नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गोपालमान श्रेष्ठले पार्टीमा एकताको विकल्प नभएको बताउएका छन् ।
नेपाली कांग्रेस, केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिको आयोजना एवं नेपाली कांग्रेस कास्कीको व्यवस्थापनमा आज यहाँ आयोजित ‘पार्टीको राजनीतिक प्रस्ताव सुझाव संकलनका लागि गण्डकी प्रदेशस्तरीय कार्यशाला गोष्ठी’को उदघाटन गर्दै श्रेष्ठले गुट–उपगुटमा विभाजित बन्दा पार्टी कमजोर भएको बताए ।
नेपाली जनताले एकताबद्ध संगठित कांग्रेसको अपेक्षा गरेको बताउँदै उनले पार्टीको आन्तरिक संगठन मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । वर्तमान सरकारले जनअपेक्षाअनुरूप काम गर्न नसकेको बताउँदै उनले जथाभावी कर वृद्धि र महँगीको मारमा जनता पिल्सिएको बताए । पूर्वमन्त्री यज्ञबहादुर थापाले कांग्रेसलाई सशक्त बनाउँदै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी लाग्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेस केन्द्रीय राजनीतिक प्रस्ताव मस्यौदा समितिका सदस्य महेन्द्र यादव, नेता शुक्रराज शर्मा, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, सचिव देवेन्द्र रानाभाटलगायतले पार्टीको सशक्तीकरणलगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
प्रतिक्रिया