सरकारले सङ्घीयता धरापमा पार्न लागेको नेता शेखरको आरोप

सरकारले सङ्घीयता धरापमा पार्न लागेको नेता शेखरको आरोप


नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सङ्घीयता धरापमा पार्ने काममा सरकार आफैँ लागेको आरोप लगाएका छन् । इलामको माई नगरपालिका–२ दानावारीमा स्थापना गरिएको बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता शेखरले भने, ‘प्रदेश सरकारलाई काम नदिनु तथा प्रधानमन्त्री आफैँले सबै अधिकार लिन खोज्नु सङ्घीयता धरापमा पार्ने कार्य हो ।’

सङ्घीयताअनुसार स्थानीय तथा प्रदेश सरकारलाई परिचालन गर्न नसक्नु र संविधानको मर्म एवम् भावनाअनुसार अधिकार बाँडफाँट नगर्नुले सरकार आफैँ सङ्घीयता विरुद्धमा रहेको देखाएको नेता कोइरालाले बताए । उनले अब काङ्ग्रेस सुध्रिने र जनताको पक्षमा काम गर्ने दावी पनि गरे ।

कार्यक्रममा काङ्ग्रेस माई नगरपालिका कार्यसमिति इलामले आयोजना गरेको कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता परियार, प्रदेश नं १ का मुख्य सचेतक केदार कार्की, पूर्वसांसद केशव थापा, नेका इलाम सभापति हिमालय कर्माचार्य, नेपाल शिक्षक सङ्घ प्रदेश नं १ का अध्यक्ष पूर्णप्रसाद गौतमलगायतले मन्तव्य राख्दै सरकारका राम्रा पक्षलाई समर्थन र नराम्रा कामलाई विरोध गर्न जनतालाई पनि आग्रह गरे ।