– इन्द्रबहादुर बराल
भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमण नगरेको १७ वर्षपश्चात् प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल आगमन आफैँमा उत्साहप्रद थियो भन्नुमा कुनै कोणबाट पनि अतिशयोक्ति ठहरिन सक्दैन । यसको पुष्टि भारतीय प्रधानमन्त्रीको दुईदिवसीय भ्रमणले गरिदिएको छ । साथै, जुन रूपले मोदी–भ्रमणका कारण तरङ्ग पैदा भएको छ, त्यसबारेका समीक्षा, चर्चा या बहसहरूले नेपाल–भारतबीचको सम्बन्धमा नयाँ ढङ्गले सोच्न पनि हरेक नेपालीलाई पक्कै पे्ररित गरिदिएको छ । मोदीको भ्रमणपूर्वसम्म नेपालीले भारत र भारतीयलाई हेर्ने या बुझ्ने गरेको जुन सोच व्याप्त थियो, ठीक विपरीत प्रत्येक नेपालीको ब्रेनवास भएको महसुस गरिँदै छ । यसअघि भारतलाई हेर्ने र बुझ्ने दृष्टिकोण अत्यन्तै नकारात्मक र विद्वेषपूर्ण भएको अनुभव गरिन्थ्यो । यद्यपि नेपाल–भारत सम्बन्ध राजनीतिक र कूटनीतिकभन्दा पनि धार्मिक, सांस्कृतिक रूपले अभेद्य रहेकाले पूर्णरूपले समानताको आधारमा द्विपक्षीय सम्बन्धलाई बुझ्नेहरूको पनि यहाँ कमी भने थिएन । त्यसैले सदियौँदेखिको अटुट र निकटस्थ सम्बन्ध सुधार्न नसक्ने गरी बिग्रिसकेको पनि थिएन । परिणमस्वरूप मोदीको पौने घण्टाको सारगर्भित तथा धाराप्रवाह भाषण नेपालीका लागि अत्यन्तै अविष्मरणीय एवम् विशेष चर्चाको विषय बन्यो ।
नेपालको राजनीतिक र सामाजिक क्षेत्रमा समेत भारतलाई हेर्ने दृष्टिकोण नकारात्मक नै पाइन्थ्यो । तर, एकाएक भारतीय संस्थापन पक्षले नेपालको परिवर्तित राजनीतिमा दखल पुग्ने अनुमानलाई चिर्दै अहस्तक्षेपकारी भूमिका प्रदर्शित हुँदा सन्तुलित रूपमा प्रस्तुत हुँदै नेपालीलाई आश्चर्यचकित बनाएको छ । अहिले मोदीले नेपाल भ्रमणमा रहँदा गरिएका भेटवार्ता, संसद्मा गरिएको सम्बोधन र भ्रमण अवधिमा सडकपेटीमा बसेर स्वागत गर्दै गरेका सर्वसाधारणप्रति देखाएको व्यवहारले नेपालीको मन–मस्तिष्कलाई फर्लक्क फर्काइदिएको छ, भारत र नरेन्द्र मोदीतर्फ । एक छिमेकी र त्यसमा पनि महाशक्ति राष्ट्रको रूपमा उदीयमान भारत अनि विश्वमा नै विशेष चर्चामा रहेको मोदीको उदार व्यवहार र विचारले नेपालीको मनमा खुसी छाउनु स्वाभाविक हो । नरेन्द्र मोदीको नेपाल भ्रमणपूर्वको अनुमान र भ्रमणपश्चात्को व्यवहारले नेपाली जनजनमा यू–टर्न गराइदियो । धन्यवाद छ नरेन्द्रमोदीजी, ठूलै देशका ठूलै नेताले खुला दिलले नेपाल र नेपालीप्रति देखाउनुभएको सम्मान र आदरभावप्रति ! सधैँजसो लाग्दथ्यो भारतले नेपालको सार्वभौमिकता र स्वतन्त्राप्रति धावा बोलिरहेको छ, तर जुन आशङ्का र भ्रमको कालोबादललाई आफ्ना वाणीमार्फत् पन्छाएर नेपाली राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकताको उच्च सम्मान भएको छ, अब कुनै सन्देह गरिराख्नुपर्ने स्थिति देखिँदैन ।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले केवल विगतका आशङ्का र भ्रमको निवारण मात्र गरेको छैन, यसले नेपालको विकास प्रयास, संविधान निर्माणलगायत अन्य सबै क्षेत्रको उच्चतम् सकारात्मक सम्भावनाको जग पनि बसालेको छ । यसरी छिमेकी देश भारतले खुलेर नेपालको आर्थिक विकास र समृद्धिमा जोड दिनु र आवश्यक परे त्यसको स्पष्ट प्रस्ताव आएमा नेपालको आर्थिक विकास प्रयासमा पूर्ण सहयोग गर्ने प्रतिबद्धताले नेपालीको मन थप प्रफुल्लित भएको छ । नेपालको संसद्लाई सम्बोधन गर्ने क्रममा प्रत्येक शब्द–शब्द र वाक्य–वाक्यमा निष्कपट र पवित्र भावले बोलिएको महसुस गरिन्थ्यो, सायद तिनै मार्मिक र दिशा निर्देश वाणीहरूले भारतप्रति लामो समयदेखि थुप्रिएको कुण्ठा र घृणालाई नेपालीको मन र मस्तिष्कबाट हटाउन धेरै हदसम्म सफल भएको निष्कर्ष निकाल्दा गलत ठहरिँदैन ।
नेपालको जनआन्दोलन ०६२/६३ र त्यसले स्थापित गरेका राजनीतिक मूल्य र मान्यताप्रति व्यक्त समर्थन पनि त्यत्तिकै महत्वपूर्ण उपलब्धि हुन्, जसले दुई देशबीचको सम्बन्ध अझ सबल र प्रगाढ बनाउन मद्दत गर्नेछ । त्यति मात्र होइन, नेपालको यथार्थ भूराजनीतिलाई नजिकबाट बुझेका मोदीले क्षेत्रीयता र जातीयताको मुद्दालाई आफ्नो राजनीतिक अभीष्ट बनाएका राजनीतिक दल र तिनका नेताको अपेक्षाविपरीत नेपालको सम्भावित र अस्थिरताको कारण बन्न सक्ने सोच बोकेकालाई तराई मात्र होइन हिमाल र पहाडको समेत समान विकास गर्नु उपयुक्त हुन्छ भनी दिएको जवाफ कम महत्वको छैन । एउटै भाषण र अभिव्यक्तिले पूरै नेपालको समग्र समस्यालाई अचुक उपाय सुझाएका छन् मोदीले । नेपालको शान्तिप्रक्रिया संविधान निर्माण र आर्थिक विकास तथा समृद्धिको लागि पहिलो सर्त हो राष्ट्रिय सहमति । राष्ट्रिय सहमतिबिना भारतले एकोहोरो सहयोग गर्छु मात्र भनेर हुँदैन, सहयोग प्राप्त गर्ने वातावरण पनि नेपालले बनाउन सक्नुपर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण नेपालका लागि राम्रो अवसरको रूपमा लिनु एक मात्र विकल्प हो । यदि यो अवसरको भरपूर उपयोग गर्न सकिएन भने वर्तमान राज्यसत्ताले ठूलै मूल्य चुकाउनुपर्नेछ । यसर्थ आमनेपाली जनतामा आएको सकारात्मक सोचको अधिकतम सदुपयोग गर्नु नै सर्वोत्तम बाटो हो । सम्भवतः देश विकासको सबैभन्दा अनुकूल अवसर यही नै हो । किनकि भारतले देखाएको सदाशयता र निस्वार्थ भावको अर्को शक्तिसम्पन्न देश चीनले पनि त्यत्तिकै गम्भीरतापूर्वक हेरिरहेको छ । यसले नेपालको विकास प्रयासमा उसबाट पनि यथेष्ट सहयोग हासिल हुनेमा सन्देह गरिरहनु नपर्ला । मोदी भ्रमणको यो पनि एउटा उपलब्धि हो । यस हिसाबले अहिलेको स्थिति नेपालीका लागि स्वर्णिम अवसर हो, जहाँ दुवै हातमा लड्डु हुनेछन् ।
एकातर्फ नेपालको राजनीति पनि विध्वंसात्मक दिशाबाट रचनात्मक बाटोउन्मुख हुँदै छ भने अर्कोतर्फ दुवै छिमेकी पनि समृद्ध नेपाल हेर्न उत्साहजनक रूपमा सचेततापूर्वक सहयोगी हातहरू बढाइराखेको अवस्थालाई अवसरको रूपमा लिनैपर्दछ । नेपालको आन्तरिक राजनीतिक स्थितिसमेत अनुकूल बन्दै गएको सन्दर्भमा सरकार गम्भीरताका साथ आर्थिक र राजनीतिक एजेन्डालाई अधिकतम लाभ हुने गरी ठोस योजनाका साथ प्रस्तुत हुन सक्नुपर्छ । मोदी अत्यन्त दूरदृष्टि राख्ने, स्वतन्त्र राष्ट्र नेपालको सार्वभौमिकतालाई उच्च सम्मान गर्ने र छिमेकी राष्ट्रको हितैषी बन्न उत्कट चाहना बोकेका दक्षिण एसियाकै महान् नेता हुन् भन्दा अब फरक परोइन । विलक्षण वाकपटुताका धनी नरेन्द्र मोदी नेपालका लागि भारत–नेपाल सम्बन्ध सुधारका एक महत्वपूर्ण कडी सावित हुनेछन् । मोदीको मिठो प्रस्तुतिले नेपालीको मन र मस्तिष्कमा गुम्सिएर रहेका कुण्ठा र घृणालाई पखाल्दै नयाँ आशा तथा भरोसाको रक्तसञ्चार गरिदिएको छ । अब कहीँ–कतैबाट पनि नेपालीको सुन्दर सपनामा ठेस नपुगोस् ।
अन्तमा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट अभिव्यक्त ‘शस्त्र होइन शास्त्र र युद्ध होइन बुद्धबाट नेपालले आफ्नो बाटो तय गर्नुपर्छ’ भन्ने सन्देशलाई मनन गर्न सके निश्चय पनि सुखद भविष्यको गन्तव्य भेट्टाउन कुनै कठिनाइ हुने छैन । जसरी सकारात्मक छाप छोडेर स्वदेश फर्किएका छन्, सोहीअनुरूपको व्यवहार प्रकट गरिए नेपाल र नेपालीको मन–मस्तिष्कमा हरदम रहने छन् मोदी ।
प्रतिक्रिया