तराई : पीडित छन् पुरुष पनि

तराई : पीडित छन् पुरुष पनि


nisedh‘म तराईको संस्कृतिबाट पीडित युवा हुँ, मजस्ता पीडित पुरुष तराईमा धेरै छन्,’ महोत्तरी जिल्लाको प्रसिद्ध तीर्थस्थल टुटेश्वर महादेवबाट फर्कंदै गर्दा ट्याम्पोचालक नीरज साहले भने । चालक सिटको छेउमा बसेको बेला कुराकानीकै क्रममा यो पङ्क्तिकारलाई उनले आफ्नो कहानी बताए, ‘म गीत गाएर ठूलो गायक बन्न चाहन्थेँ, नाम कमाउन चाहन्थेँ, आफैँले लेखेका केही गीत रेकर्ड गराएँ पनि, यहाँका एफएमहरूमा मेरा गीत बजे, तर घर–परिवारको असहयोगका कारण मैले गायनलाई निरन्तरता दिन सकिनँ । बाबुआमाले मलाई सोध्दै नसोधी विवाह गरिदिए । केटी को हो, कस्ती छ केही थाहा नपाई मैले एक्कासि दुलाहा बनेर विवाहमा जानुप-यो । विवाहअघि न त मैले केटी हेर्न पाएँ न त मेरो विवाह गर्ने चाहना छ कि छैन भनेर नै सोधियो । तराईमा हाम्रो संस्कृति नै यस्तो छ, बाबुआमा या अभिभावकले कुरा छिनिदिएपछि नाइँ भन्न मिल्दैन । मजस्ता धेरै पुरुष छन्, जसले बाध्यतामा विवाह गरेका छन् र जे हुनु भइ त हाल्यो भनी आफ्नो भाग्लाई दोष दिँदै जीवन अघि बढाएका छन् । विवाहपछि श्रीमती र परिवार पाल्नैप-यो, त्यसपछि मैले ट्याम्पु चलाउन थालेँ । पढाइ धेरै छैन र अरू सीप जानेको पनि थिइन ।’ गायक नीरज भनेर चिनिने आफ्नो सपनालाई ट्याम्पुचालकमा सीमित बनाएका नीरज तराईमा विद्यमान यसप्रकारको संस्कृतिको अन्त्य हुनुपर्ने बताउँछन् । यसप्रकारको विवाहका कारण कति युवा आफूले मनपराएकी युवतीबाट टाढिनुपर्दा सिनेमामा झैँ पत्नीसँगै रहेर पनि एक्लो महसुस गर्दै जीवन बिताइरहेका छन् ।
तराईमा बाबुआमाले दाइजो तय गर्ने कुरा पनि पढालेखा युवाहरूका लागि हिजोआज लज्जाको विषय बन्ने गरेको छ । दाइजो लिएर विवाह गर्नुपर्ने परिस्थिति झेलेका कतिपय युवाहरू आफ्नी श्रीमतीसँग सीधा नजरले कुरा गर्न नसकेको बताउँछन् । सम्बन्ध त मायाको हुनुपर्ने हो, तर परम्परागत संस्कृतिले गर्दा पैसासँग सम्बन्ध साटिने गरेको छ । शिक्षित युवाहरू भन्छन्– वास्तवमा दाइजोको नाममा हामी बेचिएको कुरा हाम्रा अभिभावकले बुझ्दैनन्, यो कुरा कसरी बुझाउने हामीमा ठूलो चुनौती छ । दाइजोको अवधारणाले यति गहिरो जरा गाडेको छ कि कुनै युवाले म दाइजो नलिई विवाह गर्छु भनेर घोषणा ग-यो भने यसमा पक्कै कुनै खराबी होला नत्र किन दाइजो लिन्न भन्थ्यो भन्ने अर्थ लगाइन्छ । यसप्रकारको धारणालाई बदल्ने दायित्व पनि युवाहरूकै हो । हामी ठान्छौँ– तराईमा हुने वालविवाह र दाइजो प्रथाबाट महिला मात्रै पीडित छन् । तर होइन, बालविवाहका कारण पीडित किशोरी मात्र नभएर किशोरहरू पनि छन् । जसले विवाह भएका कारण पढाइ छुटाएका छन्, कमाउनलाई परदेशिएका छन् । विवाहको अर्थ नबुझ्दै विवाह भएका कारण अनेक बोझहरू उठाउन बाध्य भएका छन् । यता दाइजोबाट महिला मात्र होइन, पुरुष पनि त्यत्तिकै पीडित छन् । यस्ता पुरुष जसका दिदीबहिनी छन्, छोरी छन् । छोरीका बाबुहरू पुरुष हुन्, दाइजोको सबैभन्दा ठूलो बोझ तिनै पुरुषहरूले यसरी धान्नुपरेको छ मानौँ उनीहरूले छोरी पाएर ठूलै पाप गरेका छन् । महिला नभई घरपरिवार चलाउन गाह्रो छ, धर्म–संस्कृति चलाउन गाह्रो छ, तर तिनै महिलामाथिको विभेदले तराईमा जरो गाडेको छ, जसको मारमा प्रत्यक्ष रूपमा हेर्दा महिला परे पनि अप्रत्यक्ष असर पुरुषमा बढी छ । महिलाले घरबाहिर कमाउन जाने परिस्थिति नबन्दा पुरुष आफू मात्रै कमाएर घरपरिवार धान्नुपर्ने आर्थिक बोझमा छन् । सीपहरू सिकाउन नपाउँदा कामको बाँडफाँड हुने गरेको छैन । महिला घरपरिवारमा सीमित हुँदा बाहिर केही प-यो भने हात बटाउने मान्छे छैनन् । दाइजोका कारण महिला मात्र होइन ती महिलाका माइतमा बाबु जति पीडित छन्, नन्द आमाजूको विवाहका कारण घरमा ससुरा पनि त्यत्तिकै पीडित छन् । महिलाका नाममा भएको यो पुरुष पीडाको कथा खासै लेखिएको छैन न त प्रत्यक्ष देखिएको नै छ । संस्कृति र चलनको नाममा वर्षौंदेखि आफ्ना छोरीहरूको घरबार क्यासमा किन्न बाध्य छन् । यसरी क्यासमा किनिएका ज्वाइँलाई मानमनितो गरिरहनुपर्ने नैतिक दायित्व नभए पनि त्यो पनि गरिरहेका छन् । हिजोका दिनमा विवाह गर्ने केटाको मूल्य तोकिँदा संस्कृति ठानेर सामान्य मानिए पनि पनि आजका युवाहरूका लागि जीवनसाथी भित्याउँदा क्यासको कारोबार हुनु शिर ठाडो गर्नै नसक्ने गरी लाजमर्दो कुरा हो । दाइजोबाट तराईका मानिस यति आजिद भइसकेका छन् कि कसैले ठूलो अभियान सञ्चालन गरिदिए घरघरबाट मानिसले साथ दिन्छन् । तर, यो कुरा अहिलेसम्म राजनीतिक दलका लागि सरोकारको विषय बन्न सकेको छैन ।
सानै उमेरमा विवाह र कामको बोझका करण पाठेघर खस्ने समस्या भोगिरहेका महिलाको सङ्ख्या ठूलो छ तराईमा । लुकेको व्यथा मानिने यो रोग कतिले त वर्षौंसम्म लुकाएरै राख्ने गरेका छन् । लोकलाजका कारण आफ्नो स्वास्थ्य खस्किसक्दा पनि महिलाले चुपचाप सहने गरेका छन् । हिजोआज भने मौनता अलि तोडिन थालेको छ । झट्ट हेर्दा पाठेघर खस्ने कुरा महिलाको मात्रै समस्याजस्तो देखिए पनि यो पुरुषको पनि त्यत्तिकै समस्या हो । श्रीमतीको पाठेघर झर्दा श्रीमान्को यौनजीवनमा प्रत्यक्ष असर पर्छ, परिरहेकै छ । त्यसैले सुत्केरी तथा अन्य संवेदनशील अवस्थामा महिलालाई कामको बोझबाट छुटकारा र पोषिलो खाना कति जरुरी छ भनेर पुरुषलाई जागरुक गराउनु आवश्यक छ । उसको जिन्दगी मेरो सरोकारसँग त्यत्तिकै जोडिएको छ भन्ने कुरा जस्ताको तस्तै बुझेमा पुरुषले महिलालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा निश्चय नै फरक आउनेछ । यस्तै निमुखा एकल पुरुषलाई बोक्साको आरोप लगाउने चलन पनि छ तराईमा, जसरी निमुखा महिलालाई बोक्सीको आरोप लगाइन्छ । तराईका यी सब कुरीति हटाउन दह्रै अभियानको आवश्यकता छ । तराईका कतिपय नेताहरू दाइजोलगायतका कुरीतिहरूमा बोल्दा आफ्नो भोट घट्ने मान्यता राख्छन् । तर, समय बदलिएको छ । मानिस परिवर्तन खोजिरहेका छन् । पुराना शक्तिले नगरे पनि तमरा अभियान जस्ता उदाउँदा शक्तिले यस प्रकारका कुसंस्कारविरुद्ध अभियान चलाए सर्वसाधारणको साथ सहजै पाउने देखिन्छ । विशेषगरी दाइजोको पीडाबाट मुक्त महिला–पुरुष भेट्नै गाह्रो हुने हुँदा यसविरुद्धको अभियानमा सर्वसाधारणको उत्साहबद्र्धक साथ रहने निश्चित छ ।