सुशील कोइराला कहिलेसम्म ?

सुशील कोइराला कहिलेसम्म ?


special-articleसुशील कोइरालाका बारेमा सोझै प्रवेश गर्नुअघि राजनीतिमा संलग्न मानिसको प्रवृत्तिगत भिन्नता बुझ्न आवश्यक हुन्छ । सृष्टिमा जे–जस्ता प्रकारका मानिस भेटिन्छन् ती सबै प्रवृत्तिका मानिस राजनीतिमा पनि क्रियाशील रहेका छन् । राजनीतिमा संलग्न सबै मानिसको समान लक्ष्य पद प्राप्ति हो । पद प्राप्तिको उद्देश्य र प्राप्तिका लागि अपनाइने काइदाका आधारमा राजनीतिकर्मीको वर्गीकरण गर्न सकिन्छ । मूलत: तीन प्रवृत्तिको आधारमा राजनीतिकर्मीलाई वर्गीकरण गर्नु उपयुक्त हुने देखिएको छ । देश र समाज परिवर्तन र निर्माणको पवित्र नियत र स्पष्ट दूरदृष्टिका साथ इमानदारीपूर्ण राजनीतिमा एकथरी मानिस संलग्न छन्, जसको पहिचान गर्नु कोइलाखानीमा हीरा खोजेबराबर दुरुह छ । निकै कम मानिस मात्र देश र समाज उत्थानका निम्ति राजनीतिमा संलग्न रहेको अनुभूत गरिन्छ । दोस्रोथरी राजनीतिकर्मी आफ्नो सामाजिक प्रतिष्ठा, नाम, सान र सत्ताका निम्ति राजनीतिमा सक्रिय रहेका भेटिन्छन् । सत्ता र पद यस प्रवृत्तिका मानिसको मुख्य गन्तव्य हुने भएकोले सत्ता प्राप्तिका निम्ति जुनकुनै हथकण्डा अपनाउन पनि यी चुक्दैनन् । अर्का एकथरी मानिस पनि राजनीतिमा छन् जसका निम्ति राजनीति ‘पेसा’ र ‘बाध्यता’ दुवै हो । पढ्न नसकेका, कम पढेका या पढाइको अवसर नपाएका या पढेर पनि बडो मुस्किलले पाससम्म भएका, रोजगारीको अवसर नपाएका र सरकारी सेवामा प्रवेश गर्न दिइएका परीक्षाहरू अनुत्तीर्ण भएका, उद्यम–व्यवसाय गर्ने जाँगर र लगानी गर्न नगद नभएका या बैंकले पनि नपत्याएका मानिसका निम्ति राजनीति ‘पेसा र बाध्यता’ बनेको छ । तर, रोचक के हो भने हाल प्रधानमन्त्री रहनुभएका सुशील कोइरालाचाहिँ उल्लिखित तीनवटै श्रेणीका राजनीतिकर्मीमध्ये पर्नुहुन्न ।
देश बन्नुपर्छ– यो जनताको चाहना हो । देश बनाउनुपर्छ– यो आमराजनीतिकर्मीको भावना हो । तर, जनताले चाहना गरेको या राजनीतिकर्मीले देश निर्माणको भावना राखेको कारण मात्र देश बन्न सम्भव हुँदैन । एउटा राजनीतिकर्मीमा दूरदृष्टि, प्रतिबद्धता, इमानदारी र निर्णयक्षमता अनिवार्य मानिन्छ । सुशील कोइरालामा देश बन्नुपर्छ भन्ने भावनाको मात्रा पर्याप्त भए पनि उहाँमा दूरदृष्टि र निर्णयक्षमताको सख्त अभाव छ । सुशील कोइराला खराब मानिस हुँदै होइनन्, आफू असल भएको प्रमाणित गर्न मात्र उहाँले नसक्नुभएको हो । उहाँलाई बेइमान भनियो भने भन्नेलाई पाप लाग्न सक्छ, तर, उहाँ ठ्याम्मै इमानदार हो भन्न पनि अलिक सोच्नैपर्ने अवस्था छ । सुशील कोइरालाको चरित्र भ्रष्ट अर्थात् भ्रष्टाचारपे्रमी हुँदै होइन, तर तीनवटा मोबाइल फोन सेटका मालिक उहाँले प्रधानमन्त्रीको हैसियतमा तलब–भत्ता प्राप्त गर्नुअघिको जीवन कसरी गुजार्नुहुन्थ्यो, घरभाडा कसरी तिर्नुहुन्थ्यो, गाडी कसरी चढ्नुहुन्थ्यो र त्यही तीनवटा मोबाइल फोनको बिल कसरी चुक्ता गर्ने गर्नुहुन्थ्यो भन्ने प्रश्न उठ्यो भने उहाँको इमानदारी असिन–पसिन हुने खतरा छ । कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान पु-याउँदा कष्टपूर्ण जीवन व्यतीत गर्नुभएको छ । तर, कसैले कोइरालालाई तीन दशक लामो प्रजातान्त्रिक आन्दोलनको दर्मियानमा तपार्इं कतिपटक जेल जानुभएको छ या प्रहरी हिरासतमा परेर कति यातना भोग्नुभएको छ या कति समय कष्टपूर्ण भूमिगत जीवन बिताउनुभएको छ भन्ने प्रश्न ग-यो भने प्रश्नकर्ता नै लज्जित हुनुपर्नेछ । सुशील कोइराला स्वच्छ छविका नेताको कोटिमा पर्नुहुन्छ । उहाँलाई कसैले मैलो देख्छ भने देख्नेको आँखैमा खराबी रहेको ठान्नुपर्ने गरी कोइरालाको छवि चम्किएको छ । तर, व्यक्ति आफैँमा स्वच्छ हुनु र छवि मात्र स्वच्छ हुनु नितान्त भिन्न कुरा हुन् । छवि मैलो भएका कतिपय मानिस आफैँमा स्वच्छ हुन सक्छन् र स्वच्छ छविको आवरण रहेका मानिस पनि विकृत एवम् दागी हुनसक्छन् । सुशील कोइरालाको पृष्ठभूमिलाई रामै्रसँग कोट्याइयो भने उहाँ मान्छे स्वच्छ हो या छवि मात्र स्वच्छ हो भन्ने तथ्य रामै्रसँग उजागर हुनेछ । सुशील कोइराला पदलोलुप हुनुहुन्न, उहाँले पदका लागि काम गर्ने नगरेको दाबी पनि गर्दै आउनुभएको छ, पदमा टाँसिरहने आफ्नो इच्छा कहिल्यै नरहेको स्पष्टोक्ति पनि उहाँले बारम्बार दिँदै आउनुभएको छ । तर, २०४६ को राजनीतिक परिवर्तनपछिको पच्चीस वर्षमा उहाँ पदविहीन भएर कहिल्यै रहनु नपरेको अर्को सत्य हो । मन्त्री पदको जिम्मेवारी लिन कोइराला कहिल्यै इच्छुक हुनुभएन, तर ‘मन्त्रीमेकर’ को भूमिकामा उहाँ सधैँ रहनुभयो । पार्टीको महामन्त्री, उपसभापति, कार्यबाहक सभापति र सभापति हुँदै देशको प्रधानमन्त्री बन्ने व्यक्तिलाई पदलोलुप भन्न नमिल्ने हो भने सुशील कोइरालालाई पदलोलुप भन्न–ठान्न पनि मिल्दैन । तर, संसदीय दलको नेता रहनुभएका रामचन्द्र पौडेललाई पन्छाएर प्रधानमन्त्री बन्न उहाँले दर्शाउनुभएको व्यवहार स्मरणयोग्य छ । जतिबेला काङ्गे्रसको नेतृत्वमा सरकार गठन हुन असम्भव थियो त्यतिबेला रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन उहाँ ‘खुला दिलले’ तयार हुनुभयो । जब काङ्गे्रसलाई सरकारको नेतृत्व प्राप्त हुने अवस्था आयो तब उहाँ आफैँ प्रधानमन्त्री बन्न अग्रसर हुनुभएको सन्दर्भलाई समीक्षा गर्दा पनि कोइरालामा पदलोलुपता देखिँदैन भने उहाँलाई पदलोलुप भन्न मिल्ने छैन । प्रधानमन्त्री बनेको ६ महिनासम्म सुशील कोइरालाले राष्ट्रहितका निम्ति कुनै एउटा साहसिक या स्मरणयोग्य निर्णय लिन सक्नुभएको छैन । देशको स्वास्थ्यस्थिति सुधारमा भन्दा आफ्नै स्वास्थ्यचिन्ता गर्नुपर्ने अवस्थामा सुशील कोइराला हुनुहुन्छ । ६ महिनाको अधिकांश समय बालुवाटार या अस्पतालको शøयामा बिताउनुभएका कोइरालाले ठूलठूला एवम् दूरगामी महत्वका निर्णय त लिन सक्नुभएन नै, निर्वाचन सम्पन्न भएको नौ महिनासम्म संविधानसभालाई पूर्णता दिन, सोह्र मुलुकमा रिक्त राजदूतहरूको पदपूर्ति गर्न, संवैधानिक निकायहरूलाई पूर्ण बनाउन र दश महिनादेखि रिक्त एआईजीपीहरूको पदपूर्ति गर्न पनि सक्नुभएन । सुशील कोइरालाले आफ्नो पाँच दशक लामो राजनीतिक यात्राका क्रममा आफैँले कुनै ठूलो निर्णय लिनुभएको छैन । कसैले लिएको निर्णयलाई कार्यान्वयन गर्ने उहाँको चिरपरिचित भूमिका नै उहाँको संस्कार र आनीबानी बनिसकेको छ । आफैँ निर्णय लिने अभ्यास गर्दै नगरेका मानिस कार्यकारी प्रमुखको जिम्मेवारीमा रहँदा मातहतकाहरूले व्यहोर्नुपर्ने ‘सास्ती’ सम्भवत: यतिबेला मन्त्रिमण्डलका सदस्य तथा उच्च तहका प्रशासकहरू भोग्दै छन् । कोइरालामा उत्पन्न क्यान्सर रोगको निदान हुनसक्ला, तर निर्णय लिन नसक्ने उहाँको क्रोनिक रोगको उपचार असम्भव छ । त्यसैले समय गुजार्ने र ‘आफसे आफ’ भएका निर्णयहरूको जस (यस) लिएर बहिर्गमित हुने कार्य प्रधानमन्त्री कोइरालाबाट कहिले हुने हो, बस्, प्रतीक्षा त्यसैको हुँदै छ । निर्णयहीनताको अवस्थामा देशलाई राख्न सक्नु नै स्वच्छ छविका इमानदार प्रधानमन्त्रीको विशिष्ट गुण मान्नुपर्ने हो भने त्यस दृष्टिले कोइराला एक सफल नेताको कोटिमा अवश्य पर्नुहुन्छ । बाहिरबाट हेर्नेहरूले सुशील कोइरालालाई एक टीठलाग्दो अवस्थाबाट गुज्रिरहनुभएको महसुस गरेका छन् र पदत्याग गरेर आरामको जिन्दगी बिताउनेतर्फ लाग्दा कोइराला र देश दुवैको हित हुने ठहर गर्न थालिएको छ । ‘भूमिकाहीन भूमिकामा क्रियाशील’ रहेकै कारण पछिल्लो समय मुलुकमा नेतृत्वविहीन सरकार सञ्चालन भइरहेको आभास हुँदै छ । उहाँकै अनेतृत्वका कारण भारतसँग तत्काल प्राप्त गर्न सकिने उपलब्धि हासिल गर्नबाट समेत नेपाल चुकिरहेको छ । यदि स्वच्छ छविका इमानदार प्रधानमन्त्रीको कार्य–व्यवहार ‘यस्तै’ हुनुपर्ने हो भने सुशील कोइरालालाई देशको सर्वोत्कृष्ट प्रधानमन्त्री मान्नुपर्ने हुन्छ । मन्त्रिमण्डलमा सामेल केही नेताहरूको सक्रियता प्रकट नभएको हुन्थ्यो भने देशमा सरकारको अस्तित्व रहे–नरहेको बुझ्न कठिन हुनसक्थ्यो । प्रधानमन्त्रीभन्दा मन्त्री सशक्त र सक्रिय भएको अवस्थालाई नै बेस मँन्नुपर्ने हो भने नेपालको इतिहासमा सर्वाधिक उत्तम स्थिति अहिले नै हो भन्नुपर्छ ।
सुशील कोइराला देशमा भ्रष्टाचार निर्मूल होस्, अराजकता अन्त्य होस्, देश एउटा सिष्टमबाट चल्ने परिस्थिति निर्माण होस् र आगामी माघसम्ममा संविधान जारी होस् भन्ने चाहनुहुन्छ, आमनेपाली जनता पनि यही चाहन्छन् । तर, देशको प्रधानमन्त्रीको काम जनसाधारणले जस्तै चाहना मात्रै रँख्ने हुन मिल्दैन, कार्यकारी तहको जिम्मेवारी सम्हालेका व्यक्तिले जनचाहनालाई मूर्तरूप दिने अग्रसरतासहितको निर्णय लिनुपर्ने हुन्छ । यदि जनचाहनालाई कार्य–व्यवहारमा अनुवाद गर्ने ल्याकत प्रस्तुत गर्न सकिँदैन भने त्यस्ता व्यक्तिले पदत्याग गरेर राष्ट्रलाई गुन लगाउन सक्नुपर्छ, सुशील कोइरालाले वर्तमानमा पु-याउन सक्ने या पु-याउनुपर्ने योगदान पनि यही नै हो– हुनुपर्छ । पदको आवरणमा घिस्रिएर समय लम्ब्याउनुभन्दा नयाँ सशक्त नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दा कोइरालाको उचाइ थप बढ्न सक्छ । प्रधानमन्त्रीको जिम्मेवारी लिएका व्यक्ति अशक्त एवम् रुग्ण भूमिकामा रहने र जनताचाहिँ बिरामीकुरुवाको मानसिकतामा बस्नुपर्ने विद्यमान स्थितिको अन्त्य गर्न मात्र कोइराला सक्रिय भइदिनुभयो भने सायद सुशील कोइराला इतिहास–स्मरणीय बन्नुहुनेछ । माघ ८ गतेसम्म घिस्रिएर जाने र निर्धारित मितिभित्र संविधान निर्माणजस्तो न्यूनतम कार्य पनि सम्पन्न नभई सत्तात्याग गर्नुपर्ने भयो भने नेपालको इतिहासका सर्वाधिक अक्षम र नालायक प्रधानमन्त्रीको विशेषण प्राप्त गर्न सुशील कोइराला तयार हुनुपर्नेछ । बितेका ६ महिनाकै निरन्तरताको रूपमा आगामी ६ महिना पनि व्यतीत हुनसक्ने त्रास जुन पैदा भएको छ, यही त्रासका कारण जनजनको मनमा ‘सुशील कोइराला कहिलेसम्म’ भन्ने प्रश्न उब्जिएको छ । आदरणीय सुशील कोइरालाज्यूमा यस प्रश्नको उचित जवाफ दिने सामथ्र्य पैदा होस्, शुभकामना ।