दै नेपाल बुद्ध जन्मेको देश भएको पनि स्वीकार गरे । मोदीको नेपाल भ्रमण तत्काल ठूला आयोजनामा सहमति गर्नका लागि नभई सम्बन्ध विकासका लागि भएको हो । हिजोको दिनसम्म भारतको कङ्ग्रेस आईको सरकारले छिमेकीप्रति फरक नीति अनुसरण गरेको थियो । त्यो अध्यायलाई समाप्त गर्दै आपसी विश्वास, समझदारी एवम् सहयोग वृद्धिका लागि भ्रमण भएको देखिन्छ । यस पथको निर्माणसँगै निश्चित रूपमा मोदी सरकार नेपालको चाहना र स्वार्थअनुसार जस्तोसुकै सहयोग प्रदान गर्नका लागि तत्पर रहने नेपाल–भारत सम्बन्धका जानकाहरूको भनाइ छ । भारतको नयाँ मोदी सरकारले नेपालसँगको सम्बन्धमा ‘प्याराडाइम सिफ्ट’ निर्णय लिँदै सम्बन्धलाई नयाँ आयाम दिन लागिपरेको छ । ता कि सचेत नेपाली नागरिकले भारतमाथि कत्ति पनि दोष थोपर्ने स्थिति नबनोस् । मोदीको विश्वव्यापी अभियान छ, भारतलाई आफ्नै पहिचानयुक्त महाशक्ति राष्ट्र बनाउने । यसका लागि भारत छिमेकी देशहरूसँग सही सम्बन्ध विकास गर्दै त्यहीअनुरूपको वातावरण निर्माण गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । जे होस्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनसँगै नेपालसँगको सम्बन्धमा नयाँ आयाम सिर्जना हुने सङ्केतहरू देखिएका छन् ।
निष्कर्ष :
नेपाल–भारत सम्बन्धलाई केलाउन त्यति सहज निश्चित रूपमा छैन । यसका विविध आयामहरू, चरित्रहरू र परिवेशहरू छन् । एकल विषय वा सोचबाट नेपाल–भारत सम्बन्धलाई हेर्ने, सोच्ने वा अर्थाउने कोसिस गरियो भने त्यो विडम्बना नै हुन्छ । करिब तीन सय साठी वर्षसम्म अनावश्यक जालझेल र बेमेलतामा रहेको नेपाल–भारत सम्बन्ध भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार निर्माण भएसँगै पुन: आफने स्वभाव र गतिमा फर्कन खोजेको आभास मिलेको छ । आज खुुसीको कुरा यस अभियानमा भारतीय प्रधानमन्त्री मोदी नै खुला हृदय र कदममा साथ अगाडि आएका छन् । उनी नेपालसँगको सम्बन्धका चारवटै आयाम राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक पक्षहरूलाई उच्च महत्वका साथ अगाडि बढाउन लागिपरेका छन् । अब धेरै भन्नुपर्दैन नेपाललाई हेर्ने आउटडेटेड नेहरू डक्ट्रिन अब डेटएक्सपायर भइसकेको छ । यसको अर्थ यो पनि हो कि सन् १९५० र त्यसपछि भारतसँग गरिएका सन्धि–सम्झौताहरू पुनरावलोकन, संशोधन एवम् परिवर्तनको समयानुकूल खाँचो छ । नेपाल–भारत सम्बन्ध सुमधुर बन्नैपर्छ । यसो भयो भने दुवै देशले विविध क्षेत्रमा धेरै लाभ लिन सक्छन् । नयाँ परिवेशमा नयाँ ढङ्गले वस्तुवादी धरातलमा टेकेर सुसम्बन्ध विकास गर्दै स्थिरता शान्ति र समृद्धिका लागि नेपाल–भारत दुवै देश लाग्नुपर्छ ।